बर्दिवासमा साहित्यिक उत्सव

बर्दिवासमा साहित्यिक उत्सव

बर्दिवास : असारको गर्मीले मधेस तातेको थियो । तर चर्को गर्मीको पर्वाह नगरी गत असार २२ र २३ गते महोत्तरी बर्दिवासमा दुई दिने ‘बर्दिवास साहित्यिक तथा सांस्कृतिक उत्सव’ सम्पन्न भयो । बाहिर चर्को घाम लागिरहँदा कार्यक्रम स्थलमा भने उत्सवले माहौल नै रोमाञ्चित थियो । उत्सवको पहिलो दिन विविध सांगितिक प्रस्तुतिले हल गुञ्जायमान थियो । स्थानीय कवि तथा सांगीतिक टिमहरुले मैथुली नृत्य, तामाङ सेलो नृत्य लगायत प्रस्तुतिहरु पस्किए । 

बर्दिवास साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानप्रगतिशिल लेखक संघ महोत्तरीको आयोजनामा भएको उत्सवका प्रमुख अतिथि थिए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल । विशिष्ट अतिथि थिए वरिष्ठ लेखक खगेन्द्र संग्रौला । त्यस्तै उत्सवमा वरिष्ठ सात्यिकार राजेन्द्र बिमल, कवि तथा चिन्तक रोशन जनकपुरी, साहित्यकार सीता शर्मा र लेखक उज्ज्वल प्रसाईंको पनि उपस्थिति थियो । कथाकार इस्माली, गायक पूर्ण परियार, कलाकार सुभाष गजुरेल, समीक्षक गुरुङ सुशान्त र काभ्रे प्रलेसका अध्यक्ष लोक लामा पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा कथाकार इस्मालीलाई सम्मान गरियो । त्यस्तै नगर प्रमुख विदुरकुमार कार्कीले बर्दिवास नगरपालिकामा प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा मन्त्री पोखरेलले साहित्यिक तथा सांस्कृतिक पक्षको महत्वबारे मन्तव्य राखेका थिए । 

आधारशिलामा काव्यिक साँझ

बेलुकीको समय थियो काव्यिक साँझको । सुनसरी, मोरङ, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र मकवानपुरबाट उत्सव मनाउन पुगेका कविहरुले आ–आफ्नो सिर्जना सुनाए । मकवानपुरका कविद्धय पुरुषोत्तम अधिकारी र प्रमोद अधिकारी, सिन्धुलीका कवि रुपक जमरा, धनुषाका कवि किरण दहाल लगायतले कविता सुनाए । काव्यिक साँझका विशेष पाहुना थिए गजलकारद्धय अमला अधिकारी र मैया लामिछाने । उनीहरुको गजलले गौरिडाँडास्थित आधारशिलाको काव्यिक साँझ अझै रोमाञ्चक भयो । गजलकारद्धयले गजल वाचन गरिरहँदा वातावरण रमाइलो भएको थियो । काव्यिक साँझमा प्रस्तुत भएका सिर्जनाहरुलाई समीक्षा गर्दै समीक्षक गुरुङ सुशान्तले पुराना समाजले बनाएका विभेदकारी बिम्ब भत्काएर नयाँ बिम्ब निर्माण गर्नु कविको दायित्व भएको औंल्याए । टिकाउ कवितामा लाग्न जोड दिँदै उनले भने, ‘विकाउभन्दा टिकाउ कविताको साधनामा कविहरु लाग्नुपर्छ ।’

बहसमय दोस्रो दिन

उत्सवको दोस्रो दिन अलि फरक दिन रह्यो । बर्दिवासको एक सभाहलमा करिब डेढसय सहभागीबिच लेखक खगेन्द्र संग्रौला ‘गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता’बारे एक घन्टाको सेसनमा खरो उत्रिए । प्रदेशका सांसद भरत साह सहित नगरपालिकाका मेयर, वडा अध्यक्ष, शिक्षक तथा बुद्धिजिवीले भरिएको हलमा उनले प्रश्न गरे, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि के साँच्चै संकट पैदा भएको हो ?’ सहभागीलाई प्रश्न गर्दै उनले देशका मुख्य तीन नेताका तीन भनाइलाई उद्धृत गर्दै आफ्ना भनाइ राखे । उनले भने, ‘गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा देखिएका संकटका लक्षणहरु अनगिन्ति छन् ।’ 

अर्का प्रस्तोता विश्लेषक उज्ज्वल प्रसाईंले समृद्धिबारे विचारोत्तेज प्रस्तुति दिए । उनको पनि प्रश्न थियो, ‘अहिले चलेको संमृृद्धिको हल्लाले नेपालीलाई यान्त्रिक उपभोक्तामा परिणत त गरिरहेको छैन? समकालीन साहित्यमा महिला उपस्थितिबारे साहित्यकार सीता शर्माले अर्को सेसनमा मन्तव्य राखिन् । उनले महिला हस्ताक्षर हिजोको तुलनामा बढेको प्रस्ट्याइन् । त्यस्तै ‘मधेस र साहित्य’ विषयमा कवि रोशन जनकपुरीले महत्वपूर्ण विचार राखे । 

कार्यक्रमको अन्त्यमा स्थानीय तहमा प्रज्ञा प्रतिष्ठानको आवश्यकता र सम्भाव्यताबारे कथाकार इस्मालीले विचार राखे । उनले स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने विषयले सुखी तुल्याएको बताए । उनले भने, ‘स्थानीय तहमा साहित्य, कला र संस्कृतिको विकासलागि संस्था गठन हुनु राम्रो हो ।’ दुई दिने उत्सवको अन्त्यमा ६ बुँदे बर्दिवास घोषणापत्र समेत जारी गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष मदन प्रभातले बर्दिवासमा साहित्यिक माहौल बढाउन उत्सव आयोजना गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.