कैलाश जाने धार्मिक पर्यटक बढे

कैलाश जाने धार्मिक पर्यटक बढे

 सिमकोट : हुम्ला सदरमुकाम सिमकोटको बाटो भएर मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको संख्या यस वर्ष बढ्न थालेको छ। हिन्दू धर्मालम्वीको आस्थाको केन्द्रका रूपमा मानिने कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धर्मालम्वीको संख्या यस वर्ष पनि बढ्न थालेको छ। विशेष गरी हरेक वर्ष वैशाखदेखि भदौसम्म यसरी भारतीय धार्मिक पर्यटक मानसरोवर कैलाश जाने गरेका छन्।

जिल्लामा पर्यटकहरू आवत जावत गर्न हवाई याताययात सहज भएपछि सिमकोट हुँदै मानसरोवर आउने पर्यटकको संख्या बढेको सिमकोट विमानस्थल प्रहरीचौकी प्रमुख सई मदन शाहीले बताए। उनका अनुसाार अहिलेसम्म ३ हजार ३ सय २९ भारतीय पर्यटक भित्रिएका छन् भने ८० जना अन्य देशका धार्मिक पर्यटक मानसरोवर दर्शनका लागि हुम्ला आइसकेका छन्।

गत वर्ष करिब २० हजार धार्मिक पर्यटकले सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गरेका र यस वर्ष झण्डै दोब्बर पर्यटक कैलाश दर्शनका लागि भित्रिएका विमानस्थल सुरक्षा चोकीले जनाएको छ। प्रहरी नायब निरीक्षक शाहीले अन्नपूर्णसँग भने, ‘यही रफ्तारमा पर्यटक आउने हो भने यस वर्ष ३५ हजार पर्यटक भित्रिनेछन्।’

मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटक बढेकाले अहिले सिमकोट विमानस्थल निकै व्यस्त हुन थालेको छ। नेपालगन्जदेखि सिमकोटसम्म तारा, सीता, मकालु, समिट, सिम्रिक एयरलगायत निजी विमान कम्पनी र सिमकोटदेखि चीनसँग सीमा जोडिएको हिल्सासम्म साना हेलिकोप्टरले उडान भर्न थालेपछि पछिल्लो समय सिमकोट विमानस्थलको व्यस्तता बढ्दै गएको नागरिक उड्डयन कार्यालय सिमकोटका प्रमुुख गौरीशंकर शाहले बताए। उनका अनुसार हरेक दिन सिमकोट विमानस्थलमा हुने उडान संख्या बढ्दै गएको छ।

होटल संख्यामा वृद्धि

वर्षयाम सुरु भएसँगै सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गर्न आउने पर्यटकको चाप बढ्न थालेपछि सिमकोटमा होटलको संख्यासमेत वृद्धि भएको छ।

पर्यटकले हवाई यातायातको चापका कारण कम्तीमा एक बास हुम्ला सदरमुकाम सिमकोटमा बस्नुपर्ने अवस्था आउन थालेकाले सिमकोटमा होटलको संख्या वृद्धि भएको हुम्ला होटल व्यवसाय संघका अध्यक्ष मिम लामाले बताए।

मानसरोवर जाने धार्मिक पर्यटकलाई लक्ष्य गरी यस वर्ष मात्रै सिमकोटका दर्जनबढी होटल दर्ता भएका हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए। कैलाश जाने धार्मिक पर्यटकका कारण हुम्लाका होटल विस्तारै तंग्रिँदै गएको बताएका अध्यक्ष लामाले भने, ‘अझै स्थानीय, प्रदेश र केन्द्र सरकारले सिमकोट हुँदै मानसरोवर जाने पर्यटकलाई कम्तीमा १ देखि २ दिन अनिवार्य सिमकोट र आसपासका क्षेत्रमा बस्ने व्यवस्था मिलाउने हो भने समग्र जिल्लाको आर्थिक क्षेत्रसमेत उकासिने छ।’

जिल्लामा आउने धार्मिक पर्यटकको संख्या बढेसँगै एकैचोटि १ सय जना ग्राहक अटाउन सक्ने ठूला पाँच होटल यस वर्ष मात्र सञ्चालनमा आएका छन्। सोहीअनुसार कैलाश जाने धार्मिक पर्यटकलाई लक्ष्य गरी आफूले व्यवस्थित होटल सञ्चालनमा ल्याएको विजय होटेलकी सञ्चालक याङ्की लामाले बताइन्।

अघिल्लो वर्षसम्म ३÷४ वटा मात्रै होटेल सञ्चालनमा रहेको बताएका सन भ्याली रिसोर्टका म्यानेजर पेमा लामाले यस वर्ष मात्रै १४ वटा सुविधासम्पन्न होटल सञ्चालनमा आएपछि जिल्ला हुँदै कैलाश जाने पर्यटकलाई सहज हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.