दलितसँग भाग्य हेराउन भीड

दलितसँग भाग्य हेराउन भीड

 जाजरकोट : भेरी नगरपालिका–४ रानागाउँका दलवीर लुहार कथित तल्लो जात भनिने दलित समुदायका मानिस हुन् । उनी दशक अघिसम्म कुनै गैरदलितको घर र मन्दिर पस्न पाउँदैनथे । उनले छोएको पानी र खाना गैरदलितले खाने कुरा त झन् कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो । तर, अहिले अवस्था फेरिएको छ । दलवीरलाई छोइछिटो गर्ने गैरदलित अहिले उनीसँग दैवीशक्ति प्रकट भएको भन्दै भाग्य हेराउन आउँछन् । केही सामान हरायो वा घरमा केही बिघ्नबाधा भयो भने के भएको हो प्रभु भन्दै भविष्यवाणी गराउन उनको घरमा भीड लाग्ने गरेको छ । पहिले दलवीर गैरदलितको घर पुग्दा बाहिर पिँढीछेउ बस्नुपथ्र्याे तर अहिले गैरदलित दलवीरको घरमा पुगे भने उनको बस्ने (आसन) नछोएर अलि पर बस्छन् ।

दलवीरको घरमा पुग्ने गैरदलितको भीड र उनीहरूको दलवीर प्रभुप्रतिको विश्वास हेर्दा जाजरकोटमा जातीय छुवाछुत छ जस्तो कसैलाई लाग्दैन । कुशे गाउँपालिका–६ की तारा सिंहले भनिन्, ‘म ठकुरीकी छोरी हुँ तर आफूलाई समस्या परेको कुरा हेराउन यहाँ आएकी छु, यो घरमा आउँदा मलाई दलित र गैरदलितबीचको छुवाछुत गलत होजस्तो लागेको छ ।’ उनले यहाँ आउँदा कुनै छुवाछुत र भेदभावको अनुभूति नभएको बताइन् ।

बिहान उज्यालो नहुँदै एउटा सालको पात, थोरै नगद भेटी र अन्य सामग्रीको साथमा घरमा आउनेहरूको कुनै गणना छैन दलवीरसँग । व्यक्तिगत जीवनका समस्या, स्वास्थ्य अवस्था, बच्चा नभएको समस्या, भाग्य, भविष्य, पढाइ लेखाइदेखि दाम्पत्य जीवन र पारिवारिक सुख–दुःखका हरेक कुराको भविष्यवाणी सोध्न गैरदलित दलवीरको घरमा पुग्छन् ।’ टाढाबाट आएका आगन्तुकलाई खाना पकाएर खुवाउनुका साथै उनीहरूका लागि घरमै बास वस्ने व्यवस्था पनि गरेका छन् दलवीरले ।

जातीय छुवाछुतको प्रभाव रहेको जाजरकोटमा आउने कोही पनि दलवीरको घरमा पुगेपछि जातीय छुवाछुत पूरै भुल्न पुग्छन् । यति मात्र होइन, दलवीरका जेठा छोरा बलवीर विकले ठकुरीकी छोरीसँग विवाह गरेपछि छुवाछुतविरुद्ध लाग्न सहयोग पुगेको स्थानीय बताउँछन् ।

छेडागाड नगरपालिका–१२ की सीता सिंहसँग प्रेम विवाह गरेका दलवीरका छोरा बलवहादुरले गत वर्ष प्रेम विवाह गरेका हुन् । घरमा आफूसँग दलितभन्दा बढी गैरदलित नै हेराउन आउने गरेको दलवीरले बताए । उनले आफूसँग हेराउन आउनेमध्ये ठकुरी, ब्राह्मण क्षेत्रीको संख्या बढी रहेको बताए । १० वर्षदेखि प्रभु बनेर ज्योतिषीको काम गरिरहेका दलवीरले ४० हजारभन्दा बढी मानिस जोखना हेराउन आएको बताए । जिल्लाभित्र र बाहिरबाट आउने अधिकांश गैरदलित नै भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.