सरकारसँग प्रचण्डको ‘मोहभंग’

सरकारसँग प्रचण्डको ‘मोहभंग’
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले  सुरुवाती दिनमा नयाँ सरकारप्रति निकै लचिलो देखिएका थिए। उनी भदौ २३ र २४ गतेको ‘जेन–जी (जनेरेसन जेट) आन्दोलन’ र फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामप्रति पनि नरम थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा निर्वाचनमा जानु हुँदैन भन्ने पक्षमा रहँदारहँदै पनि दाहालले नै निर्वाचनको मिति घोषणाको स्वागत गरेका थिए। उनले जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचारविरोधी र परिवर्तनका आवाज आफ्नो दलको मूल एजेन्डा भएको बताउँदै आएका थिए। युवाहरूको असन्तुष्टि जायज भएको उल्लेख गर्दै उनी यो आन्दोलन माओवादीको दृष्टिकोणसँग मेल खाने दाबी गर्थे। ‘जेन–जीको आवाज हाम्रो पनि हो, अब माओवादी नै मूलधार बन्छ,’ उनी भाषणमा भन्थे, ‘युवाहरूले उठाएका माग हाम्रा आन्दोलनसँग अभिन्न छन्। हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेटको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो।’

उनी तोकिएको समय फागुन २१ मै चुनाव हुनुपर्ने अडानमा थिए। जेन–जी आन्दोलनपछि दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लगायतका अन्य वामपन्थी घटकसँग पार्टी एकता गरेका थिए। त्यसैले उनलाई चुनावमा राम्रो नतिजा आउने विश्वास थियो र भन्थे, ‘चुनाव सार्नु हुँदैन, फागुन २१ मै गर्नुपर्छ।’

त्यतिबेला ओली र देउवा निर्वाचन सार्ने पक्षमा भए पनि कांग्रेसभित्र गगन थापा समूहले विशेष महाधिवेशन ग¥यो। निर्वाचनअघि नै थापा कांग्रेसको सभापति बने, जसलाई निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले वैधानिकता दियो। परिणामस्वरूप, निर्वाचन फागुन २१ मै सम्पन्न भयो। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै १ सय ८२ सिट ल्यायो भने दाहालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी १७ सिटमा खुम्चियो। यद्यपि, प्रचण्डले बालेन नेतृत्वको सरकारलाई बधाई दिँदै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रधानसेनापति र राष्ट्रपतिसँगको संवादपछि प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहलाई शुभकामना दिँदै दाहालले भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेपालको ४३औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। सुशासन, सामाजिक न्याय र समृद्धिप्रतिको जनअपेक्षा पूरा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरणमा तपाईंहरूको महŒवपूर्ण योगदान रहने विश्वास लिएको छु।’

निर्वाचनपछि केही समय दाहाल मौनजस्तै रहे। ओली र देउवासमेत निर्वाचन हारेको अवस्थामा संसद्‍मा आएका दाहालले तीन महिनासम्म सरकारको आलोचना गरेनन्। भदौको जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकार होस् वा त्यसपछि बनेको वालेन्द्र शाह नेतृत्वको सरकार, करिब ९ महिनासम्म दाहाल नरम नै देखिएका थिए। तर, पछिल्लो समय उनको त्यो मौनता भंग भएको छ। वाम एकता वा सहकार्यको बहस सुरु गराएका दाहाल वर्तमान सरकारप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्। उनी सरकारविरुद्ध खरो रूपमा उत्रँदै वर्तमान सरकारको १०० दिन पूर्णरूपमा असफल भएको दाबी गर्छन्।

त्यतिमात्र होइन, जेन–जी आन्दोलनप्रतिको उनको धारणा पनि बदलिएको छ। आइतबारमात्रै उनले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थामा पुगेको स्मरण गरे। विश्वको भूराजनीतिले मात्र आफूहरूलाई प्रतिक्रियावादीहरूको हातबाट जोगाएको उनले बताएका छन्।
दाहालले भने, ‘तपाईंहरूले यसरी हेर्नुभएको छ कि छैन थाहा छैन। हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौं नि। प्रतिक्रियावादीले चाहेको भए त एकैछिनमा... हुने ठाउँमा थियौं, तर हामी फेरि बच्यौं।’ २३–२४ भदौपछि आफूहरू निरीह अवस्थामा पुगेको उनको भनाइ थियो।

‘दुई दिन त तपाईंहरूलाई पनि हाम्रा नेताहरू जीवितै छन् कि छैनन्, कहाँ छन्, गिरफ्तार भए कि मारिए भन्ने जस्तो स्थिति थियो, सम्झिनुहुन्छ ? हामी कसरी बच्यौं ? मैले कहिलेकाहीँ भन्ने गर्छु— हामीलाई हाम्रा पार्टीका नेता–कार्यकर्ताले जुलुस निकालेर बचाएका होइनन्, बचाउन सक्ने स्थिति पनि थिएन। हाम्रा लडाकु वा युवाहरूले बचाएका पनि होइनन्। हामीलाई विश्वको भूराजनीतिक संघर्षले जोगिने बाटो दिएछ। हामी बच्नका लागि भूराजनीतिक घर्षण र भूराजनीतिक शक्ति केन्द्रहरूको ‘कोलुजन एन्ड कन्टेन्सन’ (एकता र संघर्ष) ले काम गरेछ,’ उनले थपे।

भदौ २४ गते विध्वंस गर्नेहरूले नै २६ गते राति आफू र माधव नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएको स्मरण गर्दै दाहालले अनौठो मान्दै भने, ‘लौ के गर्ने हो भनेर सल्लाह गर्ने ठाउँमा पुग्यौं। हामीले त प्रधानसेनापति र राष्ट्रपतिले बोलाएर हाम्रा सुझाव लेलान् भन्ने सोचेकै थिएनौं, तर त्यस्तै भयो।’

पछिल्लो समय दाहालले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्ने दिशामा अघि बढिरहेको गम्भीर आरोपसमेत लगाउन थालेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, ‘यो सरकार सुशासन र विकासका लागि होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने दिशातिर अगाडि बढ्दै छ। खबरदार, तपाईं हामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.