वनमा बीभत्स हत्या

वनमा बीभत्स हत्या

शिवराज भट्ट/धनगढी, परमानन्द पाण्डे/टीकापुर  

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो। हामी भारतको बैंग्लोर जाँदै छौं।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने व्यक्तिले हत्या गरेको खुलाएका थिए। अडियोमा उनले भनेका छन्, ‘एक–दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ। घाँटी अलग छ। शरीर अलग छ।’ 

त्यत्तिकैमा अर्का व्यक्तिले सोधेका छन्, ‘कसको ?’ 

जवाफमा उनले भनेका छन्, ‘जसको भए नि अलग छ।’ 

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्ति पनि त्यहीँ भएको आवाज सुनिन्छ। एक जनाले आफू हत्यापछि बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि प्रस्ट सुनिन्छ।

म्यासेज सुन्नासाथ आत्तिएकी धर्मादेवी मोबाइल बोकेर अमरावती प्रहरी चौकी पुगिन्। प्रहरीले अडियो बजाएर सुनिनसक्दै अमरावती सामुदायिक वनका वनरक्षकलगायत व्यक्ति प्रहरी चौकी पुगे। वनमा घाँटी छिनाएको शव भेटेको खबर उनीहरूले प्रहरीलाई गरे। 

अडियो र वनरक्षकको कुरा सुन्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्यो। त्यहाँ अर्जुनको शव भेटियो। म्यासेज र वनरक्षकको कुरा मेल खाएको थियो। 

त्यतिञ्जेल शनिबार साँझ परिसकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाको पुष्टि गरे। ‘घटना विवरणअनुसार सामान्य मजदुरी गर्ने अर्जुन शुक्रबार साँझ साथीले बोलाए भनेर घरबाट निस्किएका रहेछन्’, प्रवक्ता जोशीले भने, ‘उनको नै हत्या भएको रहेछ।’

अर्जुनको घाँटीमा धारिलो हतियार प्रहार गरी टाउको छिनाइएको थियो। उनकै कमिज खोलेर घाँटी बाँधिएको थियो। उनकै खल्तीमा रहेको रुमालले हात पछाडि फर्काएर बाँधिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।  ‘हत्या गर्नुअघि नै हात बाधिएको होइन जस्तो छ। हत्यापछि त्यस्तो देखाउन बाँधिएको छ’, प्रवक्ता जोशीले भने, ‘टाउको खुट्टानजिकै राखिएको छ। त्यहाँ चुरोटका ठुटाहरू फेला परेका छन्।’ 

फोन कल अडियोमा बोल्ने व्यक्ति नसा सेवन गरेजस्तै बोली रहेको सुनिने जोशीले बताए। प्रहरीले उक्त अडियोका विषयमा पनि अनुसन्धान थालेको छ। 

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अडियो मृतककी श्रीमतीबाट बरामद भएको र यस विषयमा पनि छानबिन गरिरहेको जानकारी दिए। ‘यो अनुसन्धानकै क्रममा रहेको विषय हो। यसबारे विस्तृत अनुसन्धानपछि जानकारी दिनेछौं’, एसपी अधिकारीले भने। 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानमा असर पर्ने भन्दै परेका व्यक्तिको परिचय खुलाइएको छैन। प्रहरीले मृतककी श्रीमतीको म्यासेन्जरमा फोनको अडियो पठाउने व्यक्ति पनि पहिचान गरिसकेको तर पक्राउ नपरेको जनाएको छ। 

‘एक जनालाई पक्राउ गरेका छौं। फोन अडियो सेभ गर्ने र पठाउनेहरूको पनि पहिचान भइसकेको छ’, अधिकारीले भने, ‘अनुसन्धानपछि सबै सार्वजनिक हुन्छ।’ 

अर्जुनको हत्यापछि स्थानीय त्रसित छन्। कैलालीमा यो नै हत्याको पहिलो घटना भने होइन। कैलालीको टीकापुर नगरपालिका–१ सिद्धार्थ होटलनजिकै गत कात्तिक २३ गते लम्की चुहा नगरपालिका–१ का २१ वर्षका भूपेन्द्र बडुवालको खुकुरी प्रकार गरी हत्या भएको थियो। आफ्नो हत्या गर्न आएको चाल पाएपछि बडुवाल होटलनजिकै आफन्तको घरमा शरण लिन गएका थिए। तर, आफन्तको आँगनमै उनको हत्या भएको हो।

प्रहरीले हत्यामा संलग्न रहेको भन्दै १२ जनालाई पक्राउ गर्‍यो। तीमध्येका तीन जना धरौटीमा छुटे। ९ जना पुर्पक्षका लागि थुनामा छन्। संगठित अपराधअन्तर्गत दुईवटा समूहको लडाइँका बीचमा परेर भुपेन्द्रको हत्या भएको प्रहरीको निष्कर्ष छ। २१ जनाविरुद्ध मुद्दा दर्ता गरे पनि हत्याका योजनाकारसहित नौ अभियुक्त फरार छन्। 

उक्त घटना सेलाउन नपाउँदै अर्जुनको हत्या भएपछि प्रहरीलाई चुनौती थपिएको छ। दुई महिनाअघि चक्कु प्रहारबाट टीकापुर नगरपालिका–८ का एक युवकको ज्यान गएको थियो। प्रहरीले शान्ति–सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीय आक्रोशित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.