जीर्ण तटबन्धको पुनःनिर्माण सुरु
महेन्द्रनगर : दुई दशकअघि निर्माण गरिएको तटबन्ध जीर्ण बन्दै गएपछि त्यसको पुनः निर्माण सुरु गरिएको छ । महाकाली नदीअन्तर्गत महाकाली नगरपालिका (दोधारा–चाँदनी) बस्ती जोगाउन दुई दशकअघि निर्माण गरिएको तटबन्ध जीर्ण बनेपछि गुरुयोजना बनाएर त्यसको पुनः निर्माण सुरु गरिएको हो । जनताको तटबन्ध कार्यक्रमले साविकको दोधारा–चाँदनी क्षेत्रमा २ दशकअघि बनेको तटबन्धको पुनः निर्माण सुरु गरेको हो ।
जापानी सहयोग नियोग जाइकाले महाकालीपारिका साविक गाविस दोधारा–चाँदनीको बस्ती जोगाउन करिब २० वर्षअघि तटबन्ध निर्माण गरेको थियो । जाइकाले निर्माण गरेको तटबन्ध अहिले आएर ठाउँ–ठाउँमा जीर्ण बनिरहेको छ ।
‘यो तटबन्ध धेरै वर्ष भइसक्यो बनेको,’ जनताको तटबन्ध कार्यक्रमका प्रमुख प्रचण्डदेव विष्टले भने, ‘बर्सातमा आउने बाढीले ठाउँ–ठाउँमा भत्काएर क्षति गर्दै जान थालेपछि यसको पुनःनिर्माण सुरु गरेका हौं ।’ उनका अनुसार करिब २० किलोमिटर लामो यो तटबन्धको पुनः निर्माणका लागि जनताको तटबन्ध कार्यक्रमले गुरुयोजना बनाएर काम अघि बढाएको हो ।
यो तटबन्धको पुनःनिर्माण सक्ने जनताको तटबन्ध कार्यक्रमले १२ बर्से गुरुयोजना बनाएर काम अघि बढाएको हो । ‘एकै पटक यो तटबन्ध बनाउन बजेटले भ्याउने अवस्था रहदैन,’ उनले भने, ‘कार्यक्रमले अन्यत्रका नदी नियन्त्रणसमेत गर्नुपर्ने भएकाले यसको पुनःनिर्माणका लागि १२ बर्से गुरुयोजना बनाएर काम थालेका हौं ।’
गतवर्ष महाकाली नदीमा आएको बाढीले साविकको दोधारा–चाँदनी झोलुंगे पुलको उत्तर र दक्षिणतर्फको भागमा बढी क्षति पु¥याएपछि उक्त तटबन्धको पुनःनिर्माण सुरु भएको हो । ‘बढी जोखिम भएको ठाउँमा पहिले पुनः निर्माण गरिरहेका छौं,’ कार्यालय प्रमुख विष्टले भने । गत वर्ष आएको बाढीले तटबन्धको अधिकांश स्थानमा स्परहरू भत्काएको छ । अहिले तीनै स्थानमा लन्चिङ गरेर मर्मतको काम भइरहेको छ । अहिले पहिलो चरणअन्तर्गत बढी क्षति भएको झोलुंगे पुलदेखि उत्तर र दक्षिणी क्षेत्रमा गरी २ हजार १ सय ५० मिटर तटबन्ध मर्मतको काम भइरहेको छ । २६ करोडको लागतमा उक्त तटबन्धमा पहिलो चरणमा काम सुरु भएको हो । कुमार÷राजेन्द्र जेभीको ठेक्कामा जोशी निर्माण सेवाले तटबन्धको काम गरिरहेको छ ।
‘जनताको तटबन्ध’ कार्यक्रमले गुरुयोजनामा विभिन्न प्याकेजमा पुनःनिर्माण सुरु गरे पनि त्यसबाट महाकाली नगरपालिका सुरक्षित हुन नसक्ने जनप्रतिनिधिको बुझाइ छ । ‘यो धेरै पुरानो भइसकेको तटबन्ध हो, ठूलो बाढी आए जतिबेला पनि भत्किन सक्छ,’ महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनारले भने, ‘यसका लागि एकैपटक पुनः निर्माण थालिनुपर्छ’ । उनले जीर्ण अवस्थामा तटबन्ध रहेकाले बाढीको जोखिम धेरै रहेको बताए ।
महाकाली नगरपालिकामै घर भएका प्रदेशसभा सदस्य मानबहादुर सुनारले टुक्रे हिसाबमा तटबन्धको पुनःनिर्माण नभई एकैपटक यसको पुनःनिर्माणका लागि संघीय सरकारलाई आग्रह गरिने बताए । ‘यो तटबन्ध तत्काल मर्मत भएन भने साविकको दोधारा–चाँदनी बस्ती नै उठीबास हुन्छ,’ उनले भने, ‘त्यसका लागि केन्द्र सरकारलाई यसको मर्मतका लागि पहल गरिनेछ ।’
प्रतिक्रिया दिनुहोस !