चार लेन सडक निर्माण सुस्त

चार लेन सडक निर्माण सुस्त

सुर्खेत : वीरेन्द्रनगरमा निर्माणाधीन चार लेन सडकको काममा गतिरोध उत्पन्न भएको छ। लामो प्रतीक्षापछि वीरेन्द्रगरको धुलियाबिटदेखि बांगेसिमलसम्मको सडक चार लेन बनाउन थालिएको थियो। तर, सडक निर्माणमा देखिएका अवरोधका चाङले तोकिएको मितिमा यो सडक हस्तान्तरण हुने सम्भावना टर्दै गएको हो।

कर्णालीको राजधानी वीरेन्द्रगरको समृद्धिको मुख्य आधार मानिएको यो सडक विभिन्न अवरोधका कारण निर्माणको गति सुस्त बनेको छ। रत्नराजमार्गअन्तर्गत धुलियाबिटदेखि बांगेसिमलसम्म जोड्ने ६ दशमलव २५ किलोमिटर सडकलाई चार लेनको बनाउन थालिएको छ। जसअन्तर्गत सडकको पहिलो खण्डको काम सम्पन्न भइसकेको छ। पहिलो चरणमा धुलियाबिटदेखि कर्मचारी सञ्चय कोषसम्मको सडक निर्माणको जिम्मेवारी आशिष निर्माण कम्पनीले लिएको थियो। तर, यही सडकको दोस्रो खण्डको काममा गतिरोध उत्पन्न भएको छ भने अन्तिम खण्डको काम पनि बजेट अभावले अलपत्र परेको छ।

चार लेन सडकको दोस्रो खण्डअन्तर्गत कर्मचारी सञ्चयकोषदेखि मूलपानी चोकसम्मको तीन किलोमिटर चार सय मिटर सडक निर्माणको जिम्मा स्वच्छन्द÷श्याम एन्ड शंकर जेभीले लिएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग दुई वर्षअघि भएको सम्झौताअनुसार यो खण्डको निर्माण यही आर्थिक वर्षको असार २८ गते सक्नुपर्नेछ। तर, हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मिति असार २८ गतेसम्म निर्माण सम्पन्न हुने छाँट देखिँदैन। निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलेसमेत सम्झौताअनुसार सडक हस्तान्तरण गर्न नसक्ने जनाएको छ। निर्माण कम्पनीले सडकमा नाला निर्माण र ढल निकासमा स्थानीयले अवरोध गरेको र सडकमा रहेका बिजुलीका पोल र खानेपानीका पाइप नहटाइँदा सडक निर्माणमै अवरोध भएको बताएको हो।

दोस्रो खण्डको काममा अवरोध भइरहँदा अन्तिम खण्डअन्तर्गत मूलपानी चौकदेखि बांगेसिमलसम्म एक हजार आठ सय मिटर सडकमा माटो हाल्ने काम गरिएको छ। अन्तिम खण्डको काम पनि आगामी वर्षको असार मसान्तमा सक्नुपर्ने हुन्छ। तर, अपेक्षाअनुसार काम नहुँदा उक्त खण्डको काम पनि समयमै सम्पन्न हुन नसक्ने आशंका बढ्दै गएको हो। वीरेन्द्रनगरको प्रतिष्ठाका रूपमा हेरिएको यो सडकको कामले गति नलिँदा स्थानीय निरास बनेका छन्। अर्कोतर्फ समयमै काम सम्पन्न नहुँदा सडक हिलाम्य हुने समस्याले सर्वसाधारण हैरान बनेका छन्। विभिन्न अवरोध र बहानामा सडकको कामले गति नलिँदा वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको मंगलगढी चोक क्षेत्र कुरुप देखिएको छ।

ढल निकास नहुँदा काम रोकियो

यो सडक खण्डअन्तर्गत मंगलगढी चोकदेखि सात सय मिटर पश्चिमसम्मको भागमा अहिले काम रोकिएको छ। यो खण्डमा ढल निकास हुने स्थान नभएका कारण स्थानीयले नाला बनाउन दिएका छैनन्। स्थानीयको यही अवरोध देखाउँदै ठेकेदार कम्पनीले अहिले काम रोकेको छ। वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रबाट बग्ने पानीलाई बगाउने निकास नहुँदा नाला निर्माण गर्न नसकिएको निर्माण कम्पनी स्वच्छन्द–श्याम एन्ड शंकर जेभीले जनाएको छ।

‘बसपार्कदेखि यरी चोकसम्मको सात सय मिटरमा पानी निकास गर्ने ठाउँ छैन’, निर्माण कम्पनीका पदमबहादुर खड्काले भने, ‘निकास नहुँदा नाला बनाउन सकिएन, सडक डिभिजन र नगरपालिकालाई निकासको बाटो खुलाउन अनुरोध गरेको धेरै भइसक्यो। अब निकाश नभएसम्म बाँकी काम अगाडी बढाउन सक्दैनौं, अब तोकिएको मितिमा सडक हस्तान्तरण गर्न सक्ने अवस्था छैन।’ दोस्रो खण्डको निर्माणका लागि १४ करोड ४० लाख ४१ हजारमा सम्झौता भएको थियो।

बजेट अभावले अन्तिम खण्ड अलपत्र

सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार अन्तिम खण्ड पनि ०७६ असार २८ मा हस्तारन्तरण गरिसक्नुपर्ने सम्झौता छ। एक वर्षको अवधिमा एक हजार आठ सय मिटर सडक निर्माणका लागि कम्पनीले गत फागुनसम्म चार करोड आठ लाख ५० हजार भुक्तानी लिइसकेको छ। तर, अहिले रकम अभावले यो खण्डमा पनि काम सुस्ताएको छ।

निर्माण कम्पनीले रकमका लागि निरन्तर माग गरे पनि कार्यालयमा रकम नआएकाले कामै सुस्ताएको सडक डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए। ‘काम गरेको बिल ल्याएर दैनिक कार्यालयमा ठेकेदार आउँछन्, विभागबाट रकम नै पठाइएको छैन। हामीले निरन्तर माग गरिरहेका छौं’, उनले भने, ‘आवश्यक रकम दिन नसक्दा पनि सडक निर्माणमा गतिरोध देखिएको हो, समयमै सम्पन्न नहुनु रकम अभाव पनि एउटा कारण हो।’ वीरेन्द्रनगरको सहरीकरण अवधारणाअनुसार २०७२ जेठमा चार लेन सडक निर्माणका लागि विस्तृत सर्वे गरिएको थियो। यो सडकको चौडाइ १५ मिटर हुनेछ।

चाँडो सक्न स्थानीयको माग

सडक निर्माणमा भइरहेको ढिलाइले आफूहरूलाई सास्ती भएको भन्दै स्थानीयले चाँडो काम सक्न माग गरेका छन्। कामको ठेक्का लिने तर समयमा काम नगर्ने ठेकेदारका कारण आफूहरू हैरान भएको भन्दै उनीहरूले निर्माणको काम चाँडो सक्न माग गरेका हुन्।

‘खडेरीमा धुलोले घरभित्र पनि बस्न सकेनौं, अहिले बर्सातमा सडकमा हिलोले सास्ती दिएको छ’, वीरेन्द्रनगर निवासी गंगा बस्नेतले भनिन्, ‘काम सुरु गरेजस्तो गरेका छन्, कामको गति निकै सुस्त छ। यसले हामीलाई हैरान बनायो, ठेकेदारलाई चाँडो काम गर्न सरकारले कडाइ गरोस्।’ उनले निर्माणमा लापरवाही हुँदासमेत सरकारी निकायले चासो नदिएको दुखेसो पोखिन्।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.