१० विकास योजनामा एउटै उपभोक्ता समिति

१० विकास योजनामा एउटै उपभोक्ता समिति

बाँके : बाँके जिल्लाको बैजनाथ गाउँपालिकाको वडा नं. ५ को सडक ग्राभेल गर्ने १० वटा योजनामा उपभोक्ता समितिमा एउटै पाइएको छ।

जिल्ला समन्वय समिति बाँकेले आइतबार अनुगमन गर्दा वडा नं. ५ को गुरुवा गाउँका १० वटा बाटो ग्राभेल गर्न मोहम्मद मातिन अध्यक्ष रहेको ९ सदस्यीय उपभोक्ता समिति १० वटा योजनामा एउटै रहेको फेला परेको हो। समितिले १० वटा बाटो ग्राभेल गर्न गाउँपालिकाबाट १३ लाख रूपैयाँको बजेट पाएको छ।

समितिको अध्यक्षमा मातिन, उपाध्यक्षमा राजितराम यादव, सचिव पदमा रहेका सुरजकुमार महावत नेकपाका कार्यकर्ता हुन् भने कोषाध्यक्ष सरस्वती विक कांग्रेस कार्यकर्ता हुन्। समितिका सदस्य फरिद्दिन हल्वाई, लहानु थारू, रूपजली महावत, रामप्रसाद थारू र गलसा भण्डारीको भने पार्टी खुलेको छैन।

कानुनविपरीत एउटै उपभोक्ता समिति बनाइएको र समितिमा दलीय भागबण्डा पनि मिलाइएकाले अनियमितताको आशंका रहेको जिसस अनुगमनका सदस्य चेतबहादुर घर्ती मगरले जानकारी दिए। उनले भने, ‘एउटा उपभोक्ता समितिमा रहेको व्यक्तिले काम सम्पन्न नगरी अर्को उपभोक्ता समितिमा बस्नु कानुनविपरीत हुन्छ।’

गाउँपालिका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रकुमार माझीले भने साविकको वनकटवा गाविसको गाउँसभाबाट ससानो इकाइमा पारित भएका योजनालाई एकीकृत रूपमा एउटै उपभोक्ता समितिलाई जिम्मा दिइएको बताए। उनले प्रस्ट पार्दै भने, ‘गाउँपालिका आउनुअघि गाविसबाट छनोट भएका योजनालाई गाउँपालिकाको पहिलो गाउँसभाले एकीकृत रूपमा सम्पन्न गर्ने जिम्मा दिइएको हो। गाविसको गाउँसभाले विभिन्न शीर्षकमा विनियोजन गरेकाले धेरै देखिएको हो।’

उपभोक्ता समितिले सबै योजना एकै पटक सम्पन्न गरी अहिले गाउँपालिकासँग निकासा मागेको छ। जिल्ला समन्वय अधिकारी हरि प्याकुरेल धेरै योजनामा एउटै उपभोक्ता समिति बनाउनुलाई स्थानीय स्वायत्त शासन ऐन, नियमावली र आर्थिक ऐन नियमविपरीत भएको बताउँछन्। भन्छन्, ‘१० वटा योजनामा एउटै उपभोक्ता समिति हुनु आर्थिक ऐन नियमको ठाडो उल्लंघन हो। गाविसले छुट्याएको योजनालाई गाउँपालिकाले एकीकृत बनाउन पनि मिल्दैन।’

अनुगमनमा जिससबाट घर्तीमगरका साथै सदस्यहरू गुट्टु थारू, निलम सिंह, विमला सिंह थारू र इन्जिनियर अनुपमा श्रेष्ठ सहभागी थिए। टोलीले सोही वडाको ६ सय ७२ मिटर लामो बाटोमा कमसल ग्राभेल गरेको जनाएको छ। ११ लाख ७८ हजार रुपैयाँ लागतको सडकमा ठुल्ठूला ढुंगा राखेर काम कमसल बनाइएको इन्जिनियर श्रेष्ठले बताइन्। उनले भनिन, ‘यही वर्षामा यो बाटोमा माटो बगेर ढुंगा मात्र रहन्छ। ठूलो ढुंगा भएको ठाउँ उप्किँदा खाल्डो पर्छ।’

केही दिनदेखि जिजसको टोलीले स्थानीय तहका विकासे आयोजनाको अनुगमन गरिरहेको छ। आइतबारै जिससको अर्को टोलीले डुडुवा गाउँपालिकाको अनुगमन गरेको थियो। त्यसअघि जानकारी र खजुराका साथै कोहलपुर नगरपालिकामा पनि अनुगमन गरेको थियो। जानकी गाउँपालिकामा पनि सडकमा कमसल ग्राभेल गरेको जिसस सदस्य घर्ती मगरले जानकारी दिइन्।

नीति र विधि पालना गर्नुपर्छ। स्थानीय सरकारले कानुनविपरीत जे पनि गर्न पाइँदैन। संक्रमणकालीन अवस्था भएकाले अरू स्थानीय तहले पनि यस्ता घटनाबाट पाठ सिक्नुपर्ने जिल्ला समन्वय अधिकारी प्याकुरेलले सुझाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.