मुख्यमन्त्री पौडेल भन्छन्ः अतिथिलाई विदेशी माला र खादा होइन, स्वदेशकै एक थुँगा फूल
भरतपुरः प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रमको स्वरूप परिवर्तन गर्न आग्रह गरेका छन् । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्न चितवन आएका मुख्यमन्त्री पौडेलले सबै संस्थाको कार्यक्रमको ढाँचा पुरानै शैलीमा हुने गरेको भन्दै गुनासो गरे ।
पुरानै ढाँचामा कार्यक्रम गर्दा अमूल्य समय खेर गइरहेको बताउँदै उनले जस्तोसुकै कार्यक्रम पनि छोटो बनाउन आग्रह गरेका हुन् । ‘हामीले त्यत्तिकै समय खेर फाल्ने होइन, काम गर्ने हो,’ मुख्यमन्त्री पौडेलनले भने, ‘त्यसैले कुनै पनि औपचारिक कार्यक्रमलाई आशन ग्रहणमै धेरै समय खर्चिने काम नगरौँ ।’
मन्तव्यमा पनि सम्बोधन गर्नेतर्फ नलागी आफ्नो कुरा राखेर बिदा भए समय धेरै नजाने उनको भनाइ छ । कार्यक्रममा अतिथिलाई सम्मान गर्ने नाममा विदेशी माला भित्रिने क्रम बढ्दै गएको भन्दै यसको अन्त्य गरिनुपर्ने उनले बताए
‘हामी समान हैसियतका मान्छे धेरै छौँ,’ उनले भने, ‘त्यसैले मलाई माला लगाइदिँदैमा सम्मान ग¥यो भन्न मिल्दैन । बरू कसरी हुन्छ विदेशी फूल भित्रन रोक लगाऔँ । आयोजकले सम्मान नै गर्नुपर्छ भने यहीँको स्थानीय उत्पादनबाट एउटा थुँगा बनाएर दिए हुन्छ ।’
सम्मानको नाममा खादा लगाउने काम पनि पूर्णरूपमा बन्द गर्न उनले सुझाव दिए । ‘जुन वस्तुपछि प्रयोगमा आउँदैन, भने त्यस्ता वस्तुको प्रयोग गरेर कुनै फाइदा छैन,’ उनले भने ।
अब विकासको लहर
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रत्येक स्थानीय तहमा कम्तिमा पनि १५ शैया भएको अस्पताल बनाउने सरकारको योजना रहेको बताएका छन् । जनताको आवश्यकता अनुसार सबै स्थानीय तहमा अस्पताल सञ्चालन गर्न सरकारले नै योजना बनाएको उनले बताएका हुन् ।
‘समृद्ध सरकार बन्नको लागि सुखी नागरिक हुनु आवश्यक छ,’ उनले भने, ‘एउटा नेपाली सुखी हुन शिक्षा र स्वास्थ्यमा तन्दुरूस्त हुनु आवश्यक छ ।’ सुखी नेपाली र समृद्ध राजनीतिका लागि साउनदेखि नै विकासको कामलाई अभियानको रूपमा अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको उनले बताए ।
‘हामीले यो पाँच महिना प्रदेश सरकारको नीति नियम बनाएर समय खर्चिएका छौँ,’ उनले भने, ‘अबको समय पूर्णरूपमा विकासको योजनामा केन्द्रित हुने छ । जसको लागि हामीले अभियान नै चलाएका छौँ । साउनदेखि प्रदेशमा विकासको लहर चल्छ ।’