‘अब फिरन्ते भएर जंगलमा डुल्दैनाै‌ं'

‘अब फिरन्ते भएर जंगलमा डुल्दैनाै‌ं'

दैलेख : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले स्थायी बासिन्दाको सरकारी प्रमाण लिएका छन् । कुनै बेला पैसा छुँदा पाप लाग्छ भन्ने र हालसम्म कुनै पनि सरकारी परिचयपत्र नलिएका राउटेले सरकारले उपलब्ध गराएको स्थायी बासिन्दाको परिचयपत्र ग्रहण गरेका हुन् । दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई उनीहरूको पहिचान खुल्नेगरी स्थायी बासिन्दाको परिचयपत्र दिएको हो ।

जंगलमा फिरन्ते जीवन बिताउने र एकै स्थानमा बस्न नमान्ने राउटे समुदायले स्थायी बासिन्दाको प्रमाण पाएसँगै अब गुराँस गाउँपालिकामै स्थायी रूपमा बस्ने प्रतिबद्धता जनाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा शनिबार गुराँस गाउँपालिका–८ स्थित खर्चे खोला किनारमा बस्दै आएका राउटेलाई उनीहरूको पहिचान खुल्ने परिचयपत्र वितरण गरेको हो । पहिलो पटक सरकारी परिचयपत्र पाएपछि राउटे बस्तीमा खुसी छाएको छ । परिचयपत्र बुझेपछि राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘परिवर्तन विस्तारै हुन्छ, एकैपटक सम्भव हुँदैन । हामी बल्ल राज्यका जनता भयौं, सरकारले हामीलाई पहिलो पटक पहिचान हुनेगरी परिचयपत्र दियो ।’

हाल गुराँसमा ४२ घरका एक सय ४९ जना राउटे बस्दै आएका छन् । उनीहरू सबैलाई स्थायी ठेगाना, जन्ममिति र परिवारका सदस्य खुलाइएको परिचयपत्र बाँडिएको हो । राउटे मुखिया सूर्यनारायण शाहीले खुसी हुँदै भने, ‘अब हामी जंगलमा घुम्दैनौं, गुराँसमै स्थायी रूपमा बस्नेछौं । सरकारले पनि अब हामीलाई समयमै भत्ता देओस्, हाम्रो सबै व्यवस्था भए किन जंगलमा घुम्दै जाउँला र ? ’ विस्तारै राउटेलाई शिक्षा दिनेमा आफू तयार रहे पनि अहिल्यै हतार गर्न नहुने उनको भनाइ छ । राउटेलाई स्थायी बासिन्दाको परिचयपत्र बाँड्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीसहितको टोली पुगेको थियो ।

‘जंगलमा सिकार खेल्दै उमेर ढल्कियो, काठका सामान बनाउँदै टाउकोमा रौं पनि फुलिसक्यो’, राउटेका पूर्वमुखिया महिनबहादुर शाहीले भने, ‘अब त सिकार पनि पाउन छाड्यो, हातगोडा चल्न छाडे । यो सरकारी परिचयपत्र पाएपछि त केही सहयोग मिल्ला, सरकारले पनि जंगलमा रूख काट्न देला नि !’ परिचयपत्र ग्रहण गर्दै सरकारी टोलीसामु महिनबहादुरले थपे, ‘आजसम्म त जंगलमै बस्यौं, हामी राउटेको आफ्नै मुखिया र जनता छ । अब राज्यले परिचयपत्र दिएर सहयोग गर्छ भने हामी पनि राज्यकै जनता भयौं, सरकारले नै हाम्रो व्यवस्था गरोस् ।’ परिचयपत्र पाएपछि राउटेका अर्का मुखिया वीरबहादुर शाहीले अब सरकारले आफूहरूको पालनपोषण गर्ने विश्वास व्यक्त गरे ।

राउटेलाई विस्तारै राज्यको मूलधारमा ल्याउने प्रयासस्वरूप परिचयपत्र वितरण गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । उनले भने,‘राउटे रूपान्तरण हुँदै छन्, हामीले स्थायी बासिन्दाको प्रमाण दिएका छौं । अब उनीहरू हाम्रो गाउँपालिका छाडेर बाहिर जाने छैनन्, उनीहरूको निगरानी र शिक्षाका लागि तीन जना कर्मचारी पनि खटाएका छौं ।’ असुरक्षित बसोबास, खाद्यसंकट र उपचार नपाउँदा पछिल्लो समय राउटेको संख्या घट्दै गएको भन्दै अध्यक्ष वलीले अब उनीहरूको संरक्षणका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । परिचयपत्रले राउटेलाई राज्यको नागरिक भएको अनुभूति दिलाएको र अब सामाजिक सुरक्षा भत्ता वितरणमा पनि सहज हुने उनको दाबी छ ।

यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव शर्माले राउटेलाई प्रदेश सरकारले विस्तारै एकीकृत वस्ती बसाल्ने गरेको जानकारी दिइन् । दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानले राउटेमा परिवर्तनको संकेत देदिन थालेको बताए । उनले भने, ‘विस्तारै राउटेलाई शिक्षा दिन जरुरी छ, अब उनीहरूलाई नागरिकता उपलब्ध गराउनेतर्फ पनि हाम्रो पहल हुनेछ ।’ सरकारले राउटेलाई प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।


       

       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.