केसीद्वारा काठमाडौंका डाक्टर अस्वीकार
जुम्ला : अनशनरत डा. गोविन्द केसीले सरकारले खटाएका विशेषज्ञ चिकित्सकबाट उपचार गराउन अस्वीकार गरेका छन्। शनिबारदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनको उपचारका लागि सरकारले दुई जना विशेषज्ञ चिकित्सक जुम्ला पठाएको थियो। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा डा. जीवन थापा र डा. सुभास सुवेदीसहितको स्वास्थ्यकर्मीको टोलीलाई जुम्ला पठाइएको हो। तर डा. केसीले बिहीबार जुम्ला पुगेका चिकित्सकबाट उपचार गराउन अस्वीकार गरेका हुन्।
डा. केसीको स्वास्थ्य बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले अनशनस्थलमा उपचार सम्भव नभएको बताएका थिए। उपचार नपाएपछि डा. केसीको स्वास्थ्य गम्भीर बनेको छ। उनलाई बुधबार मात्र अनशनस्थल कभर्ड हलबाट स्थानीय प्रशासनले उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेको थियो।
उपचारका लागि अस्पताल पुगेका चिकित्सकलाई डा. केसीले फिर्ता पठाएका छन्। आफ्नो उपचार र स्वास्थ्यभन्दा कर्णालीको स्वास्थ्यमा गम्भीर बन्न डा. केसीले सरकारलाई आग्रह गरे। ‘मलाई सरकारले खटाएका चिकित्सकको सेवा चाहिँदैन, मेरो उपचारभन्दा सरकारले मैले उठाएका माग पूरा गरोस्। म प्रतिष्ठानकै चिकित्सकबाट उपचार लिन सक्छु। सक्छौ भने प्रतिष्ठानमा आवश्यक स्वास्थ्य उपकरण र डाक्टरको व्यवस्था गर।’ काठमाडौंबाट चिकित्सक पठाएर सरकारले कर्णालीका चिकित्सकको क्षमतामाथि अपमान गरेको केसीको भनाइ छ। आफ्नो उपचारमा चिकित्सक पठाएर दया देखाउनुभन्दा आम नेपालीको हितका हुने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन डा. केसीले सरकारसँग माग गरे।
स्थानीय प्रशासनले सरकारले खटाएका चिकित्सकले डा. केसीको उपचार गर्ने जनाएको छ। ‘डा. केसीको स्वास्थ्य गम्भीर बनेपछि सरकारले विशेषज्ञ चिकित्सक पठाएको हो, केसीको जीवन रक्षाका लागि काठमाडौंबाट दक्ष चिकित्सक आएका हुन्’, जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘जुम्लामा दक्ष डाक्टर छैनन्।’
यसैबीच बुधबार गम्भीर बनेका डा. केसीको स्वास्थ्यमा बिहीबार भने केही सुधार आएको छ।
यसैबीच अनशनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णली प्रदेशका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्कन र बिरामीको सेवामा खटिन पनि स्वास्थ्यमन्त्री यादवले निर्देशन दिएका छन्।
उपचार पाउने बिरामीको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै मन्त्री यादवले अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखे कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए। चिकित्सा शिक्षा सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नभई शिक्षा एवं प्रधानमन्त्री कार्यालयसँग समेत जोडिएकाले निरन्तर छलफल भइरहेको र यथाशीघ्र उपयुक्त निर्णय लिइने स्वास्ध्यमन्त्री यादवलाई उद्धृत गर्दै स्वकीय सचिव महेश चौरसियाले बताए।
डा. केसीलाई कांग्रेसको साथ
डा. केसीले उठाएका माग जायज भएको भन्दै कांगेसले पूर्ण रूपमा साथ दिने बताएको छ। केसीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार जुम्ला आएका कांग्रेस सांसदले यस्तो प्रतिबद्धता जनाएका हुन्। केसीका माग पूरा गराउन संसद् र सडकमा संघर्ष गर्ने उनीहरूको भनाइ छ। कांग्रेसले सांसद प्रकाश रसाइली, रंगमती शाही र प्रदेशसभाका सांसद दीनबन्धु श्रेष्ठलाई डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र अनशनप्रति समर्थन जनाउन जुम्लामा खटाएको छ। सोही क्रममा सांसदले बिहीबार डा. केसीलाई भेटका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)