बस्तीमै पस्न थाल्यो चितुवा

बस्तीमै पस्न थाल्यो चितुवा

बागलुङ  :  आहाराको कमीले चितुवा गाउँ बस्तीमै पस्न थालेका छन्। तीव्र मानवीय चाप, वन अतिक्रमण र मिचाहा झारले बासस्थानमा समेत असर पर्न थाले पछि चितुवा वन छोडेर गाउँ बस्तीमै पस्न थालेको हो।

जसका कारण मानिस माथि आक्रमणको जोखिम बढ्दै गएको जिल्ला वन कार्यालय बागलुङका प्रमुख विशाल घिमिरेले बताए। जिल्लाका विभिन्न स्थानमा चितुवा गाउँ घरमै पसेर कुखुरा, भेडा, बाख्रामाथि आक्रमण गरेर खाइदिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। भकुण्डे, तित्याङ, सिगाना, बागलुङ बजारकै आसपासका क्षेत्रमा समेत चितुवा आतंक बढेको छ। ‘पछिल्लो समय हामीले गाउँले भाषामा ‘बाघ’ भनिँदै आएको चितुवालाई आहाराको कमी भएको पाइएको छ’, उनले भने, ‘वनमा आहाराको कमी भएपछि गाउँ घर आउने, घरपालुवा जनवार, पशुपक्षी र मानिसलाई आक्रमण गर्ने दर बढेको छ।’ पर्याप्त आहाराको कमी हुँदा मानवीय जोखिमसमेत बढ्दै गएकाले यस विषयमा वनसम्बद्ध अधिकारी, संरक्षणविद् र सरोकारवाला सबै संवेदनशील बन्नुपर्ने उनले बताए।

केही साताअघि मात्र बागलुङ नगरपालिका १० भकुण्डेमा चितुवा मृत अवस्थामा फेला परेको थियो। स्थानीयले सडकछेउमै मृत अवस्थामा फेला पारेपछि जिल्ला वन कार्यालयमा खबर गरेका थिए। वन कार्यालयका कर्मचारीको टोली पुगेर पोस्टमार्टम गर्दा विष सेवनका कारण चितुवा मरेको पाइएको जिल्ला वन अधिकृत घिमिरेले बताए। ‘गाउँमै पटक पटक धेरैको पशुपक्षी खाइदिएर सताएकाले गाउँलेले आजित भएर मरेका पशुपक्षीमा विषादी राखिदिएका हाम्रो शंका छ’, उनले भने, ‘त्यही खाएकाले मरेको हुन सक्छ।’

अहिले घाँसे मैदान नहुँदा चितुवाको आहारा प्रजाति पनि घटेको छ। यस्तो अवस्थामा बाघको संख्या बढाउन र जोखिम न्यूनीकरण गर्न आहारा व्यवस्थापन र बासस्थान संरक्षण गर्नुपर्ने देखिएको छ। ‘बाघको आहारा वृद्धि गर्नु अहिले ठुलो चुनौती देखिएको छ’, ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले भने, ‘चोरी सिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती छ।’ बाघको आहारा हुने जनावरलगायतको वृद्धि र संरक्षणमा लाग्नु जरुरी रहेको उनले बताए।

बाघले आहारा गराउने जनावर भनेका चित्तल, लघुना, बँदेल, रतुवा, गौरीगाईलगायत हुन्। एउटा चितुवाले एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ। जुन उसलाई एक सातासम्मका लागि पुग्छ। ‘चितुवा बूढो भयो भने, बिरामी भयो भने वनमा सहज रूपमा सिकार गर्न सक्दैन र गाउँमा पस्छ’, आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘पोथी चितुवा आफ्ना बच्चालाई आहारा जुटाउन सकेन भने पनि त्यसको खोजीमा नजिकैको बस्ती पस्ने क्रम बढेको छ, त्यसैले मानवीय जोखिम घटाउन पनि आहाराको व्यवस्थापनका विकल्प र यसको बासस्थान जोगाई राख्न विशेष ध्यान दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.