भैरहवा विमानस्थलको ५ अर्ब रोकेपछि प्राधिकरणका डिजीविरुद्ध आन्दोलन

भैरहवा विमानस्थलको ५ अर्ब रोकेपछि प्राधिकरणका डिजीविरुद्ध आन्दोलन

भैरहवाः राष्ट्रिय गौरवको निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएका पीडितहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) सञ्जीव गौतमको राजीनामा माग गरेका छन् ।

डिजी गौतमका कारण मुआब्जा पाउनमा ढिलाइ भएको भन्दै पीडितहरुले उनीविरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका हुन् । पीडितहरुले डिजी गौतम मुर्दावाद, निकासा भएको रकम तत्काल वितरण गर, लाभकार लिन पाइँदैन लगायत नाराबाजी गरेका थिए । आइतबारसम्म मुआब्जा पाउने आश्वासन कार्यान्वयन नभएपछि पीडितहरुले सोमबारदेखि आन्दोलन थालेका हुन् । 

निर्माणधीन विमानस्थलको धावनमार्गमा जम्मा भएका पीडितहरुले त्यही स्थानमा नदीजन्य पादर्थ डम्पिङ गरिएका  धावनमार्गको क्षेत्र साथै नदीजन्य पदार्थले गरिने विमानस्थलको निर्माण ठप्प पारेका छन् । 

अर्थमन्त्रालयबाट ५ अर्ब रुपैयाँ निकासा भएको रकम डिजी गौतमले प्राधिकरणमा अड्काएर राख्दा पीडितहरुले मुआब्जा रकम नपाएका हुन् ।  आन्दोलनको नेतृत्व गरिरहेका पाँच नम्बर प्रदेशका प्रदेश सभा सदस्य सन्तोष पाण्डेले नागरिक उड्ड्यन प्राधिकरणले आन्दोलनलाई हल्का लिएको बताउँदै बुधवारदेखि थप कडा आन्दोलन हुने बताए । उनले एक महिनाअघि अर्थमन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँ प्राधिकरणका डिजीले बैंकमा राखेर ब्याज खाने दाउ गरेकाले मुआब्जा नपठाएको आरोप लगाए ।  

‘प्राधिकरणमा डिजी गौतमको नेतृत्वमा २÷३ जनाको समूह छ, जुन समूहले एक महिनाको ब्याज लिएर भ्रष्टाचार गर्न चाहेका छन्, जुन हामीलाई स्विकार्य छैन’, उनले भने । पाण्डेले आफुहरुको मुआब्जा मात्र नभइ डिजी गौतमको राजीनामालाई समेत आन्दोलनको ‘बटम लाइन’ बनाएको बताए । ‘हिजोसम्म हाम्रो मुआब्जा वितरणको मात्र माग थियो, तर एक महिनाअघि नै निकासा भएको रकम डिजीले रोकेपछि उनको राजीनामा पनि अब हाम्रो आन्दोलनको ‘बटम लाइन’ हो’, उनले भने ।  

उनले मुआब्जा वितरणका साथै डिजी गौतमले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने र भोलीदेखि थप सशक्त आन्दोलन थाल्ने चेतावनी दिए ।

पीडितहरुको आन्दोलनलाई राजनीतिक दलले पनि समर्थन गरेका छन् । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले मुआब्जा नपाएका कारण किसानहरु निकै समस्यामा परेको भन्दै तत्काल मुआब्जा वितरण गर्न माग गरे ।

उनले मुआब्जा वितरणमा अवरोध पुर्याएका डिजी गौतमलाई सरकारले तत्काल कारवाही गरी अर्को डिजी ल्याउनुपर्ने माग गरे । गौतमले राजीनामा नदिएमा आन्दोलनले ठूलो रुपमा लिने बताउँदै आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मा स्वयम् डिजीले लिनुपर्ने चेतावनी दिए ।

सिद्धार्थनगर नगरपालिका–१० का वडाअध्यक्ष विजयकुमार धवलले विगतमा ३० लाख रुपैयाँबाट लाभकर तिर्नुपर्ने व्यवस्था रहेपनि अगामी महिनादेखि १० लाख रुपैयाँबाटै लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै मुआब्जाको लाभकार खारेज गर्नुपर्ने माग गरे । उनले पनि डिजी गौतमको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.