तलब नपाउँदा स्वास्थ्यकर्मीले काम गर्न छाडे

तलब नपाउँदा स्वास्थ्यकर्मीले काम गर्न छाडे

जाजरकोट : भेरी नगरपालिका–१ डौरीकाँडाका सुरेश रोकाय उपचारका लागि जाजरकोट अस्पताल पुगे तर स्वास्थ्यकर्मीको आन्दोलनका कारण उनले उपचार पाउन सकेनन्। उनी उपचार नपाएरै घर फर्कन बाध्य भए। उनीजस्तै नलगाड–८ का शेरबहादुर खत्री पनि उपचार नपाउँदा निराश भएर घर फर्किए। यी त केही प्रतिनिधि उदाहरण हुन्। उनीहरूजस्तै सयौं बिरामी एक सातादेखि उपचार नपाएर फर्कने गरेका छन्। पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले दुई सातादेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरेर काम गर्न छाडेपछि सेवाग्राही मर्कामा परेका हुन्।

पाँच महिनादेखि तलब खान नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले समस्या समाधानमा कुनै चासो देखाएको छैन। हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समयदेखि तलब खान नपाउँदा आन्दोलनमा उत्रिएको बताएका छन्। तीन साताअघि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले दुई सातादेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका छन्। स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ।

समयमा रकम निकासा नहुँदा जाजरकोट अस्पताल र भेरीनगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन्। यसअघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहत गएपछि समयमा तलब खान नपाएको बताएका छन्।

जिल्ला अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले अहिलेसम्म तलब भत्ता पाउन नसकेका हुन्। फागुनदेखि तलब खान नपाउँदा घरखर्च चलाउन समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर गंगा रेग्मीले बताइन्। भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शर्माले दिनहुँ बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाउँदा निराश भएको बताए। उनले स्थानीय तहमा गएपछि सेवासुविधा सहज होला भन्ने सोचेका स्वास्थ्यकर्मीले तलब नपाउँदा घरखर्च टार्नसमेत समस्या भएको बताए।

भेरी नगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकाले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको जानकारी दिए। उनका अनुसार अर्थ, स्वास्थ्य र संघीय मामिला मन्त्रालयबीच तालमेल नमिल्दा र कर्मचारीको तलब अन्य कार्यक्रमका खर्च हुँदा स्वास्थ्यकर्मीले लामो समयदेखि तलब पाउन नसकेका हुन्।

जिल्ला प्रशासन कार्यालयमा धर्ना

तलब माग गर्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बस्नेतमार्फत स्वास्थ्यकर्मीले ज्ञापनपत्र बुझाएका हुन्।

पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्यमन्त्रीलगायत सरोकारवालाको ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाएका हुन्। दुई सातादेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरेर काम गर्न छाडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले मंगलबार सदरमुकाममा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा केही बेर धर्नासमेत दिएका थिए। प्रमुख जिल्ला अधिकारी बस्नेतले स्वास्थ्यकर्मीका माग सम्बन्धित मन्त्रालय, मन्त्री र सचिवलाई पठाउने प्रतिबद्धता गरेका छन्। तलबका लागि उपचार छाडेर प्रदर्शनमा उत्रिनु दुःखद भएको डा. भूपेन्द्रप्रकाश मल्लले बताए। उनले श्रमजीवीलाई तलब दिने कुरामा पनि सरकार गम्भीर हुन नसकेको गुनासो गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.