थपिए दुई जाति

थपिए दुई जाति

गोरखा : गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन्। चुमवासीले गणकसँग जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका छन्।

लामा थर लेख्ने गरेका उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत गरिएको थियो। संस्थागत रूपमा र युवाहरूको सामूहिक पहलमा जनगणनामै वास्तविक जात र भाषा लेखाउन अभियान सञ्चालन गरिएको किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए। ‘नुब्री उपत्यकावासीले जाति र भाषामा नुब्री लेख्न र चुम उपत्यकावासीले चुम्बा लेख्न हामीले घरदैलो अभियान सञ्चालन गरी सचेत गरायौँ’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत पनि प्रचार–प्रसार गरिरहेका छौं। टोल–टोलका अगुवालाई टेलिफोन गरी सचेत गराइरहेका छौं।’ यसपटकको जनगणनामा पहिचान स्थापित हुने विश्वास उनले व्यक्त गरे।

आफ्नो पहिचान स्थापित गराउन स्थानीय युवा नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामाले बताए। ‘तल्लो भेगका गणकले हाम्रो मर्म र भावनाअनुसार काम नगर्ने अनुमान गरी यसपटक प्रत्येक वडामा स्थानीय सचेत युवा गणकमा खटिएका छौं’, उनले भने, ‘गाउँका अशिक्षित, निमुखा व्यक्तिले वास्तविक तथ्यांक टिपाउन सकेनन् भने पनि स्थानीयस्तरका गणकले मिलाएर टिप्नेछन्।’ चुम्बा र नुब्रीले ‘कोड’ भने नपाएकाले तथ्यांक विभागसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेको उनले बताए। ‘हामीले तथ्यांक विभागसँग पनि समन्वय गरेका छौं। जिल्ला जनगणना कार्यालयसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेका छौं’, उनले भने, ‘त्यसरी नै पठाएपछि विभागले नै कोड नम्बर राखिदिने भनेको छ।’ 

यूएईको दुबईमा सम्मान कार्यक्रम छाडेर जनगणनामा खटिएको वाङचुक राप्तेन लामाले बताए। ‘अहिले निजी लाभ लिन लाग्दा आफ्नो समुदाय १० वर्षपछि पर्छ’, उनले भने, ‘त्यसैले मैले दुबईमा हुने सम्मान कार्यक्रममा नगई गणक बनेर खटिएको छु।’

जिल्ला जनगणना कार्यालय गोरखाका प्रमुख महेन्द्रप्रसाद ढुंगानाले चुमनुब्री गाउँपालिकाका बासिन्दाको जनगणना गर्दा कोड नम्बर उल्लेख नगरी पठाउन निर्देशन दिइएको बताए। ‘उहाँहरू छुट्टै खालको लामा हो। तर, २०६८ सालको जनगणनामा भूलबश तामाङमा सूचीकृत भएको रहेछ’, ढुंगानाले भने, ‘यसपटक चुम्बा र नुब्री जातिलाई कोड नम्बर दिन नसके पनि जनगणनाको कोडिङ, डिकोडिङ गरी नतिजा दिने बेला विभागले नै थपिदिने व्यवस्था भएको छ।’

यस्तै, धार्चेका गुरुङ र घले समुदायले यसपटक धर्ममा बोन लेखाएका छन्। यसअघि बौद्ध, हिन्दू र क्रिश्चियन सूचीकरण गरेका थिए। आफूहरू बोन्पो भएकाले अन्य धर्म उल्लेख नगरी बोन नै उल्लेख गर्न गाउँघरमा सघन अभियान सञ्चालन गरिएको टेकबहादुर गुरुङले बताए। यसअघि घले थर लेखेका समुदायले यसपटक जातिमा पनि घले र भाषा पनि घले नै उल्लेख गराएका छन्। 

गोरखामा जनगणनाका लागि ४ सय ४ जना गणक खटिएका छन्। गोरखा र पालुङटार नगरपालिकामा क्रमश: ८२ र ५९, भीमसेनथापामा ३०, आरुघाटमा ३६, धार्चेमा २४, चुमनुब्रीमा १६, अजिरकोटमा २२ जना छन्। बारपाक सुलिकोटमा ३४, सिरानचोकमा ३१, सहिद लखनमा ३७ र गण्डकी गाउँपालिकामा ३१ जना गणक खटिएको ढुङ्गानाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.