सीके राउतसँग नागरिक अपेक्षा

सीके राउतसँग नागरिक अपेक्षा

राजनीति एउटा खेतीयोग्य जमिन हो। जसमा सीके राउतका विचार, सिद्घान्त, दर्शनको खेतीबाली जनताले चाहेबमोजिम हुनु आवश्यक छ।


नेपालको राजनीतिक वृत्तमा सीके राउत (चन्द्रकान्त राउत) परिचित नाम हो। उनी बेलाबेलामा चर्चामा आउने गरेका छन्। हालै उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहलाई दलबलसहित अपमानजनक किसिमले करिब एक घण्टा बजार परिक्रमा गराए। त्यसपछि उनको कार्यशैलीमा कुरा हुन थाले। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङमा स्नातक हँुदै उनले जापानबाट स्नातकोत्तर र बेलायतको चर्चित विश्वविद्यालय अक्सफोर्डबाट कम्प्युटर विज्ञानमा पीएचडी उपाधि प्राप्त गरेका छन्। अमेरिकामा वैज्ञानिकको काम छोडी नेपालमा राजनीतिक क्रियाकलापका अनेक कार्य गरी चर्चामा आउनुलाई सर्वसाधारणले पनि अशोभनीय ठानेका छन्।

सुशासनको प्रतीक्षामा बसेका नेपाली नागरिकका लागि योभन्दा दुःखद् कुरा अरू केही हुने छैन। उनले बुलन्द गरेका आवाजले मधेस मात्र होइन, सम्पूर्ण नेपालमा असहज अवस्था उत्पन्न हुने गरेको छ। नेपालमा केही नेता र कार्यकर्ता पढेलेखेका छन्। पद्धति र प्रणालीमा ती नेताबाट राजनीतिक विकासक्रम हुनेमा सर्वसाधारण आशावादी छन्। कारणवश ती आशामा कुठाराघात भयो भने ? विषय सोचनीय छ। प्राविधिक विषयको विद्यार्थी भइकन पनि उनमा आध्यात्मिक विचार छ होला। उनका विचार र सिद्धान्तलाई जुन रूपले बुझेका थियौं, केही महसुस गर्न पाएका छैनौं। गान्धीवादबाट समेत ओतप्रोत भएको प्रमाण उनका लेख, आलेख, पुस्तकबाट ज्ञात थियौं। अहिंसा, गान्धीत्व र गान्धीवाद छ भन्ने विश्वास भ्रममा परिणत भयो।

स्वतन्त्र मधेसको नाममा राउतले सञ्चालन गरेका गतिविधिलाई सरकारले राष्ट्रियताविरुद्ध भन्दै जेलसमेत हालेको थियो। मातृभूमिलाई लाञ्छनासमेत लगाएपछि राजनीति गर्ने व्यक्ति भनेर कसरी बुझ्ने ? यी गतिविधिबाट केवल शक्तिमा रहन चाहेको स्पष्ट हुन्छ। मधेसको पक्षमा जनमत एकत्रित गर्ने भन्ने बुझाउँछ। मधेसमा लोकतान्त्रिक मूल्यमान्यता जस्ता सुशासनका क्रियाकलाप अगाडि बढाउने विषयमा उनको नेतृत्व आवश्यकता देखिएको थियो। जुन यी र यस्ता खाले घटना गराउँदै जाने हो भने राउत र राजनीतिक संरक्षणमा हुर्केका दलका गलत सोच भएका व्यक्तिमा के फरक देखियो त ? अनियमितता र भ्रष्टाचारको न्यूनीकरण हुँदै सुशासनको पालना नै हरेक राजनीतिक दलको मुख्य एजेन्डा हुन्। सम्पूर्ण नेपालीको एउटै मात्र चाहना पनि यही हो।

अहिलेसम्म जनताले चुनाव, भाषण, प्रतिवेदन र समाचारमा सुन्नबाहेक पाएका छैनन्। राउतमा जनताको विश्वास छ, उनको व्यक्तित्वमा जनताको भरोसा छ। उनको योग्यता, सीप र दक्षतामा पूर्ण भरोसा पनि छ। जुन मधेसमा देखिएको जनमतले नै छर्लंग पारेको छ। जसका कारण उनी शक्तिको केन्द्रमा छन्। उनको दलका कार्यकर्ताले सरकारी कार्यालयका एक निहत्था र नीति, विधि अनि पद्धतिले बाँधेका निरीह कर्मचारीलाई दलबलसहित नांगेझार पार्नु कति जायज हो ? अझ बजार परिक्रमासमेत गराउनु सुहाउने कार्य हो ? प्रश्न उब्जिएका छन्।
अनियमितता, भ्रष्टाचार र अपारदर्शी काम भएका हुन सक्छन्। यद्यपि दलका कार्यकर्ताले गरेको क्रियाकलाप चाहिँ शतप्रतिशत गलत छ। नियमन र कारबाही गर्ने अनेक विधि पद्धति निकाय र कार्यालय छन्। दूधको दूध पानीको पानी गर्दिएको भए उत्तम हुने थियो। राजनीति एउटा खेतीयोग्य जमिन हो। जसमा राउतका विचार, सिद्धान्त, दर्शनको खेतीबाली जनताले चाहेबमोजिम हुनु आवश्यक छ। उनले गरेका उत्पादन फाइदाजनक र पोषणयुक्त बाली भए राम्रो। त्यसको बिउ र बालीको खोजी हुने अवस्था भयो भने त्यो सराह्रनीय हुनेछ। नत्र तपाईंको न बीउ रहनेछ न त बाली नै।

विद्यमान राजनीतिक व्यवस्था अझ भनौं तराईमा देखिएका राजनीतिक दल र बेलाबेलामा फुट्ने दलबाट वाक्क दिक्क भएका छन् मधेसी जनता। दलले त आफ्नो सिद्धान्त, दर्शन र आदर्शले नैतिकरूपमा आफूलाई अब्बल साबित गर्दै जानुपर्छ। राउतले दलबलसहित शक्ति प्रदर्शन गरेर निरीह कर्मचारीमा आफ्नो सिद्धान्तभन्दा बल लाद्नु कति जायज ? यसो हुँदा दललाई जनमतले अल्पमतमा पार्नेछन्, यो यथार्थ उनले बुझेकै होलान्। नभए बुझ्नुपर्छ। समय परिवर्तन भइसकेको छ, जुन राउतले भोगेभन्दा भिन्न छ। जान्दाजान्दै पनि भक्त वा पार्टीमा लागेका अवसरवादी व्यक्तिहरूले उनलाई पनि त्यस्तै बनाउन सक्छन्। चनाखो बन्नुपर्ने आँखा नेतृत्वकर्ताका रूपमा राउतसँग हुनुपर्छ। शक्तिको प्रयोग अनावश्यक स्थानमा वा दुरुपयोग गर्ने जोकोहीलाई पनि त्यसको प्रतिफल पक्कै राम्रो आउने छैन।

सीके राउतलाई जनताले कसरी बुझेका छन् ? अब कसरी बुझ्नेछन् ? भन्ने कुरा तपाईंका क्रियाकलापमा निर्भर हुन्छन्। त्यसैले तपाईंले यी र यस्ता क्रियाकलाप निर्विकल्प बन्द गर्नुपर्छ। विश्व इतिहासमा नामुद विश्वविद्यालयमा अध्ययन गरेको, आध्यात्मिक र धार्मिक सिद्धान्तले ओतप्रोत विद्वत् तपाईंको व्यक्तित्वबाट यस्ता काम आगामी दिनमा हुने छैनन्। दोहोरियो भने जनताले हरेक काममा असफल साबित गराउने छन्। असक्षम नेतृत्वको प्रतिफल युगौंसम्म हुने गर्छ। जे र जसले तपाईंजस्तो विद्वान्लाई राजनीतिमा होमिन बाध्य बनायो, त्यसले सायद गन्तव्य पनि देखाएकै होला। तपार्इंको सिद्धान्त अनियमितता, भ्रष्टाचार र कुशासनविरुद्ध होस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.