डा. केसी अस्पताल भर्ना

डा. केसी अस्पताल भर्ना

जुम्ला : पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पतालमा भर्ना गरिएको छ । डा. केसी बुधबार दिउँसो बेहोस भएपछि स्थानीय प्रशासनले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेको हो ।

यसअघि प्रतिष्ठानमा अनशन बस्न रोक लगाएको प्रशासनले उनको जीवन रक्षाका लागि भन्दै बुधबार बेलुकी आफै अस्पताल पुर्‍याएको हो ।

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा जारी गर्न माग गर्दै डा. केसी शनिबारदेखि आमरण अनशनमा छन् । प्रशासनले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न प्रतिबन्ध लगाएका कारण उनी जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा अनशन बस्दै आएका थिए ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. केसी बुधबार बेहोस भएका थिए । त्यसलगत्तै प्रशासनले उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको हो । डा. केसीको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कभर्ड हलमा उपचार गर्न सम्भव नभएको भन्दै चिकित्सकहरूले तीन दिनदेखि डा. केसीको चेकजाँच गर्न छाडेका थिए । डा. केसीका भाइ किशोर केसीका अनुसार स्वास्थ्य अवस्था नाजुक बनेको र बेहोस भएपछि आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने योजनामा जुम्ला आएका भए पनि प्रशासनले उनलाई प्रतिष्ठानभित्र प्रवेश गर्न दिएको थिएन । कभर्ड हलमै अनशन बसेका केसीको जीवन रक्षाका लागि भन्दै स्थानीय प्रशासन बुधबार पछि हटेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा. केसीको जीवन रक्षाका लागि उनलाई अस्पतालमा भर्ना गरिएको बताए । प्रजिअ पौडेलले भने, ‘डा. केसीलाई बिरामीका रूपमा अस्पताल पुर्‍याएका हौं, उनको जीवन रक्षा गर्नु हाम्रो दायित्व हो । अहिले पनि प्रतिष्ठानमा निषेधित क्षेत्र जारी छ, केसीलाई आन्दोलनकारीका रूपमा नभई नागरिकका रूपमा प्रवेश दिइएको हो ।’

डा. केसीको समर्थनमा आन्दोलनरत नागरिक समाज जुम्लाले डा. केसीको आंशिक विजय भएको प्रतिक्रिया दिएको छ । ‘डा. केसीको योजना प्रतिष्ठानभित्र अनशन बस्ने थियो, तर प्रशासनले दिएको थिएन’, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, ‘बुधबार प्रशासन आफैले केसीलाई अस्पताल पुर्‍याएको छ, अब उहाँ अस्पतालभित्रै अनशन बस्नुहुन्छ ।’

खलंगामा दिनहुँ प्रदर्शन

सदरमुकाम खलंगामा डा. केसीको समर्थनमा दिनहुँ प्रदर्शन भइरहेको छ । डा. केसीका माग कर्णाली र जुम्लाको पक्षमा रहेको भन्दै नागरिक समाजले प्रदर्शन जारी राखेको हो ।

बुधबार पनि नागरिक समाजले प्रदर्शन र कोणसभा गरेको छ । प्रदर्शनमा प्रमुख प्रतिपक्षी कांग्रेसको पनि सहभागिता रहेको छ ।

जुम्लाका कांग्रेस नेता एवं पूर्वसांसद ललितजंग शाहीले डा. केसीका माग पूरा गराएरै छाड्ने बताए । नागरिक समाजको कोणसभामा बोल्दै उनले भने, ‘केसीका माग कर्णालीका पक्षमा छन्, हामी केसीको सत्याग्रहलाई साथ दिइरहने छौं । माग पूरा गर्नेतर्फ सरकार गम्भीर बनोस् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.