एयरलिफ्ट गर्न मान्दैनन् डा. केसी

एयरलिफ्ट गर्न मान्दैनन् डा. केसी

जुम्ला : नेपाल चिकित्सक संघ केन्द्रीय समिति काठमाडौंले खटाएका दुई विशेषज्ञ चिकित्सकले शनिबार जुम्ला पुगेपछि आठ दिनयता यहाँ अनशनरत डा. गोविन्द केसीलाई भेटे। भेटसँगै चिकित्सकहरूले डा. केसीको स्वास्थ्य चेकजाँज गर्दा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पुष्टि गरे।

अनशनरत डा. केसीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दक्ष चिकित्सकहरूले उपचार गरिरहे पनि यहाँ आवश्यक उपकरण नहुँदा केसीलाई जुनसुकै समयमा आकस्मिक उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकले बताएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था बुझिसकेपछि पत्रकारसँग नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चिकित्सक ढुण्डीराज पौडेलले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले जतिखेर पनि उनलाई एयरलिफ्ट गरी काठमाडौं लैजानुपर्ने अवस्था आउने बताएका हुुन्। ‘केसीको स्वास्थ्य अवस्था प्रतिदिन बिग्रँदै गएको छ, ठूलो समस्या आउँदा उनलाई यहाँ उपचार सम्भव छैन’, उनले भने, ‘हामीले काठमाडौं एयरलिफ्ट गर्न सुझाव दिँदा डा. केसीले मान्नुभएन तर चाँडोभन्दा चाँडो केसीको माग सम्बोधन गर्दै सरकारले उनको जीवनरक्षा गर्नुपर्छ।’ डा. केसीको मागप्रति सरकार लचिलो नभए देशभरका स्वास्थ्य संस्था ठप्प पार्दै सेवा प्रवाह रोकेर चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिने उनले चेतावनी दिए।

अर्का चिकित्सक प्रकाश बुढाथोकीले भने, ‘सुगम गाउँमा भएको भए डा. केसीको उपचारमा कुनै समस्या हुने थिएन तर दुर्गम ठाउँ भएकाले यहाँ स्वास्थ्य उपकरण र भनेका बेला हवाई सेवा पनि उपलब्ध हुँदैन। केसीको जीवनरक्षाका लागि सरकार गम्भीर बन्नुपर्छ।’ उनले डा. केसीको अनशन अझै जारी रहने हो भने तत्काल काठमाडौं एयरलिफ्ट गर्नुको विकल्प नरहेको बताए। डा. केसीको ज्यानमा कुनै तलमाथि भए केसीको माग अधुरै रहने भन्दै माग सम्बोधनका लागि उनलाई बचाउन आवश्यक रहेको उनको भनाइ छ।

अन्नपूर्णसँग चिकित्सकहरूले डा. केसीको माग र आन्दोलन जायज भएको भन्दै आफूहरूको पनि पूरा समर्थन र सहयोग रहने प्रतिक्रिया दिए। डा. केसीको माग सम्बोधन नभएसम्म नेपालको चिकित्सा शिक्षा सुधार नहुने चिकित्सक संघ जुम्लाका उपाध्यक्षसमेत रहेका केसीको उपचारमा संलग्न चिकित्सक प्रवीण गिरीले बताए।

‘केसीले यसअघि नेतृत्व गरेका आन्दोलन र थालेको अनशनले चिकित्सा शिक्षा सुधार हुँदै गएको छ, त्यसैले केसीको जायज माग राज्यले सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा, अहिले बोल्न सक्ने स्थितिमा समेत छैनन्।’

यता, अनशनरत डा. केसीले कर्णालीजस्तो पवित्र स्थानमा बरु आफूले देह त्याग गर्ने तर माग सम्बोधन नभएसम्म अनशन नतोड्ने बताए। ‘भौगोलिक अवस्थाले विकटमा रहेका हजारांै कर्णालीवासीले सिटामोलसम्म नपाएर बर्सेनि ज्यान गुमाउनुपरेको छ, गरिबीले गजेडिएको कर्णालीका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्न घरखेतसम्म बेचेर हैरानले काठमाडौंसम्म जानुपर्छ’, उनले भने, ‘यिनै समस्या समाधानका लागि मैले उठाएको जायज मागलाई राज्यले सम्बोधन गर्दैन भने, म पनि यही पवित्र कर्णालीमा मर्न तयार छु।’

कालिकोटवासी सडकमा उत्रिए

डा. केसीको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण जनाउँदै कालिकोटवासी पनि सडकमा उत्रिएका छन्। शनिबार कालिकोटका जनप्रतिनिधि, शिक्षक, नागरिक समाज, स्वास्थ्यकर्मीलगायतको टोली जुम्ला पुगेर केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन्। डा. केसीले उठाएका मुद्दा सबै कर्णालीवासीको साझा मुद्दा भएको भन्दै मागप्रति सरकार गम्भीर नभए चरणबद्ध कडा आन्दोलन गर्ने कालिकोटवासीको ऐक्यबद्धता पत्रमा उल्लेख छ।

जुम्लामा विरोध प्रदर्शनपछि पत्रकार सम्मेलन गर्दै नागरिक समाजका अगुवा तथा तिलागुफा नगरपालिका–५ कालिकोटका अध्यक्ष टीकाराम न्यौपानले आइतबारदेखि कालिकोट जिल्ला सदरमुकाममा चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गर्ने बताए। जुम्लामा रहेको प्रतिष्ठानमा तत्काल मेडिकल कलेज सुरु गरेर एमबीबीएससम्मको पढाइ कर्णालीमै हुनुपर्ने कालिकोटवासीको माग छ। चिकित्सा शिक्षा अध्ययन गर्न सधँै कालिकोटबाट काठमाडौं धाउन सम्भव नभएको भन्दै कर्णालीमै पढाइ सुरु नभएसम्म सरकारलाई दबाब दिने कार्यक्रम जारी रहने नेपाल शिक्षक संघ कर्णाली प्रदेशका उपमहासचिव नवीन हमालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.