डा. केसीको स्वास्थ्य जटिल बन्दै

डा. केसीको स्वास्थ्य जटिल बन्दै

जुम्ला : चिकित्सकको सल्लाह नमान्दा जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ दिनयता अनशनरत डा. केसीलाई चिकित्सकले दिएको सल्लाहभन्दा उनले आफ्नै निर्णयबाट उपचार गराउने गरेका छन्। डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपपछि उनको जीवनरक्षाका लागि भन्दै स्वास्थ्य मन्त्रालयले उपचारमा खटाएका दुई चिकित्सकबाट उनले सेवा लिन अस्वीकार गरेका हुन्।

सरकारले आफ्नो उपचारमा चिकित्सक पठाउनुभन्दा आफूले माग राखेको चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा जारी गरोस् भन्दै केसीले ती चिकित्सकको स्वास्थ्योपचार सल्लाह अस्वीकार गरेका थिए। शनिबार मात्र नेपाल चिकित्सक संघ केन्द्रीय समिति काठमाडौंले खटाएका दुई विशेषज्ञ चिकित्सक जुम्ला पुगेपछि केसीलाई जुम्लाबाट काठमाडौं एयरलिफ्ट गर्नुपर्ने सुझाव दिँदा उनी आफ्नो मागमा अडिग रहेर चिकित्सकले दिएको सल्लाह मान्न तयार भएनन्।

‘केसीको स्वास्थ्य अवस्था जटिल बन्दै छ, हामीले सकेजति उपचार गरिरहेका छांै’, उपचारमा संलग्न चिकित्सक प्रवीण गिरीले भने, ‘केसी आफ्नो मागप्रति अडिग बन्दै चिकित्सकको सबै सल्लाह मान्न तयार छैनन्, सबै उपचार विधिबाट उनको जीवनरक्षा गर्नु हाम्रो कर्तव्य हो।’ प्रतिष्ठानमा उपलब्ध भएसम्मका उपकरण विधिबाट डा. केसीको स्वास्थ्य उपचार गरिने उनले बताए। उनका अनुसार डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा, बोल्न सक्ने स्थितिमा समेत छैनन्।

डा. केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन थालेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले चिकित्सा शिक्षा सुधारका लागि केसीको जायज माग राज्यले सम्बोधन गर्नुपर्ने तर्क गरे। ‘केसीको स्वास्थ्यमा कुनै ठूलो समस्या आउँदा उनलाई यहाँ उपचार सम्भव छैन, सरकारले चाँडोभन्दा चाँडो केसीको माग सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘डा. केसीको मागप्रति सरकार केही दिनभित्रै लचिलो नदेखिए कडाभन्दा कडा आन्दोलनमा उत्रिनेछैाँ।’

डा. गोविन्द केसीका भाइ किशोर केसीका अनुसार चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा नआएसम्म केसीले अनशन नतोड्ने तर मर्न तयार हुने बताएका छन्। ‘सरकारले जतिखेर पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजेमा त्यसको परिणाम आफैं व्यहोर्नु पर्नेछ, प्रमुख विपक्षी दल कांग्रेसले पनि सरकारले अध्यादेशको मूल मर्म नै तोडमोड गरेकोप्रति विरोध जनाएकाले यसमा सरकार पछि नहटे जनताले न्याय पाउने छैनन्’, उनले भने, ‘बहुमतको सरकार छ भन्दैमा जनताको हितविपरीत निर्णय गर्न मिल्दैन, नत्रभने तीन करोड जनताले सडकदेखि र संसद् तताउनेछन्।’ डा. केसीलाई मांसपेशी सुन्निने, रिँगटा लाग्ने, छातीको धड्कन बढ्ने, पिसाब नहुनेजस्ता गम्भीर स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.