नेपाल आइडल सिजन २ आजदेखि
काठमाडौँः नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल नेपाल आइडलको दोस्रो संस्करण बिहीबारबाट रातिबाट सुरु हुँदैछ । इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु हुन लागेको हो ।
नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकहरुमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । नेपाल आइडल एपीवान एचडीबाट बिहीबार र शुक्रबार राति साढे आठ बजेबाट प्रसारण हुँदैछ ।
यो सिजनमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोतामातर्फत् रिमा विश्वकर्मासँग नयाँ अनुहार देख्न पाइने भएको छ ।
रिमासँग देखिन लागेका नयाँ अनुहार टेलिभिजन कार्यक्रम निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्रप्त गरेका थिए ।
बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलहरुले देश विदेशका विभिन्न मञ्चहरुमा प्रस्तुती दिँदै ख्याती कमाएका छन् ।
उनीहरुले गाएका गीतका म्युजिक भिडियो सार्वजनिक भएको केही दिनमै युट्युबको ट्रेन्डिङमा पर्ने गरेका छन् । पछिल्लो पटक निशानको 'ओई भुन्टी' म्युजिक भिडियो युट्युबमा एक सातासम्म ट्रेन्डिङको नम्बर वानमा पुगेको थियो ।
‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने मूल नाराकासाथ अडिसन राउन्डका कार्यक्रम प्रसारण गर्दै सुरु हुने नेपाल आइडल सिजन टु का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर-भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन् ।
यसअघि एपीवान एचडी टेलिभिजिनले नृत्यसम्बन्धी अन्तर्राष्ट्रिय रियालिटी शो बुगीवुगी सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो कार्यक्रममा पनि नृत्यतर्फ नेपालको सबैभन्दा सफल कार्यक्रम भइसकेको छ । बुगीवुगीको पहिलो सिजनमा कविता नेपालीले विजेता हुँदै २५ लाख रुपैयाँ जितेकी छिन् ।
प्रतिक्रिया दिनुहोस !