दुर्गममा किन बढ्दैछन् आँखाका बिरामी

दुर्गममा किन बढ्दैछन् आँखाका बिरामी

जाजरकोट : जिल्लामा उमेर ढल्केका मात्र होइन, कलिलै उमेरका व्यक्तिमा पनि आँखाको समस्या बढीरहेको पाइएको छ। महिनैपिच्छे हुने आँखा शिविरमा ३०० भन्दा बढीले आँखाको उपचार गराएको तथ्यांक छ।

सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा रहेका स्थानीयवासीमा आँखाको समस्या बढी रहेको पाइएको हो। नलगाड नगरपालिकाले तीन महिनायता गरेको आँखा शिविरमा महिनैपिच्छे ३०० भन्दा बढी आँखाका बिरामीले उपचार गराएका छन्। नगरपालिकाले विभिन्न संघ संस्थाको सहयोगमा आँखा शिविर गर्दै आएको छ।

नलगाड नगरपालिकाको दल्ली स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार दैनिक पाँचभन्दा बढी आँखाकै बिरामी उपचारका लागि आउने गरेका छन्। आँखासम्बन्धी शिविरमा समेत महिनैपिच्छे आँखाका जटिल खालका ३०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

सामुदायिक आँखा उपचार केन्द्र खलंगामा दैनिक २० जनाभन्दा बढी आँखाका बिरामी आउने गरेको उपचारमा संलग्न सुशील पुनले जानकारी दिए।गाउँघरमा खाना बनाउँदा होस् या अन्य कामका लागि होस् दाउराको प्रयोग बढी हुने गर्दछ। दाउराको प्रयोग बढेसँगै खुला चुलोबाट निस्किने धुवाँका कारण ग्रामीण क्षेत्रमा बढी आँखामा समस्या देखिने गरेको छ।

सुधारिएको चुलो ग्रामीण क्षेत्रमा नभएका कारण थप धुवाँको समस्या भएको छ। आँखाको हेरचाहमा ध्यान नदिने, धमिलो पानीमा सरसफाइ गर्ने, जथाभावी आँखा मिच्दा आँखामा समस्या आएको चिकित्सक बताउँछन्। उमेर ढल्केमा मानिसकै तुलनामा युवा अवस्थाका मानिसमा आँखाको समस्या देखिएको सामुदायिक आँखा उपचार केन्द्र खलंगाले बताएको छ।

जिल्लामा एकमात्र आँखा उपचार केन्द्र भएका कारण पनि बिरामीको संख्या बढी भएको हो। गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा आँखासम्बन्धी खासै जाँच नहुने, सदरमुकामसम्म आउने आँखाका बिरामी झन्झट मान्ने तथा आर्थिक अभावले समयमै उपचार नहुने गरेको पाइएको छ। गाउँघरमा हुने विभिन्न खालका शिविरमा मात्र कहिलेकाहीँ सामान्य खालको आँखाको उपचार हुने गर्दछ। जटिल खालका आँखाका बिरामी अस्पताल टाढा हुँदा रोग पालेर बस्नुपर्ने बाध्यता रहेको सुनाउँछन्।

बिहीबार नलगाड नगरपालिकाको दल्लीमा भएको आँखा शिविरमा मात्र ४०० भन्दा बढीले आँखाको जाँचका लागि बिरामी आएको आयोजक नलगाड नगरपालिकाले बताएको छ। आँखामा समस्या आएपछि स्वास्थ्य संस्थाभन्दा पनि धामीकहाँ गएर झारफुक गराउनको संख्या ठूलो रहेको छ।

आँखाको उपचार गराउन जाजरकोट सदरमुकाम र नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ। उपचारको अभावमा आँखाका बिरामी पीडा सहेर बस्नुपर्ने बाध्यता रहेको नलगाड नपा–११ का वडाध्यक्ष लालबहादुर खत्रीले बताए।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आँखा उपचार गर्नका लागि आवश्यक स्रोत साधनसमेत नहुँदा स्वास्थ्यकर्मी उपचार गर्न सकिरहेका छैनन्। वृद्धवृद्धालाई आँखाको समस्या भएपनि उपचार गर्न नजिक अस्पताल नहुँदा आँखाका बिरामीको संख्या वृद्धि भएको छ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.