कोइराला नेताहरू रणनीतिक भेटघाटमा
काठमाडौं : कांग्रेसको नेतृत्व फेरि परिवारमा फर्काउन प्रयासरत कोइराला नेताहरूमध्ये महामन्त्री डा.शशांक कोइराला र डा.शेखर कोइरालाले शनिबार रणनीतिक भेटघाट गरेका छन्। आफ्ना पक्षका केही केन्द्रीय सदस्यसहित महामन्त्री डा. शशांक र डा.शेखरले शनिबार सामूहिक छलफल गरेको तस्बिर सार्वजनिक गरेका छन्।
यसअघि कोइराला परिवारका तीन नेताले लन्च मिटिंग गरेको तस्बिर सार्वजनिक गरेका थिए। शनिबारको भेटघाटमा सुजाता कोइराला अनुपस्थित रहे पनि कोइराला द्वयले केही केन्द्रीय सदस्यसहित महामन्त्री डा.शशांकको टोखास्थित निवासमा लन्च छलफल गरेको थियो। छलफलमा कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रबहादुर वडु, दीपक गिरी, गुरुराज घिमिरे र सरीता प्रसाईंलगायत नेता सहभागी थिए।
लन्चमा सहभागी केन्द्रीय सदस्य गिरीका अनुसार शनिबारको जमघटमा पार्टीमा देखिएको असन्तुष्टि, आउँदो जिल्ला सभापति भेला, महासमिति बैठकदेखि पार्टीको भावी दिशासम्बन्धमा छलफल भएको थियो। महामन्त्री डा.शशांकका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइराला परिवारको एकतादेखि समग्र पार्टीबारे सन्देश दिन शनिबारको छलफल आयोजना गरिएको थियो। कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइराला शनिबार अन्य काममा व्यस्त भएकाले छलफलमा सहभागी हुन नसकेको उनले जानकारी दिए।
डा.शेखरका स्वकीय सचिव दिनेश थपलियाका अनुसार छलफलको सूचना पाउनुअघि नै सुजाता कामको सिलसिलामा घरबाट प्रस्थान गरिसकेकाले उनी छलफलमा सहभागी हुन सकिनन्। ‘भेटघाटमा उहाँहरूबीच कांग्रेसको राजनीतिक अवस्था, संसद्मा कांग्रेसको भूमिका, पछिल्लो समय सरकारका लोकतन्त्रविरोधी क्रियाकलापलगायत विषयमा छलफल भयो’, उनले भने, ‘चाँडै फेरि सुजाता कोइरालासहित अर्को मिटिङ गर्ने तय भएको छ।’
पछिल्लो समय महामन्त्रीले वरिष्ठ नेता पौडेललाई खासै सहयोग नगरेको गुनासो पार्टीभित्र चुलिएको बेला डा.शेखर देश दौडाहा गरी पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गर्दै शीघ्र महाधिवेशन माग गर्दै आएका छन्। उनले गएको केन्द्रीय कार्यसमिति बैठकमा समेत पार्टीमा तीव्र गुटबन्दी मौलाएको भन्दै शीघ्र महाधिवेशन गर्न माग गरेका थिए। महामन्त्री डा.शशांकले भने पार्टीका कुनै पनि गुटलाई नसघाउने भन्दै आफूले एकताका लागि प्रयास गर्ने बताएका थिए। १३ औं महाधिवेशनमा वरिष्ठ नेता पौडेलकै प्यानलबाट जितेर महामन्त्री भएकाले देउवाइतर समूहका नेताले देउवाविरुद्ध उभिन डा.शशांकमाथि दबाब दिँदै आएका छन्।
देउवाइतर समूहको बेवास्ता गर्न थालेपछि महामन्त्री डा.शशांकले सभापति देउवासँग साँठगाँठ गरेको पौडेलसहित अन्य नेताले आशंका गरेका थिए। गत फागुनमा भएको कांग्रेस संसदीय दल नेताको चुनावमा समेत देउवाइतर पक्षको आग्रहमा दलको नेतामा उम्मेदवार प्रकाशमान सिंहको समर्थक नबसेपछि महामन्त्री डा.शशांकमाथि पार्टीभित्र र बाहिर प्रश्न उठेका थिए। पछिल्लो समय कोइराला पारिवारिक समूहलाई बलियो बनाउन लागिपरेका तीन कोइराला नेता पार्टीको अर्को महाधिवेशन लक्षित रणनीतिक काम गरिरहेको कतिपय जानकार बताउँछन्।
प्रतिक्रिया दिनुहोस !