क्रोएसियालाई हराउने दाउमा आइसल्यान्ड, कस्तो आउला नतिजा ?
काठमाडौँ: सुरुवाती दुई खेलबाटै नकआउट चरणमा स्थान सुरक्षित गरेको क्रोएसिया दोस्रो चरणको कडा चुनौतीका लागि तयार हुनुपहिले आफ्नो विजय यात्रा कायमै राख्न मंगलबार राति मैदानमा उत्रिँदैछ ।
अर्कातिर गर या मरको अवस्थामा रहेको आइसल्यान्ड पनि नतिजा उलटफेर गर्ने योजनाका साथ विश्व कपको समूह डी को अन्तिम लिग खेलमा क्रोएसियाविरुद्ध तयार छ । क्रोएसियाले फिफा विश्व कप २०१८ मा शानदार शुरुवात गरेको छ। उसले पहिलो खेलमा नाइजेरिया र अर्को खेलमा अर्जेन्टिनामाथि प्रभावशाली जीत निकाल्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ।
अब उसको नजर विश्व कप १९९८ को आफ्नो अभियानलाई पुनरावृत्ति गर्नमा टिकेको छ। त्यो बेला डेभोर सुकरको जादुयी खेलबाट टिम सेमिफाइनलसम्म पुगेको थियो ।
अघिल्लो चरणमा क्रोएसियाको भिडन्त डेनमार्क या अस्ट्रेलियासँग हुन सक्छ । यहाँसम्मको उसले अघिल्लो चरणमा फ्रान्ससँग पनि खेल्नुपर्ने हुन सक्छ । तर यसको चिन्ता नलिई क्रोएसिया आइसल्यान्डलाई घर पठाउने लक्ष्यका साथ मैदानमा हुनेछ ।
क्रोएशियाका प्रशिक्षक जाल्को डेलिचले यो खेलमा खेलाडीहरुलाई विश्राम दिने योजना पनि बनाएका छन् । उनले अघिल्ला खेलमा पहेँलो कार्ड खाएर निलम्बनको जोखिममा रहेका खेलाडीलाई विश्राम दिने सोच बनाएका हुन् ।
यदि त्यसो भयो भने अर्जेन्टिनाका लागि यो दु:खद खबर हुनेछ । यता क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने चुनौती त छँदैछ अर्कातिर अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्ने कठिन चुनौती पनि छ । यी दुबै खेल राति पौने १२ बजे एकसाथ खेलिनेछन् । आइसल्यान्डले अर्जेन्टिनालाई पहिलो खेलमा बराबरीमा रोकेर विश्वलाई चकित बनाइदिएको थियो ।
आइसल्यान्ड दोस्रो खेलमा नाइजेरियाबाट २-० पराजित भएको थियो । अन्तिम खेलमा गिल्फी सिगुर्डसनले चमत्कारिक प्रदर्शन गर्ने आशा आइसल्यान्डले गरेको छ। यी स्टार स्ट्राइकरले नाइजेरियाविरुद्द पेनाल्टी चुकाएका थिए । तर उनी न्यो पेनाल्टीलाई विर्सँदै अघि बढ्न चाहन्छन् ।
आइसल्यान्डका लागि केबल जित मात्रै पर्याप्त छैन, उसले अर्जेन्टिना र नाइजेरियाको खेलमा पनि ध्यान दिनु जरुरी छ । यदि नाइजेरियाले जित दर्ता गर्यो भने आइसल्यान्ड बाहिरिने छ। यदि अर्जेन्टिनाले बराबरी या जीत निकाल्यो भने फेरि गोलअन्तरका आधारमा अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ ।
यी दुवै टिम यसभन्दा पहिले सबै तहका ६ खेलमा भिडेका छन् । जसका चार खेलमा क्रोएसियाले जित निकालेको छ । तर यी दुईबीच विश्वकप छनोटका क्रममा भएको भिडन्तमा आइसल्यान्डले १-० को जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस !