प्रयोगशाला नगई सकिन्छ विज्ञान पढाइ
बुटवल : विज्ञान विषय अध्ययनका लागि प्रयोगशाला अनिवार्य हो । तर रूपन्देहीका सामुदायिक विद्यालयका विद्यार्थीले भने प्रयोगशाला नै नदेखि पढाइस सक्छन् । पर्याप्त भौतिक पूर्वाधारबिनै विज्ञान विषय पढाउन अनुमति दिइने हुँदा यस्तो नियति भएको हो ।
सामुदायिक मात्रै नभई निजी विद्यालयमा पनि देखाउनका लागि मात्रै ल्याब राखिएका छन् । जहाँ विद्यार्थीले पर्याप्त अभ्यास गर्न पाउँदैनन् । उपकरण भए पनि केमिकलहरू छैन् । भएका उपकरण पनि निकै न्यून छन् ।
जिल्लामा ११ र १२ पढाइ हुने ५२ वटा सामुदायिक विद्यालय छन् । जसमध्ये ५ वटामा विज्ञान विषय पढाइ हुन्छ । जिल्लाको सियारी गाउँपालिकाको पब्लिक माविले ०६४ सालमा उमाविको लागि विज्ञान विषयको सम्बन्धन लिएको थियो, तर आवश्यक ल्याबसँगै विद्यार्थी अभावका कारण नियमित चल्न सकेको थिएन । एकाध वर्ष कक्षा सञ्चालन हुने अर्को वर्ष बन्द हुँदै आएको थियो । तर, अहिले केही सामग्री जोडेको विद्यालयका प्रअ डिलाराम खनालले बताए । ‘विज्ञानको सामग्री त जति भए पनि पुग्दैन, तर तत्काललाई आवश्यक पर्ने सामग्री हामीले जोडेका छौं ।’ उनले भने ‘अहिले ७–८ लाख रुपैयाँ बराबरको सामान हामीसँग छ । आउँदो वर्ष पुनः ७–८ लाखको सामान थप्छौं ।’ प्रयोगशालामा अहिले रहेका कतिपय सामग्री पुराना छन् । ल्याब पनि केही साँघुरो छ ।
कञ्चन गाउँपालिका रुद्रपुरमा रहेको लुम्बिनी ज्ञान निकेतन माविमा प्रयोगशालामा आवश्यक आधाजसो सामग्री उपलब्ध रहेको विद्यालयको भनाइ छ । ‘केमेस्ट्रीमा अलि बढी छ, फिजिक्स र बायोलोजीमा थप्नुपर्ने छ’, विद्यालयका बायोलोजीका शिक्षक छविलाल थापाले भने, ‘बायोलोजीतर्फ कम्पाउन्ड माइक्रोस्कोप पुरानो छ, त्यो एडभान्स लेबलको चाहिन्छ । बेलजार, ग्यानोन्स फोटोमिटर २ वटा मात्र छन् । ५–६ वटा आवश्यक पर्छ ।’ प्रयोगशाला कक्षमा फर्निचरको पनि अभाव छ । एउटा हललाई पार्टेसन गरेर फिजिक्स, केमेस्ट्री र बायोलोजीको प्रयोगशाला कक्ष बनाइएको छ । त्यहाँ विद्यार्थी बसेर सिक्न असहज छ । प्रयोगशालाको लागि छुट्टै भवन बनाउन लागिएको उनले बताए ।
सहरी क्षेत्रका विद्यालयकाले भने विज्ञान प्रयोगशालाका सामग्री केही बढी जोहो गर्न सकेका छन् । तर ती विद्यार्थी संख्याका आधारमा पर्याप्त छैनन् । कतिपय विद्यार्थी सामान हेर्न मात्रै ल्याब छिर्न पाउँछन् । तर विद्यालयका प्राध्यापकहरू प्रशस्त सामान भएको दाबी गर्छन् ।
‘विद्यार्थीलाई आवश्यक सामग्री हामीसँग छ । अपुग भए हामी तत्काल थप गर्छौं ।’ कालिका मावि बुटवलका प्रअ घनश्याम पाठकले भने ।
आवश्यक ल्याब र पूर्वाधारको अभावमा ग्रामीण क्षेत्रका विद्यालयमा ११ र १२ कक्षामा विज्ञान समूहमा विद्यार्थीको आकर्षण पनि कम छ । लुम्बिनी ज्ञान निकेतनमा ५ वर्षदेखि ११ र १२ मा विज्ञान विषय पढाइ हुने गरेको छ । ‘बढीमा ३० जनालाई भर्ना लिन सकिन्छ, २०–२५ जना विद्यार्थी हुने गरेका छन् ।’ विद्यार्थीको कम आकर्षण र पूर्वाधार अभावले पनि गाउँमा विज्ञान कक्षा चलाउन समस्या हुने गरेको छ ।
सहरी क्षेत्रका सामुदायिक विद्यालयमा विज्ञान विषयप्रति आकर्षण बढ्दो छ । बुटवलको कालिकानगरमा रहेको कालिका माविमा कक्षा ११ मा २ सय ८० जना विद्यार्थी विज्ञान विषयमा भर्ना भएका छन् । विज्ञान विषय पढ्न ८ सय ९४ जनाले प्रवेश परीक्षासमेत दिएका थिए ।
यस्तै बुटवल कान्ति माध्यमिक विद्यालयमा विज्ञान विषय पढ्न २ सय १३ जनाले प्रवेश परीक्षा दिएका छन् । ‘हाम्रा विद्यार्थीले प्रवेश परीक्षा नगर्न आग्रह गरेका छन् । आफू पढ्ने विद्यालयमा त्यसै पढ्न पाउनुपर्छ भने ।’ विद्यालयका प्रअ गोविन्द ज्ञवालीले भने, ‘अन्य विद्यालयका विद्यार्थी विज्ञान समूहमा फेरि थपिन खोजेका छन््, उनीहरूका लागि पनि प्रवेश परीक्षा लिन्छौं ।’
निजीभन्दा सरकारीमा धेरै सस्तो हुने भएकाले पनि विज्ञान पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय हुने गरेको छ । तर तीनै सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार छैन । नियमन निकायले समेत पूर्वाधारबिनै अध्ययन अनुमति दिएको छ । निजी विद्यालयका ल्याबसमेत देखाउनका लागि मात्रै राखिएका छन् ।
विज्ञान प्रयोगशाला ।
प्रतिक्रिया दिनुहोस !