वर्षाले जलमग्न पश्चिम तराई : आठ जनाको मृत्यु

वर्षाले जलमग्न पश्चिम तराई :  आठ जनाको मृत्यु

प्रदेश ५ ब्युरो 

बुटवल : अविरल वर्षाले पश्चिम तराई जलमग्न बनेको छ । नारायणी पश्चिमको तराई क्षेत्रका अधिकांश भूभाग पानीमा डुबेको छ । प्रदेश ५ को नवलपरासीदेखि बर्दियासम्म थप डुबानको खतरा बढेको छ ।

वर्षापछिका घटनामा परी प्रदेश ५ मा आठ जनाले ज्यान गुमाएका छन् । रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा पानीले गलेर पुरानो पर्खाल भत्कँदा १८ महिने शिशुसहित तीन जनाको मृत्यु भएको हो । बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने दाङमा एक जनाको मृत्यु भएको छ ।

रोल्पामा भान्छाकोठामा आगो तापेर बसिरहेकी सुत्केरीसहित तीन जनाको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीय कमला विश्कर्मा, उनकी १८ दिनकी छोरी र उनको जेठाजुको १५ वर्षीय छोरी चित्रा विश्वकर्मा रहेका छन् ।

आँगनअगाडिको गारो भत्किएर विश्कर्माको घर पुरिएको हो । सुत्केरीलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा मृत्यु भएको हो भने शिशुसहित दुईको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही घरको अर्को कोठामा मृतकका पति राजकुमार विश्वकर्मा र सासू भने सुरक्षित हुन सफल भए पनि अचेत अवस्थामा छन् । घटनापछि गाउँ शोकमा डुबेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरी र धौलाबाङ प्रहरी चौकीबाट प्रहरी उद्धारका लागि पुगेको थियो । स्थानीय र प्रहरीले शव निकालेका थिए । तीन वटै शव होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

गाउँपालिका अध्यक्ष बालाराम बुढामगरका अनुसार होलेरी–स्वर्गद्वारी सडकखण्डमा पर्ने घटनास्थल सैबाङमा थप चार घरसमेत जोखिममा छन् । भत्किएको घरमुनिको अर्को घर पनि जोखिममा छ ।

नेपालगन्ज ः बाँके जिल्लामा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । दुई दिनदेखि परेको अविरल वर्षाबाट आएको बाढीमा परी वैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो । बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङका अनुसार जेठी खोलाले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ बर्से तुलाराम बुढा र ज्वालीपुर नालाले बगाएर वैजनाथ–५ का ३५ बर्से लोकबहादुर सुनारको मृत्यु भएको हो । बिहान बाढीमा बगेर बेपत्ता भएका बुढाको शव दिउँसो मात्र भेटिएको थियो ।

त्यसैगरी कोहलपुर नगरपालिका–४ गौवागाउँ निवासी ४ बर्से बालक रञ्जित पासीको घर नजिकैको खाल्डोमा परी र डुडुवा गाउँपालिकाका ४ बर्से रिमाकुमारी यादवको पनि घरअगाडि जमेको पानीमा परेर मृत्यु भएको हो ।

बाढीले नेपालगन्ज उपमहानगरको न्युरोडस्थित सेतु विक चोक र घरवासी टोल क्षेत्र पनि डुबानमा परेका छन् । नेपालगन्जमा बाटो र नालाको काम जारी रहेकै बेला पानी निकास हुन नपाएर डुबान भएको हो ।

त्यसैगरी धनौली क्षेत्रमा रहेको पीडारी नाला बढेका कारण स्थानीयलाई आवातजावतमा समस्या भएको प्रहरीले जनाएको छ । ‘राप्ती नदी क्षेत्रको अवस्था भने सामान्य छ’, एसपी तामाङले भने । अविरल वर्षापछि आएको बाढीको पानीको सहज निकास नभएका कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् । मातनिया र बनियाँ गाउँका १५ बढी घरमा पानी पसेर विचल्ली भएको र नरैनापुरका ५०÷६० घरमा पानी पसेर क्षति पु¥याएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

खजुरा गाउँपालिका क्षेत्रमा आएको बाढीका कारण नेपालगन्ज–गुलरिया सडकखण्डको किरण नाला नजिक सडकमा भत्किएर आवातजावत रोकिएको छ । जल तथा मौसम विज्ञान विभागको नेपालगन्ज राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार बाँकेमा १ सय ९१ मिलिमिटर पानी परेको छ ।

तुलसीपुर ः दाङको बबई गाँउपालिका–५ बस्ने सेतुराम वली खेत मृतमा अवस्थामा फेला परेका छन् । उनको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । त्यस्तै ट्वाङ खोलाले यात्रुबाहक बस बगाए पनि मानवीय क्षति भएको छैन । अविरल वर्षाले तुलसीपुर सुकौरा सडकमा क्षति भएको हो । सडक भासिँदा केही घर जोखिममा परेका छन् ।

भैरहवा ः अविरल वर्षाले रूपन्देही सदरमुकाम भैरहवा, बुटवल, तिलोत्तमा क्षेत्र जलमग्न भएको छ । विद्यालयमा पानी भरिएपछि परीक्षासमेत स्थगित भएको छ । सिद्धार्थनगर नगरपलिका–३ स्थित खजहाना निमावि डुबानमा परेपछि परीक्षा स्थगित गरिएको हो ।

कक्षाकोठा नै डुबेपछि विद्यालयले दोस्रो दिनको नेपाली विषयको परीक्षा स्थगित गराएको हो । परीक्षा स्थगन भएपछि विद्यार्थीहरूले वडा कार्यालय घेराउ गरेका हुन् ।

विद्यालय डुबेपछि समस्या समाधानको माग गर्दै वडा कार्यालय आउनुपरेको विद्यालयका प्रधानध्यापक सुरेन्द्र प्रसाद मि श्रले बताए । नगरपालिकाले डुबान समस्या समाधान नगर्दा विद्यालयको पूरै कोठाभित्र पानी पसेको र विद्यालयमा रहेका अधिकांश कागजपत्रसमेत भिजेको उनले बताए ।

हवाई उडान प्रभावित

अविरल वर्षाले भैरहवाबाट हुने हवाई उडान प्रभावित भएको छ । भैरहवाबाट हुने सम्पूर्ण उडान भिजिविलिटी कम हुँदासम्म स्थगित भएको गौतम बुद्ध विमानस्थलका प्रमुख टेकराज पोखरेलले जानकारी दिए । गत २४ घण्टामा भैरहवामा १ सय ६६ दशमलव ३ मिलिलिटर वर्षा भएको मापन गरिएको गौतमबुद्ध विमानस्थलको मौसम शाखाले जनाएको छ ।

उता, जिल्ला प्रशासन कार्यालय बर्दियाले बबईको पानीको सतह बढेको भन्दै सतर्क हुन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुंवाङले बाढीबाट क्षति हुन नदिन सतर्कता अपनाइएको बताए । नवलपरासीमा पनि डुबान सुरु भएको छ । सदरमुकाम परासीसहितका बजारक्षेत्रका घरहरू डुबानमा परेका हुन् ।

विद्यालय भवन पहिरोमा

तानसेन ः पाल्पाको निस्दी गाउँपालिका–५ को राईकोट आधारभूत विद्यालयको पर्खाल पहिरोले भत्काएको छ । बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डको माथि रहेको विद्यालयको मुलगेट र भवनको पेटी सडकमा खसेको हो ।

(रोल्पाबाट खेम बुढा, नेपालगन्जबाट शंकरप्रसाद खनाल, भैरहवाबाट सलमान खान, दाङबाट गोपाल शर्मा, पाल्पाबाट कृष्ण पोखरेल)

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.