जाडोमा गर्मीका फेसन
काठमाडौं : माघको जाडो चिर्दै दुई दर्जन मोडल आकर्षक र पारदर्शी पहिरनमा बिराला चालमा हिँडिरहेका छन् । नयाँ डिजाइनका फेसन प्रोत्साहन गर्ने उद्देश्यले दरबार मार्गको आई क्लबले आयोजना गरेको ‘फेसन मेनियाँ’ को १८औं शृंखलामा विभिन्न सिक्वेन्सका पहिरन प्रदर्शन गरियो । यस पटक काजल क्रियसनका डिजाइनर काजल शर्माले तयार गरेका विभिन्न शैलीका डिजाइन विभिन्न मोडलले प्रस्तुत गरे ।
काजलले आउँदो गर्मीलाई लक्षित गरेर तयार गरेका इभनिङ गाउनको प्रस्तुतिसँगै फेसन सो सुरु भएको थियो । यसपछि उनकै डिजाइनमा तयार गरेको जिपर सारी र जिपर चोलोमा सजिएर मोडलहरू अर्को सिक्वेन्समा प्रस्तुत भए । काजलले तयार गरेका विभिन्न डिजाइनका लेहँगा पनि मोडलहरूले मञ्चमा प्रस्तुत गरे ।
जाडोलक्षित ओभरकोट, विन्टर गाउन गाउन, गर्मीलाई लक्षित गरिएको वान पिसजस्ता पहिरन पनि फेसन सोमा प्रस्तुत गरियो । बेटल ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रमको कारियोग्राफी धिरत तण्डुकारले गरेका थिए ।
यो फेसन सोमा एन्जिला भेटवाल, पुनम भण्डारी, प्रसिमा बुढाथोकी, विशाखा पाण्डे, सन्ध्या कोइराला, प्रेमा भुजेल, सिम्रन शाक्य, वर्षा श्रेष्ठ, मीरा लामा, सोफी कार्की, पूजा गिरी, ममता बस्नेत, प्रवीणा थापा, श्रद्धा सुवेदी, रोशनी ऐरे, रुक्सना श्रेष्ठ, सुष्मा भट्टराईलगायतका मोडल उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस !