तीन दिनदेखि हवार्ई सेवा अवरुद्ध, यात्रु अलपत्र
दुनै : डोल्पाको यातायातको एक मात्र माध्यम हवार्ई सेवा वर्षाले तीन दिनदेखि अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् । तीन दिनदेखि वर्षाका कारण डोल्पाको जुफाल विमानस्थलमा कुनै पनि जहाजले उडान गर्न नसकेपछि यात्रुहरू मर्कामा परेका हुन् ।
नेपालगन्ज र सुर्खेतबाट उडान हुने डोल्पाको जुफाल विमानस्थलमा लगातार तीन दिनदेखि हवाई उडान नहुँदा नेपालगन्ज, सुर्खेतबाट डोल्पा र डोल्पाबाट तराईका विभिन्न जिल्ला जाने यात्रु विमानस्थलमै अन्योलमा छन् ।
गत शुक्रबार समिट एयरले एकै पटक जुफाल विमानस्थलमा अवतरण गरेपश्चात् अन्य कुनै पनि जहाजले उडान भर्न नसकेको समिट एयरका स्टेसन इन्चार्ज पूर्णजंग शाहीले जानकारी दिए । उनका अनुसार मौसममा परिर्वतन आएपछि जुफाल विमानस्थलमा कुनै पनि निजी तथा सरकारी जहाजले उडान भर्न नसकेको बताए ।
सांस्कृतिक महोत्सवमा डोल्पा पुगेका महानायक राजेश हमाललगायत एक दर्जन कलाकारको टोली एक सातादेखि जुफाल विमानस्थलमै अड्किएका छन् । ‘जहाजको पर्खाइमा छौं, वर्षाले उडान भएको छैन, मौसममा सुधार आउने अवस्था छैन हिँडेर जान सकिँदैन गायिका कृति पाण्डेले दुखेसो पोखिन् ।
मौसममा समस्या आएका कारण कुनै पनि उडान गर्न कठिन भएको जुफाल विमानस्थल कार्यालय डोल्पाले जानकारी दिएको छ । अग्ला पहाड र हिमाली जिल्ला भएका कारण बिहानबाहेक अन्य समयमा उडान भर्न हावाको उच्च चापले नसकिने नेपालगन्ज विमानस्थलको कार्यालयले बताएको छ । हवाई उडानको क्षेत्रमा सबै प्राविधिक कुरा पूरा नभए जबर्जस्ती उडान गर्न नसकिने जहाज कम्पनीहरू बताउँछन् ।
सडकले नजोडिएको डोल्पामा एक मात्र भरपर्दो यातायातको माध्यम हवाई सेवा नै हो । वर्षाको समयमा जाजरकोट डोल्पाको सडक पनि जोखिममा रहेकाले पैदल यात्रा झनै जोखिम हुने यात्रुहरू बताउँछन् ।
दैनिक यात्रुको चाप बढ्दो छ, तर वर्षाका कारण उडान हँुदैन हामीले यात्रुको मर्का बुझेर हुँदैन सीता एयरका स्टेसन इनचार्ज मुकुन्द पौडेलले बताए । उनले भने, ‘धेरै दिनदेखि उडान नभएपछि यात्रुको चाप बढेको छ, मौसम सफा रहे सबै जहाजले उडान भर्ने र यात्रुहरू गन्तव्यमा जानेछन् ।’
मौसममा आएको परिर्वतन र ठूलो वर्षाका कारण कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुने भनिएको नियमति उडानसमेत प्रभावित भएको छ । यही १५ गते मुख्यमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रूपमा सीता एयरको जहाजलाई उडानका लागि औपचारिकता दिने भनिए पनि मौसमकै कारण उद्घाटन हुन सकेन ।
सुर्खेतबाट डोल्पाका लागि सीधा हवाई उडान भर्ने जिम्मा सीता एयरले लिएको छ । नियमित उडानका लागि सम्झौता गरिए पनि सम्झौता भएकै दिनबाट डोल्पामा उडान भर्न सकेको छैन । सम्झौताअनुसार नियमित उडान भर्ने भनिए पनि वर्षा र मौसम खराबीले उडान भर्न नसकेको सीता एयरले जानकारी दिएको छ ।
जति वटा निजी तथा सरकारी विमान कम्पनीले जहाज थपे पनि डोल्पामा भने यात्रुहरूले सास्ती खेप्नबाट छुटकारा नपाएको नागारिकको गुनासो छ । टिकटका लागि माथिल्लो तहका मान्छेसम्म पावर लगाउनुपर्ने सिन्डिकेट कायमै रहेको नागरिकहरू बताउछन् । हाल डोल्पामा सीता, तारा, गोमा, मकालु र नेपाल एयरलाइन्सले उडान भर्ने गरेका छन् । वर्षायाम सुरु भएसँगै डोल्पामा हवाई उडान प्रभावित हुँदै आएको छ ।