सघनकक्षमै डा. केसीको अनशन : प्राण गए पनि माग तुहिन नदिने

सघनकक्षमै डा. केसीको अनशन : प्राण गए पनि माग तुहिन नदिने

 जुम्ला : डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमै आफ्नो अनशन जारी राखेका छन् । अनशनको सातौं दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानको सघन उपचार कक्षमै आफ्नो अनशन जारी रहेको बताए । पाँच दिनसम्म कभर्ड हलमा अनशन बसेका केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बेहोस भएका उनलाई स्थानीय प्रशासनले बुधबार उपचारका गरेको थियो । अस्पतालको सघन उपचार कक्षमा सामान्य उपचारपछि होसमा आएका केसीले सरकारले आफूलाई प्रतिष्ठानमा अनशन बस्न निषेध गरे पनि आफ्नो अनशन जारी रहेको उद्घोष गरे ।

‘माथेमा आयोगले प्रस्तुत गरेअनुसारकै चिकित्सा शिक्षा अध्यादेश आउनुपर्छ, तर कम्युनिस्ट सरकारले अध्यादशे तोडमोड गरी संशोधनसहित प्रतिस्थापन विधेयक ल्याउन खाजेको छ’, उनले भने, ‘सरकारले ल्याउन खोजेको त्यो विधेयक देश र जनताको हितविपरीत छ, पुरानै स्वरूपको अध्यादेश नआए अनशनमै मेरो प्राण जाला, तर माग तुहिन दिन्नँ ।’ अन्नपूर्णसँग चिकित्सा शिक्षा सुधारबारे आफूले थालेको आन्दोलनका पछि सारा जनताको नेतृत्व गर्दै कांग्रेसले साथ दिने बताउँदै त्यसबाट हुने क्षतिको जिम्मेवार अहिलेको सरकारले लिनुपर्ने केसीले दाबी गरे ।

‘सर्वसाधारण नागरिक स्वाथ्यको पहुँचमा पुग्ने किसिमको चिकित्सा शिक्षा र सेवा चाहिएको हो, तर सरकार एक व्यक्ति पोस्ने विधेयक ल्याउन खोज्दै छ’, उनले थपे, ‘माग सम्बोधन नभएसम्म अनशन तोडेर म काठमाडौं फकिन्नँ, तर मलाई काठमाडौं लगेर अनशन तुहाउने षडयन्त्रमा सरकार लागेको छ ।’ डा. केसीले बुधबार सरकारले पठाएका चिकित्सकसँग उपचार गराउन अस्वीकार गरेका थिए ।

स्वास्थ्य अवस्था गम्भीर

डा. केसीको उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक डा. प्रवीण गिरीका अनुसार केसीको स्वास्थ्य अवस्था गम्भीर छ । सघनकक्षमै अनशन जारी राखेका डा. केसीको उपचार भइरहेको उनले बताए । मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले डा. केसीको उपचारमा एक चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी खटाइएको बताए । जतिसक्दो छिटो आईसीयू सेवा सञ्चालन गरी केसीको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उपचारको प्रबन्ध मिलाइरहेको उनको भनाइ छ ।

हाल डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले अन्य संक्रमणको सम्भावनासमेत बढेको उपचारमा संलग्न चिकित्सक डा. गिरीले बताए । उनका अनुसार डा. केसीको शरीरमा चिनीको मात्रा घटेको छ, पिसाब भएको छैन । स्लाइन र अक्सिजन निरन्तर दिइएको छ । ‘हामीसँग दक्ष जनशक्ति छ, तर सोहीअनुसार सबै उपकरण छैन’, डा. गिरीले भने, ‘सरकारले उपकरण पठाएर र डा. केसीको माग सम्बोधन गरी जीवन रक्षा गर्नुको साटो दुई दिनका लागि थप चिकित्सक पठाएर के गर्न खाजेको हो ? ’ सरकारले केन्द्रबाट दुई चिकित्सक पठाएर कर्णालीका चिकित्सकप्रति अविश्वास गरेको भन्दै उनले दुखेसो पोखे ।

सांसदको टोली फिर्ता

डा. केसीले उठाएका माग जायज भएको भन्दै केसीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार जुम्ला आाएका तीन सांसदको टोली डा. केसीलाई भेटेर फिर्ता भएको छ । डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र अनशनप्रति समर्थनको घोषणा गर्न कांगेसले खटाएका तीन सांसद शुक्रबार दिउँसो जुम्लाबाट फिर्ता भएका हुन् । शुक्रबार फिर्ता हुने क्रममा पत्रकारसँग बोल्दै सांसद प्रकाश रसाइलीले केसीका माग पूरा गराउन संसद् र सडकमा संघर्ष गर्ने बताए । कांग्रेसले प्रतिनिधिसभा सांसद प्रकाश रसाइली, रंगमती शाही र प्रदेससभा सांसद दीनबन्दु श्रेष्ठलाई जुम्ला पठाएको थियो ।

जुम्ली महिला सडकमा

डा. गोविन्द केसीको अनशनलाई समर्थन गर्दै जुम्लाका महिलाहरू पनि सडकमा उत्रिएका छन् । केसीका मागलाई तत्काल सम्बोधन गरी गरिबका छोराछोरीलाई चिकित्सा शिक्षा सुनिश्चित गर्न सरकारले ध्यानदिनुपर्ने भन्दै शुक्रबारबाट जुम्ली महिलाहरू पनि नाराजुलुस सहित सडकमा उत्रिएका हुन् । जुम्लामा एमबीबीएस अध्ययन सुरु गरेर कर्णालीबासी हितका लागि सरकारले काम गर्नुको साटो उल्टै डा. केसीले उठाएका जायज मागलाई लत्याउन खोजेको महिला अगुवा पूर्वकन्या उपाध्यायले बताइन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.