सामाजिक परिचालक नै वडासचिव !
ओखलढुंगा : कर्मचारी अभाव भएपछि ओखलढुंगाका स्थानीय तहमा सामाजिक परिचालक, स्वास्थ्यकर्मी र पशु प्राविधिकले वडासचिवको कामसमेत गर्दै आएका छन्। वडासचिवको जिम्मेवारी पाएका प्राविधिक कमर्चारीले पञ्जीकरण, सिफारिसलगायत सबै कामकाज गर्दै आएका हुन्।
ओखलढुंगामा एक नगरपालिकासहित सात गाउँपालिका छन्। सबै स्थानीय तहमा कर्मचारी अभाव छ। केन्द्र सरकारले कर्मचारी समायोजन गरी आवश्यक पदपूर्ति नगर्दा वडासचिवको काममा सामाजिक परिचालक र प्राविधिक कर्मचारीलाई जिम्मेवारी दिँदा सम्बन्धित क्षेत्रमा कर्मचारी अभाव भएकोे स्थानीय तहका प्रमुखहरूले बताएका छन्।
लिखु गाउँपालिकाका सबै वडामा सामाजिक परिचालकले वडासचिवको काम गरिरहेका छन्। लोकसेवा आयोग पास गरेका कर्मचारी नहुँदा नौ वडामै सामाजिक परिचालकलाई वडासचिवको जिम्मेवारी दिइएको लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समीर भट्टराईले बताए। उनका अनुसार गाउँपालिकाले कार्यविधि नै बनाएर सामाजिक परिचालकलाई सचिवको जिम्मेवारी दिएको हो। कार्यविधिअनुसार परीक्षा लिएर सचिवको जिम्मेवारी दिइएका सामाजिक परिचालकले नागरिकता सिफारिस, लिखत, पञ्जीकरण तथा सामाजिक सुरक्षा भत्ता वितरणलगायत काम गर्दै आएका छन्।
लिखु गाउँपालिकाबाहेक अन्य स्थानीय तहका केही वडामा भने सचिव छन्। आठ स्थानीय तहका ७५ वडाका लागि ३० जना मात्र वडासचिव कार्यरत छन्। भएका वडासचिवले दुईभन्दा बढी वडाको जिम्मेवारी पाएका छन्। उनीहरूले ५१ वडाको काम गर्दै आएका छन्।
पाँच वडामा पाँच स्वास्थ्यकर्मीलाई वडासचिव बनाइएको छ। चिशंखुगढी गाउँपालिका–३ र सुनकोसी गाउँपालिका–८ मा स्थानीय स्वास्थ्य चौकीका एचएले वडासचिवको काम गर्छन्। सिद्धिचरण नगरपालिका–१ मा वीरेन्द्र चन्द, ३ मा जितबहादुर राई र ८ मा अरुणा तामाङ स्वाथ्यकर्मी भए पनि वडासचिवका रूपमा खटिएका छन्। स्वास्थ्यकर्मीलाई वडासचिवको जिम्मेवादरी दिइँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिइँदा स्वास्थ्य सेवा प्रभावित भएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए।
ओखलढुंगाका आठ स्थानीय तहका ७५ वडाका लागि ३० जना मात्र वडासचिव कार्यरत छन्। उनीहरूले ५१ वडाको काम गर्दै आएका छन्।
११ जना प्राविधिक सहायकले वडासचिवको जिम्मेवारी पाएका छन्। उनीहरूले वडासचिव र प्राविधिकको दोहोरो काम गर्छन्। खिजिदेम्बा गाउँपालिका–४, सुनकोसी गाउँपालिका वडा नम्बर १ र २, ३ र ४ मा प्राविधिक सहायकले वडासचिवको काम गर्छन्। चिशंखुगढी गाउँपालिका–१, ४ र ८ मा पनि प्राविधिक सहायक नै वडासचिवको जिम्मेवारीमा छन्। मोलुङ गाउँपालिकामा पाँच जना प्राविधिक सहायकलाई पाँच वडाको सचिवका रूपमा जिम्मेवारी दिइएको छ।
पशु प्राविधिक र खानेपानी प्राविधिकले पनि वडासचिवको जिम्मेवारी सम्हालिरहेका छन्। सुनकोसी गाउँपालिका–५ र ७ मा खानेपानी तथा सरसफाइ प्राविधिक वडासचिव छन्। वडासचिवको दरबन्दी नभएपछि प्राविधिक क्षेत्रका कर्मचारीलाई प्रशासनिक काममा लगाउँदा असहज हुने भए पनि विकल्प नभएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए।
प्रतिक्रिया दिनुहोस !
