विद्यापतिको विद्वता
महाकवि विद्यापति (सन् १३५०-१४४८) को ख्याति चौधौं शताब्दीदेखि नै नेपाल उपत्यका र मिथिलाभूमिमा सीमित नरहेर बंगाल, उडिसालगायत भारतको पूर्वोत्तर प्रान्तमा गुञ्जित हँदै आइरहेको छ । उनी मैथिलीका प्रथम कवि त थिए नै, साथै संस्कृत उद्गम भएका सम्पूर्ण भारोपेली भाषासाहित्यका पनि आदि कवि थिए । उनीभन्दा अघि जति पनि साहित्य लेखिन्थे, ती सबै संस्कृत भाषामा लेखिने गर्थे । त्यो सांस्कृतिक सामाजिक परिवेशमा उनले जनभाषामा काव्य-रचना गर्दा ठूलै साहस गरेको थिए भन्ने अनुमान हुन्छ ।
बहुमुखी प्रतिभाका धनी
विद्यापतिको व्यक्तित्व कति फराकिलो थियो भन्ने कुरा उनका रचना र शोधकर्ता विद्वान्हरूको मूल्यांकनबाट थाहा हुन्छ । विद्यापति बहुमुखी प्रतिभाका धनी उनका काव्यरचना एउटै विधा र विषयमा सीमित थिएन, उनकोे ज्ञानको सीमा फराकिलो थियो भन्ने कुरा उनका प्रकासित रचना साक्षी छन् ।
विद्यापतिले संस्कृत, अबहट्ठ (मैथिलीको अपभ्रंश) भाषामा १५ ओटा ग्रन्थकृति लेखेको पाइन्छ । उनका इतिहास, भूगोल, सामाजिक व्यवहार, धार्मिककृत्य जस्ता अनेक विषयमा छुट्टाछुट्टै ग्रन्थ छन् । उनले सात सय भन्दा बढी पदावली (गीति पद्य ) मैथिली भाषामा नै रचना गरे । यसैबाट उनको ख्याति चौतर्फी फिँजियो । शृंगार, भक्ति र व्यवहार गरी उनका सम्पूर्ण पदावलिलाई तीन समूहमा विभाजन गर्न सकिन्छ । उनको काव्यिक प्रतिभा शृंगार रसात्मक गीतमा खुल्छन् । त्यसैले, उनलाई शृंगार रसका रससिद्ध कविको रूपमा स्थान दिइएको छ ।
भक्तिसम्बन्धी उनका केही पदहरू छन्, जसमा भगवान् शिव र गंगा आदि देवी देवताको अभ्यर्थना गरिएको छ । यस कोटिका गीतमा राधाकृष्णको आध्यात्मिक र लौकिक दुवै रूपले सौन्दर्यपूर्ण चित्रण गरिएको छ । उनका व्यवहारसम्बन्धी पदहरूमा विवाह, द्विरागमन आदि संस्कार गीतहरूबाट आरम्भ गरेर जन्म, छठिहार, मुण्डन, उपनयनलगायत संस्कारका व्यवहार उपयोगी पदहरू छन् । प्रत्येक धार्मिक र सामाजिक संस्कारमा विद्यापतिका सान्दर्भिक गीत गाउने प्रचलन आज पनि मिथिला समाजमा कायम नै छ ।
विद्यापतिले आफ्नोे काव्यिक रचना गर्दा विषय सुहाउँदो रस र उपयुक्त भाषाको चयन गरेका छन् । जस्तै, वीररसको लागि अवहट्ट भाषालाई रोजे भने भक्ति र शृंगार गीतको लागि मैथिली । अध्यात्म वा शास्त्रजन्य व्यवहारको लागि र राजा वा राजपरिवारको सदस्यको विरुदावलीको लागि संस्कृत रोजेका छन् । जुनसुकै भाषाको सफल साहित्य त्यस भाषालाई प्रयोग गर्ने समाजको वास्तविक इतिहास हुने गर्छ । विद्यापतिका साहित्यले त्यस भनाइलाई शतप्रतिशत प्रमाणित गर्छन् । यसै पनि उनी केवल कवि मात्र थिएनन् । उनी काव्यकार बाहेक भूगोलवेत्ता, इतिहासकार, राजनीतिज्ञ, कर्मकाण्डीका सँगै एक समाज-सुधारक पनि थिए भन्ने कुरा उनका ग्रन्थहरूबाट पुष्टि हुन्छ । उनी दरवारमा रहे पनि दरबारमा लिप्त थिएनन् । उनी गरिब, धनी, ऊच-नीच सबैप्रति समान दृष्टि राख्थे भन्ने कुरा उनका काव्यकृतिहरूबाट थाहा हुन्छ ।
विद्यापतिले मैथिली भाषा-साहित्यलाई उचाइमा पुर्याए । विद्यापतिलाई भारोपेली जनभाषा साहित्यको समृद्धि र मान बढाएकोमा मिथिलाको मात्र होइन, सम्पूर्ण नेपालको शिर उच्च पारेको श्रेय जान्छ ।
तत्कालीन समाजमा नारीको स्थान के कस्तो थियो ? नारीको प्रेम र विवाह, बालविवाह, बहुविवाहजस्ता विषय उनका काव्यले समेटेका छन् । त्यस्तै आमा, सासू, स्त्रीधन, सतीप्रथा, कुटुनीको स्थान, वेश्याको सामाजिक स्थिति, नारीको शृंगार प्रसाधनजस्ता व्यक्तिगत एवं सामाजिक जीवन उनका काव्यबाट बुझ्न सकिन्छ । त्यससँगै मिथिलाको आर्थिक स्थिति, खान-पान, भेषभूषा, धार्मिक स्थिति पनि ज्ञात हुन्छ ।
मानव-धर्मका पक्षपाती
विद्यापतिको काव्य रचनामा उनी कतै वैष्णव भक्ति त कतै शैवमार्गतिर उन्मुख भएको देखिन्छ । तर, उनको काव्यले मनुष्यकोे मानसिक धरातल माथि उठाउन मद्दत गर्छ र भविष्यप्रति आशा जगाउँछ । उनलाई विश्व मानव-धर्मका पक्षपाती रहेको देख्न सकिन्छ । उनको शिव र पार्वती हाम्रै गाउँघरका मध्यमस्तरका गृहस्थ हुन्छन्, कृषिकर्म गर्छन् । भक्तिरसका पदहरूमा उनको राधा-कृष्ण अलौकिक रूपमा आए पनि शृंगारिक पदहरूमा राधा-कृष्ण हाम्रै ग्रामीण जीवनका जीवन्त पात्र छन् । राधा र कृष्णको प्रेम लौकिक छ, जुन प्रकृति-तवको धर्म हो । यो मिथिला क्षेत्रमा सीमित नरहेर सम्पूर्ण दक्षिण एसियाकै सांस्कृतिक र सामाजिक जीवनको अंग बनेको छ । यसलाई कुनै जाति वा धर्मको घेरामा सीमित गर्न सकिँदैन । उनका ती पद्यहरूलाई वैष्णव भक्तिको सीमित घेरामा राखियो भने उनको व्यक्तित्वप्रति न्याय नहुन सक्छ ।
हाम्रै गाउँघरका सामान्य पति पत्नी विद्यापतिको काव्यमा राधा र कृष्णको रूपमा प्रस्तुत भएका छन् । महाकवि विद्यापति आफ्ना पदावलीमा तात्कालिक समाजमा विद्यमान अप्रासंगिक बनिसकेका रुढी, सामाजिक विसंगतिप्रति आक्रोश पोख्छन्, व्यंंग्य गर्छन् ।
पिया मोरा बालक हम तरुनी
कोन तप चुकलौंह भेलौंह जननी ।
पहिरलेल सखी एक दखिनक चीर
पियाके देखैत मोर दगध शरीर ।
पिया लेली गोदकै चलली बजार
हटियाके लोग पूछे के लागू तोहार ।
नही मोरा देवर ई नही छोट भाइ
पूरव लिखल छल बालमु हमार ।
(साभारः कृष्णप्रसाद उपाध्याय)
प्रस्तुत गीतमा बेमेल विवाहको विसंगतिलाई विनोदी शैलीमा व्यंग्य गरिएको छ । यससँगै नायिकाको उद्दात्त यौवनजनित प्रकृत चाहनाको उच्छ्वास पनि छ । यहाँ नारी मूल्यकोे सामाजिक स्खलनलाई सटिक र सुन्दर ढंगले अभिव्यक्त भएको छ र विरहको चित्र पनि स्वस्थ रूपमा आएको छ । नायिका आफ्नी सखीसँग आन्तरिक वेदना पोख्छे, पति मेरा बालक, म छु तरुनी । पहिरिएँ एक दक्खिनको वस्त्र । तर दुलहालाई देखेर शरीर मेरो दग्ध भयो । पतिलाई काखमा बोकेर गएँ बजार । हाटका जनहरू सोध्छन्, यिनी तिम्रा को हुन् ? यी पूर्वजन्मको कर्मले होला मेरा पति हुन् । बाटो हिँडने यात्री तिमी पनि मेरा भाइ भयौ ! बरु मेरो माइतीलाई सम्चार के लगिदेऊ भने एक दुधालु गाई किनी दिनु, त्यसको दूध ख्वाएर ज्वाईंलाई पाल्नु होला । भनिदिनु बाबालाई मसँग रुपैयाँ पैसा छैन र गाई पनि छैन, कसरी पालुँला ज्वाईँ ?
संस्कृतमा अपरूप कुरूपको अर्थबोधक शब्द हो । तर विद्यापति सौन्दर्यलाई अपूर्वको अर्थमा अपरूप भन्थे । जुन सौन्दर्यले मनलाई पुलकित गर्दछ, प्राणमा शक्ति र शरीरमा रोमाञ्च भर्दछ, त्यो सौन्दर्य अपरूप हो । यस सौन्दर्यको खास विशेषता प्रत्येक क्षण नूतनता देखिनु हो । तलको पदांश अपरूपको एउटा सुन्दर उदाहरण हो । नायिका भन्छे हे सखी मैले कति जन्मसम्म तिम्रो रूप नियाली रहेँ तर आँखा तृप्त भएनन् ।
सखी कि पुछसी अनुभव मोए
से हो पिरित अनुराग बखानिए
तिल तिल नूतन होए
जनम अवधि हम रूप निहारल
नयन न तिरपित भेल....(प्रा. शिवप्रसाद सिंह, विद्यापति)
प्रियतमलाई आफ्नो बनाउन सफल भएपछि नायिकालाई प्रणयभावनामा एक विशेष प्रकारको आत्मविश्वास उत्पन्न हुन जान्छ । यस्तोमा सखीहरू अत्यन्त उत्सुक भएर यसको कारण जान्न खोज्छन् । विद्यापतिकी राधा आफ्नो कामकला विदग्धताको बखान गर्दा नायक कृष्णलाई गवाँर र अनभिज्ञ बताउँछे । जसरी बाँदरको कण्ठमा मोतीको माला र मुखमा पान सुहाउँदैन । त्यसैगरी कृष्णलाई कामकलाको ज्ञान छैन भन्छे । यहाँ कवि एक प्रबुद्ध कामशास्त्रीको रूपमा प्रस्तुत भएका छन् ।
जे किछु कभु नही कला रस जान
नीर खीर दुहु करए समान
तन्ही सों कहाँ पिरित रसाल
बानर कण्ठ कि मोतीय माल
भनही विद्यापति इह रसजाने
बानर मुँह कि सोभय पान ।
साहित्यको मर्यादा र त्यस्को सीमा मनुष्यमा रहने केही शाश्वत् वृत्तिबाहेक युगअनुसार अलगअलग रहेको पाइन्छ । आजको मान्यताले हेर्दा जयदेव रचित गीत-गोविन्द, ब्रह्मबैवर्त पुराण आदिमा राधा-कृष्णको काम-क्रीडालाई जसरी चित्रण गरिएको छ, त्यसमा अश्लीलताको आक्षेप लगाउने ठाउँ छ । तर विद्यापतिकी नायिका राधा त्यो रतिरागलाई अत्यन्त शिष्ट भाषामा पोख्छे ।
हँसी हँसी पहु आलिंगन देल
मनमथ अंकुर कुसमित भेल
जब निविबन्ध खसाओल कान
तोहर शपथ हम किछु नहीँ जान ।
( डा. विमान बिहारी मजुमदार सम्पादित, विद्यापति)
साहित्यमा गोपीकृष्णको शृंगारिक क्रीडाकोे संकेत सर्वप्रथम पहिलो शताब्दीका बौद्ध विद्वान् भिक्षु अश्वघोषको बुद्ध-चरित्रमा पाइन्छ । पुराणहरूको रचना कालको विभेदले केहीपछिका पुराणमा कृष्ण र गोपीहरूसँगै राधा आउँछिन् । कृष्ण वस्तुतः अनुरागको देवता हुन् । उनको व्यक्तित्व समाजको रुढीहरूलाई भंग गर्ने युगचेत भएका नायकको छ । त्यसैले उनको चरित्रलाई रुढीग्रस्त सोचले हेर्न मिल्दैन । विद्यापतिको काव्यमा अस्वस्थ र अनैतिक वर्णन पनि पाइन्छ । रतिको बीभत्स वर्णन प्रसंगलाई स्वस्थ प्रवृत्तिको मान्न सकिँदैन ।
विद्यापतिको नेपाल सम्बन्ध
विद्यापतिको नेपालसँग धेरै किसिमले साइनो जोडिएको छ । तत्कालीन तिरहुत ठकुराईलाई मुसलमान शासकले आफ्नो अधीनमा लिएपछि राजा शिव सिंंहलाई बन्दी बनाएर दिल्ली पुर्यायो । विद्यापतिले शिवसिंहकी रानीसहित उनका परिवार एवं सेवकहरूलाई आफ्नो संरक्षणमा राखेर सुरुमा अहिलेको सिरहा जिल्ला र पछि जनकपुर समीपको राजबनौली गाउँमा १२ वर्षभन्दा बढी समय बिताएका थिए । त्यस अवधिमा उनी पटक पटक नेपाल उपत्यकामा आएर लामो समय बसेको हुनुपर्छ । सन् १३२४÷२५ तिर मुसलमान शासकको आक्रमण र लुटपाटबाट सिमरौनगढको पतन भयो । त्यहाँबाट विस्थापित हुनेहरूमा एकथरी अहिलेको बिहारको दरभंगा र मधुवनीको आसपास वागमती र कमला नदीको दोआवमा गएर बसोबास गर्न थाले । अर्को समूह राजा हरिसिंह देवको नेतृत्वमा पलायन भएर नेपाल प्रवेश गरेका थिए । उनका साथमा आउने परिवारजन, भाइभारदार, अन्य स्वजन र सेवकहरू थिए । त्यसै समूहमा विद्यापतिका बाजे पुस्ताहरू पनि थिए । प्रखर शास्त्रकार एवं हरिसिंह देवका मन्त्री चण्डेश्वर ठाकुर पनि आएका थिए । नातामा विद्यापतिका उनी काकाबाजे थिए । विद्यापति जनकपुरको राजबनौलीमा रहँदा उनी आफ्ना स्वजन र बन्धु-बान्धवहरूलाई भेट गर्न काठमाडौं आउजाउ गर्नु अस्वाभाविक थिएन । उनी उच्चकोटीका विद्वान् र कवि भएकाले पनि नेपालको राजदरबारमा पहुँच रहेको हुनुपर्छ । यस कुरालाई पुष्टि गर्ने विद्यापतिका ग्रन्थमा निकै संकेतहरू पाइन्छ, जसको छोटो विवरण यहाँ राखिन्छ ।
विद्यापतिका पदावलीहरूको उपलब्धताको मूलस्रोत जम्मा दुई वा तीनओटा मात्र रहेको यकिन गरिएको छ । त्यसमध्ये एउटा भरपर्दो स्रोत नेपालकोे राष्ट्रिय अभिलेखालय हो । विद्यापतिसम्बन्धी अध्ययनका आधिकारिक भारतीय विद्वान्हरू, यथा चन्दा झा (चन्द्रनाथ झा, जन्म ई.१८३१-? ), हरप्रसाद शास्त्री ( ई.१८५३-१९३१), डा. श्रीउमेश मि श्र (ई.१८९५-१९६७) , नगेन्द्रनाथ गुप्त (ई.१८६२-१९४०) लगायतले यस कुराको पुष्टि गरेका छन् ।
प्राचीन मिथिला लिपिका हस्तलिखित तालपत्रमा विद्यापतिलिखित २८७ पदहरूको संग्रहको एकमात्र प्रति नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । यो गीतिसंग्रह विद्यापतिले नेपाल उपत्यकामा रहँदा नै लेखेको हुनुपर्छ भन्ने अनुमान गर्न कठिन छैन ।
विद्यापतिले दुइटा नाटक लेखेको देखिन्छ । त्यसमध्ये ‘गोरक्ष विजय’ नाटकको तालपत्रमा लेखिएको हस्तलिखित पाण्डुलिपिको एकमात्र प्रति पनि नेपालकै अभिलेखालयमा संग्रहित छ, अन्यत्र पाइएको छैन । भारतका इतिहासज्ञ हरप्रसाद (भट्टाचार्य) शास्त्री (सन् १८५३-१९३१) ले तत्कालीन वीर पुस्तकालयमा यस नाटकको हस्तलिखितप्रति प्राप्त गरेका थिए । त्यसको कथानक नाथ सम्प्रदायका आदि गुरु मत्स्येन्द्रनाथसँग सम्बन्धित छ । नेपालमा लामो समयसम्म मनाइने रातो मच्छेन्द्रनाथको ‘जात्रा’ हो । संस्कृत र मैथिली भाषामा लेखिएको यो अप्रकाशित नाटकमा समावेश गरिएका गीतहरू मैथिलीमा लेखिएका छन् । हिन्दु धर्मको नाथ सम्प्रदायका आदि गुरु मत्स्येन्द्रनाथ भगवान शंकरका अवतार मानिन्छन् । बौद्धहरूका लागि अवलोकितेश्वरको रूपमा पूज्य छन् । नेपालबासी मत्स्येन्द्रनाथ गोरखनाथका गुरु थिए । एक समय उनी तीर्थाटन गर्न कामरूप गएका थिए । त्यहाँ उनी भोगविलासमा मग्न भएपछि गोरखनाथले शिष्यहरू पठाएर नेपालमै फर्काएर ल्याएपछि यहाँ मत्स्येन्द्रनाथको ‘जात्राको’ चलन बसेको जन श्रुति छ । उत्तर लिच्छविकालदेखि प्रचलित लामो समयसम्म चल्ने यो ‘जात्रा’ नेपालको सांस्कृतिक परम्पराको मूर्त धरोहर हो, जुन अन्यत्र कुनै भूमिमा देखिँदैन । विद्यापतिले काठमाडौंको कुनै लामै बसाइमा मत्स्येन्द्रनाथको रथयात्रा देखेका हुनुपर्छ । उनले तिनै देवताकोे प्रभाव र गरिमालाई देखेर मुग्ध भई त्यसैलाई कथानक बनाएर गोरक्ष विजय नाटक लेखेका थिए भनेर निष्कर्षमा पुग्नु अस्वाभाविक होइन ।
विद्यापतिको कवित्वको प्रभाव उपत्यकाको धार्मिक र सांस्कृतिक जीवनमा पनि परेको देखिन्छ । उनले रचना गरेका भजनहरू मल्लकालदेखि आजसम्म पनि काठमाडौं उपत्यकाका तीन सहरभित्रका देवमन्दिर र भजनपाटीहरूमा गाइन्छ । चाबहिल गणेशस्थानको भजनमण्डलीको संग्रहबाट उतार गरिएको भगवान् शिवको नृत्यसम्बन्धी भजन यहाँ दृष्टान्तमा राखिन्छ ।
बुधवा रंगीया भंगीया भोला ।।
चन्दन तिलक सोहे माथे हि डोलाय ।।
बाजेलागि डमरु रिमिकी दिमिकिया
नाचे लागी बुध्वा उँमकि उँमकिया....
भनहेँ विद्यापति शिवजीकी लीला ।
जगत् पतिके लीला ।।
काठमाडौं उपत्यकाका देवमन्दिर र भजनगृहमा नेवार समुदायले गाउने भजनहरूमा विद्यापतिका थुप्रै भजनहरू तिनका आआफ्नै संग्रहमा पाइन्छ । भारतीय विद्वान् नगेन्द्रनाथ गुप्त (ई.१८६२-१९४०)ले विद्यापतिका प्राप्त भए जति सात सयभन्दा अधिक पदावली संग्रह प्रकाशित गरेका थिए । उक्त संग्रह पंक्तिकारले प्राप्त नगरेकोले त्यसमा यहाँका देवमन्दिरमा गाउने विद्यापतिका पदहरू संग्रृहीत छन् कि छैनन् यकिन गर्न सकेन ।
विद्यापति रचित अबहट्ठमा लेखिएको विद्यापतिको अर्को ग्रन्थ कीर्तिलता हो । तालपत्रमा तिरहुत लिपिमा हस्तलिखित एकमात्र यो पाण्डुलिपि पनि राष्ट्रिय अभिलेखालयमा संग्रृहीत छ । भारतमा प्रकाशित प्रायः सबै संस्करणको मूल आधार यही पाण्डुलिपि हो (डा. विमान बिहारी मजुमदार, विद्यापति) । महाकविको अर्को ग्रन्थ कीर्तिपताकाको हस्तलिखित पाण्डुलिपि पनि नेपालमै प्राप्त भएको हो । यहीँबाट डा. काशीप्रसाद जयसवाल (ई.१८८१-१९३७) ले पाण्डुलिपि उतार गरेर पटना म्युजियममा जम्मा गराएका थिए । पछि डा. श्रीउमेश मि श्रले नेपालकै मूलप्रतिबाट छायाप्रति उतार गरेर त्यसलाई प्रकाशित गराए ।
विद्यापतिको समय भारत वर्षमा विदेशीको पटकपटकको आक्रमणबाट प्रताडित भएर ह्रासोन्मुख सामन्ती युग थियो । यहाँको शासन-सत्ता नष्ट भ्रष्ट हुनुका साथै सामाजिक र सांस्कृतिक जीवनमा पनि परिवर्तन आयो । मुसलमानी शासकको कारणबाट आएको यो परिवर्तनले आफ्नो सांस्कृतिक र सामाजिक मौलिकता जोगाउन तत्कालीन समाज आत्मरक्षाको अवस्थामा पुग्न गयो । यसले गर्दा मानवीय मूल्य र नारीको सामाजिक अवस्था पनि ह्रासोन्मुख हुने नै भयो । जातपात र वर्ण व्यवस्थाको थितिमा कट्टरता बढ्न गयो । यस्तो नैराश्य र कुण्ठाको सामाजिक जीवनमा मिथिलाको साहित्याकाशमा महाकवि विद्यापतिको अभ्युदय एउटा आशाको दीप बनेको थियो ।
हुन त ईशाको १५ देखि १७ शताब्दीको ऐतिहासिक कालखण्डमा साहित्य र भक्ति आन्दोलनलाई माध्यम बनाएर समाज सुधारको आन्दोलनमा लागेका सन्त कविहरूको ठूलै संख्या देखिएको थियो । बंगभूमिका चण्डिदास, काशीका कवीर, तुलसी, गुजरातका नरसिं मेहता त्यस्तै रसखान, रहिम, नामदेव, मीरा, पछि नेपालमा भानुभक्त आदि सन्त कविहरू एकपछि अर्को गरी प्रादुर्भाव भएका थिए । । तर त्यस आन्दोलनका पे्ररणाका स्रोत विद्यापति नै थिए ।
विद्यापतिको काव्यिक व्यक्तित्वमा परस्पर विरोधी विचारधाराको प्रभाव रहेको देखिन्छ । उनी सामन्तीय दरबारी कविहरूको परम्परामा रहे पनि लोकजीवनप्रति पूर्ण सचेत थिए । उनले संस्कृतमा काव्य रचना गरेका थिए तर उनको रसबस भने लोकभाषा मैथिली र अबहट्ठमा थियो ।
सक्कय बानी बहुजन भवइ पाअऊँ रस को मम्म न पाबइ ।
देसिल बयना रस जन मिठ्ठा, तेँ तैसन जम्पञो अबहट्ठा ।। (कीर्तिलता)
यस कवितामा उनले आफ्नो भाषालाई नै सबैले प्रिय मान्छन् । तेसैले अबहट्ठ भाषालाई यस ग्रन्थको लागि रोज्न पुगेँ भनी उद्घोष गरे । जनभाषाप्रति उनको यही अभिव्यक्तिले उनलाई जनजनको प्रिय बनायो ।
विद्यापतिको व्यक्तित्वमा त्यस युगको विभिन्न प्रकारको देशी विदेशी सांस्कृतिक विचारधारा संघर्षरत थिए भन्ने देखिन्छ । यस अर्थमा उनी संक्रमण कालका प्रतिनिधि कवि हुन् । उनी दरबारिया भए पनि जनकवि थिए, शृंगारिक भए पनि भक्तिका कवि थिए । उनी काव्यमा शैव शाक्त वैष्णव भए पनि कुनै एउटा पन्थ वा सम्प्रदायमा बाँधिएका थिएनन् । उनका राधा कृष्ण कुनै एक जाति वा देशका होइनन् । न त प्रेम कुनै भौगोलिक सीमाभित्र आबद्ध रहन सक्छ । उनी बृहत् मानव-धर्मका पक्षधर थिए ।
नेपालको पूर्व मध्यकाल अर्थात् दशौंदेखि चौधौ शताब्दीको इतिहास त्यति स्पष्ट छैन । त्यस कालको मिथिला क्षेत्रको इतिहास पनि सिलसिलाबद्ध पाइँदैन । काठमाडौं उपत्यका र त्यस छेउछाउका क्षेत्रमा छरिएर रहेका शिलालेख, ताम्रपत्र आदि अभिलेख खोजी गरेर इतिहास लेखन धेरथोर हुन पाएको छ । त्यो पृष्ठभूमिमा विद्यापतिका ग्रन्थ र उनका गीति-काव्यको परिशीलनले त्यस कालको सामाजिक, सांस्कृतिक र अरू विविध पक्षकोे वास्तविक इतिहासको निर्माण गर्न सकिन्छ ।
विद्यापतिसम्बन्धी जति अध्ययन भएका छन्, ती सबै भारतीय विद्वान्हरूबाट नै भएका छन् । अझै त्यसलाई पर्याप्त भन्ने अवस्था छैन । विद्यापति र त्यस कालकोे इतिहासका स्रोतसामग्री राष्ट्रिय अभिलेखालयमा यथेष्ट मात्रामा छन् । व्यक्तिगत संग्रह पनि उपत्यकामा उपलब्ध हुने सम्भावना पनि उत्तिकै छ । त्यसतिरको खोजीनीतिमा नेपालका विद्वान्हरूको आवश्यक ध्यान जानुपथ्र्यो, जुन भएको छैन ।
जनकपुरका प्रा. कृष्णप्रसाद उपाध्याय (आचार्य) ले विद्यापतिसम्बन्धी खोजमूलक सामग्रीसहित पदावलीको मूल मैथिलीसँगै नेपालीमा पद्यानुवाद गरेका थिए, जसको प्रकाशन तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०२९ सालमा गरेको थियो । त्यसपछि नयाँ कुनै संस्करण अहिलेसम्म प्रकाशित भएको छैन, बजारमा वर्षौं अघिदेखि अप्राप्य छ । नेपाल प्रज्ञा प्रतिष्ठानले अग्रसरता लिएर उक्त ग्रन्थ आफैंले प्रकाशन गर्दा ती महाकविप्रति र दिवंगत लेखकप्रति पनि सम्मान हुने र अन्ततः त्यो देशप्रति नै सम्मान गरेको ठहरिनेछ ।ं
विद्यापतिले मैथिली भाषा साहित्यलाई उचाइमा त पुर्याए नै । साथै, उनलाई भारोपेली जनभाषा साहित्यको समृद्धि र मान बढाएकोमा मिथिलाको मात्र होइन, सम्पूर्ण नेपालको शिर उच्च पारेको श्रेय जान्छ, उनी धन्य छन् ।