३३ किलो सुन तस्करी: पूर्वडीआईजी सहित २८ अभियुक्त जेल चलान, दुई रिहा
विराटनगर : ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले मंगलबार आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पक्राउ परेका ३० मध्ये २८ जनालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार प्रतिवादी टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ, दोराम खत्री, हेमन्त गौतम, कपिलराज पुरी, लालबहादुर मगर, सम्बीरप्रसाद तोलाङ्गे, राजु महर्जन, राजन थापा, तुलाराम थारु, अमरमान डंगोललाई थुनामा राख्न अदालतले आदेश दिएको हो।
त्यस्तै प्रहरी अधिकारी पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी संजयबहादुर राउत, प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई पनि पुर्पक्षमा पठाइएको छ। ‘प्रतिवादीलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोवस्ती ११८ को देहाय २ का आधारमा नियमअनुसारको सिदा खर्च खान पाउने गरी अदालती बन्दोवस्ती १२१ नम्बर बमोजिमको थुनुवा पुर्जी दिइ पुर्पक्षका लागि थुनामा राख्न कारागार शाखा मोरङमा पठाइदिनु,’ आदेशमा उल्लेख छ।
प्रतिवादी प्रहरी जवान विष्णुबहादुर खड्कालाई भने अदालतले १५ हजार रुपैयाँ धरौटी माग गरेको छ। अन्तराष्ट्रिय विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीको ड्राइभर भइ काम गर्दै आएकोमा आफूखुसी र मनसायका साथ तस्करी नगरेको तथा खत्रीकै निर्देशनमा सो कार्य गरेको देखिँदा अपराध प्रमाणित नभएका कारण निज खड्कालाई थुनामा राख्नु पर्ने कसुर तत्काल प्राप्त प्रमाणका आधारमा नदेखिएको आदेशमा उल्लेख छ।
अर्का प्रतिवादी प्रहरी हवल्दार अम्बरबहादुर थापामगर तारेखमा छुटेका छन्। उनी पनि एसएसपी खत्रीकै बडीगार्डका रुपमा विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सहयोग गरेको कुनै पनि मिसिल संलग्न प्रमाणबाट समर्थन भएको नदेखिएकाले उनी छुटेका छन्। साथै अदालतले फरार रहेका प्रतिवादीका हकमा कानुन बमोजिमको म्याद जारी गर्न पनि आदेश दिएको छ।
सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त प्रतिवादी गोरे भनिने चूडामणि उप्रेतीको अपराधिक संगठनको सदस्य भइ कामको बाँडफाँड समेत गरी सुन तस्करी गर्ने क्रममा २०७४ साल माघ ९ गते दुवईबाट ल्याएको सुन बीचबाटोमै हराएपछि खोजी गर्ने नाममा संगठन भित्रका सदस्यलाई अपहरण तथा शरीर बन्धक लिने, विभिन्न ठाउँमा लगेर यातना दिने दिलाउने क्रममा सनम शाक्यको मृत्यु भएको आदेशमा उल्लेख छ। शाक्यको शव दबाउनका लागि विभिन्न प्रयन्त गर्ने गराउने समेतका कार्यमा थुनामा पठाइएका प्रतिवादीको संलग्नता रहेको आदेशमा उल्लेख छ।
सुन तस्करी र सनम हत्या काण्डमा ६३ जनालाई अभियुक्त बनाएर जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत वैशाख १९ गते मुद्दा दर्ता गरिएको थियो।
प्रतिवादीकातर्फबाट वकालतनामा दर्ता गराएका ६६ मध्ये ५६ जना कानुन व्यवसायीले बहस गरेका थिए। अघिल्लो बिहीबारदेखि थुनछेक बहस सुरु भएको थियो। बिहीबार र शुक्रबार सरकारी वकिलले बहस गरे भने अघिल्लो आइतबारदेखि प्रतिरक्षामा कानुन व्यवसायीले बहस गरेका थिए। प्रतिवादीका पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएका कारण थुनछेक बहस सकिन १० दिन समय लाग्यो।
दुवईबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएको भन्दै खोजी गर्ने क्रममा गोरे समूहले मोरङको उर्लाबारी १ स्थित सोल्टी खोला किनारको जंगलमा करेन्ट लगाएर यातना दिँदा उर्लाबारी ७ का शाक्यको गत फागुन १८ गते मृत्यु भएको थियो। शाक्यको शव बोकेको स्कोरपिओसहित चालक मल्ल, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्ले फागुन १९ गते विराटनगर ३ बाट पक्राउ परेका थिए। त्यही शव बरामद गर्न तथा घटनामा संलग्नलाई पक्राउ गर्नका लागि निर्देशन दिने र पूर्व आउने अपराध अनुसन्धान महाशाखाका प्रहरी अधिकारीलाई पनि मुद्दा अभियुक्त बनाइएको हो।
यो मुद्दाका गोरेसहित ३१ अभियुक्त पक्राउ परे पनि ३२ जना भने अझै फरार छन्। १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा माग दाबी सहितको मुद्दा दर्ता गरिएको थियो। घटना छानविनका लागि बनाइएको गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेत्रृत्वको छानबिन समितिले लगभग ३८ क्विन्टल सुन सन् २०१५ जुलाई यता तस्करी गरेर नेपाल ल्याइएको पत्ता लगाएको थियो। त्यति सुनको बजार मूल्य अनुसार बिगो माग दाबी गरिएको हो।
प्रतिक्रिया दिनुहोस !