वन मुद्धाका फरार पक्राउ
विराटनगर : वन मुद्धामा दोषी ठहर भएका मोरङको सुन्दरहरैंचा नगरपालिका १२ का ५१ वर्षीय बुधनारायण चौधरीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ। अदालतले दोषी ठहर गर्नु अघि नै फरार रहेका उनलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए।
चौधरीलाई जिल्ला अदालत मोरङले २०७२ साल असोज १७ गते छ महिना कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।बहुमूल्य सखुवाको काठ तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले फेला पारेपछि चौधरी त्यति बेलैदेखि फरार बनेका थिए।
उनी सहित पाँचजनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै सजाय सुनाएको छ। ती मध्ये तीनजना पक्राउ परिसकेको र अन्य दुईजना अझै फरार रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका चौधरीलाई मंगलबार पेस गरिएपछि अदालतले कारागार चलान गरेको छ।