मुसाको दुई गोलमा नाइजेरिया विजयी, अन्तिम भिडन्त अर्जेन्टिनासँग
काठमाडौँः अहमेद मुसाले दुई गोल गरेपछि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्यान्डलाई नाइजेरियाले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा समूह डी को दोस्रो खेलमा नाइजेरियाका लागि दुवै गोल मुसाले दोस्रो हाफमा गरेका हुन् ।
खेलको ४९ औँ मिनेटमा भिक्टोर मोसेसको पासमा पहिलो गोल गर्दै विश्वकपको दोस्रो चरणमा प्रवेशको सम्भावना बढाएका मुसाले अर्को गोल ७५ औँ मिनेटमा गरे । खेलको ७५ औँ मिनेटमा मुसाले केरेन्थ ओमेर्युको पासमा यो गोल गरेका थिए । यो गोल गर्नुअघि मुसाको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
त्यसपछि खेलको ८३ औँ मिनेटमा आइसल्यान्डले पाएको पेनाल्टीलाई पोस्ट भन्दा माथि प्रहार गरेर गिल्फी सिगुर्डसनले खेर फालेका थिए ।
नाइजेरियाले यो जितपछि दुई खेलबाट तीन अंक जोडेको छ भने आइसल्यान्ड पहिलो खेलमा जोडेको एक अंकमै सीमित भएको छ । अब नाइजेरियाले दोस्रो चरणमा प्रवेशका लागि मंगलबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
त्यो प्रतिस्पर्धामा जो विजयी हुन्छ उसैले समूह डी बाट उपविजेता हुँदै अन्तिम १६ का लागि स्थान पक्का गर्छ । तर, समूह चरणको अर्को अन्तिम भिडन्तमा क्रोएसियाले आइसल्यान्डलाई पराजित या बराबरीमा रोक्नुपर्ने अवस्था पनि छँदैछ ।
प्रतिक्रिया दिनुहोस !