कोरियाली शिखरवार्ता :सैन्य सञ्चार शुरु गर्न सहमत

कोरियाली शिखरवार्ता  :सैन्य सञ्चार शुरु गर्न सहमत

सोल : दक्षिण कोरिया र उत्तर कोरियाले सैन्य सञ्चार सेवा पुनः शुरु गर्न बिहीबार सम्झौता गरेका छन् । पश्चिमीदेखि पूर्वी क्षेत्रसम्म सैन्य संवादका लागि मार्गप्रशस्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशका जनरल तहका सैन्य अधिकारीहरूको संयुक्त बैठकमा सैन्य मामिलाका विविध विषयमा छलफल भएको थियो । दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा पर्ने गाउँ पानमुनजोममा बिहीबार बिहान वार्ता भएको थियो ।

स्थानीय समयअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जनरल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गत दश वर्षमै यस किसिमको यो पहिलो वार्ता हो । यसअघि सन् २००७ को शुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीबीच वार्ता भएको थियो । पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व मेजर जनरल किम डो ग्युनले गरेका थिए भने उत्तर कोरियाका तर्फबाट जनरल आन लक सनले नेतृत्व गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मंगलबार सिंगापुरमा भएको शिखर वार्तापछि दुई कोरियाका उच्च सैन्य अधिकारीहरूको बैठक भएको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्वीपमा अमेरिकी सेना र दक्षिण कोरियाली सेनाबीचको संयुक्त युद्धाभ्यास रोक्न सआदेश दिएका छन् ।

चीनले प्रतिबन्ध नहटाउने

बेइजिङ : चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविक रूपले निःशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धता दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । शिखर सम्मेलनपछि यदि प्योङयाङले आफ्ना प्रतिबद्धता पूरा गरेमा सुरक्षापरिषद्ले प्रतिबन्धलाई विचार गर्नुपर्ने पनि बताएको छ । बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायतका अधिकारीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पोम्पेओले भने, ‘चीनले राष्ट्रसंघ सुरक्षापरिषद्को प्रस्तावलाई सम्मान गर्ने आफ्नो पूर्व प्रतिबद्धतालाई दोहो¥यायो ।’

प्रतिबन्ध र कोरियाले पाउने आर्थिक राहतलाई कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गरेपछि व्यवस्था गर्ने उनले जानकारी दिए । बेइजिङ प्योङयाङको एक मात्र प्रमुख सहयोगी र प्रमुख व्यापारिक साझेदार मुलुक हो । यद्यपि उत्तर कोरियाले निरन्तर आणविक परीक्षण गरेपछि राष्ट्रसंघद्वारा लगाइएको प्रतिबन्धमा भने चीन विश्व समुदायको निर्णयसँगै प्रतिबन्धको पक्षमा उभिएको थियो ।

निःशस्त्रीकरण छिटै हुने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले निःशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको बताएका छन् । सोल पुगेका विदेशमन्त्री पोम्पेओले भने, ‘यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ ।’ अमेरिका पनि उत्तर कोरियाली नेता किमजस्तै निःशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको धारणा पनि उनले राखे ।

उनले सिंगापुर शिखर वार्ताको पहिलो र महत्वपूर्ण कार्य नै यही भएकाले यसमा उत्तर कोरियाको प्रतिबद्धताप्रति अमेरिकी चासो रहेको बताए । सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको सम्झौतामा उत्तर कोरियाले निःशस्त्रीकरण गर्ने जनाएको छ । उत्तर कोरियाले आफ्नो उक्त प्रतिबद्धता चाँडै कार्यान्वयन गर्ने क्रममा रहेको बताएको छ ।

सोही बमोजिम नै प्रतिबद्धता पूरा होस् भन्नेमा आफू रहेको अमेरिकाले स्पष्ट पारेको छ । ‘हामी चाहन्छौँ, उत्तर कोरियाले गरेको सिंगापुर प्रतिबद्धताजस्तै आगामी केही दिनमै निःशस्त्रीकरणका लागि प्रक्रिया थालोस् र पूरा गरोस्’, पोम्पेओले भने । नेता किमले यो आवश्यकता बुझेको र त्यसैबमोजिम चाँडै काम गर्ने पोम्पेओले बताए । विदेशमन्त्री पम्पेओ गत जुन १२ को उक्त ऐतिहासिक शिखर वार्ताको बारेका जानकारी दिन दक्षिण कोरिया पुगेका छन् ।

यसबारेमा दक्षिण कोरियासँग आवश्यक छलफल गरेका छन् । सोलमा जापान र दक्षिण कोरियाका विदेशमन्त्रीसँग भेटवार्तापछि बिहीबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री पोम्पेओ, दक्षिण कोरियाली विदेशमन्त्री काङ क्याङ ह्वा र जापानी विदेशमन्त्री तारो कोनो सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.