रातारात योजनाको भुक्तानी

रातारात योजनाको भुक्तानी

लहान : आर्थिक वर्ष २०७४÷७५ सकिए पनि सिरहाको नवराजपुर गाउँपालिकाले उपभोक्ता समितिलाई भुक्तानी दिइरहेको छ । गाउँपालिकाले सुरक्षाकर्मी परिचालन गरी भुक्तानी रकमबापतको चेक वितरण गरेको हो । गाउँपालिका कार्यालयमा अधिकृतको अनुमतिबिना प्रवेशसमेत निषेध गरिएको छ ।

गाउँपालिकामा सोमबार रातभर चेक वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष विश्वमोहन यादव र कार्यकारी अधिकृत ललन यादवले आफ्नो पकडका उपभोक्ता समितिलाई भुक्तानी दिन लागेको भन्दै सोमबार राति १० बजे वडा नम्बर १ का अध्यक्ष रामऔतार यादवले विरोध गरेका थिए । त्यसपछि केही बेर कामकाज अवरुद्ध भए पनि राति १२ बजेपछि पुनः चेक बाँड्ने काम भएको थियो।

आव २०७५÷७६ को पहिलो दिन मंगलबार पनि कागजात मिलाएर केही समितिलाई चेक बाँडेको एक वडाध्यक्षले बताए । ‘इन्जिनियर राजीव भन्ने राजाराम यादवले राति गएर दुई योजनाको नापजोख गरे’, उनले भने, ‘तर, अहिलेसम्म एउटै योजनाको भुक्तानी दिएका छैनन् ।’ गाउँ कार्यपालिकामा कांग्रेसको बहुमत रहेकाले ती पार्टीबाट निर्वाचित वडाका उपभोक्ता समितिलाई मात्र रातारात चेक बाँडेको आरोप उनले लगाए ।

गाउँपालिका अध्यक्ष यादवले मंगलबार कागजात मिलाउने काम भए पनि चेक बाँडेको विषयमा आफू जानकार नरहेको दाबी गरे । ‘म बाहिर छु । आज चेक बाँडेको हो कि होइन म कन्फर्म छैन’, उनले भने । कार्यकारी अधिकृत यादवले योजनाको भुक्तानी दिने काम भइरहेको स्वीकार गरे । अधिकांश उपभोक्ता समितिले भुक्तानी नपाएको गुनासो गरेका विषयमा उनले भने, ‘भुक्तानी सबैले पाउँछन्, भुक्तानी दिनु मेरो काम हो ।’

कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले अधिकांश स्थानीय तहले सोमबार नै हरहिसाब बुझाए पनि नवराजपुरले नयाँ आव सुरु भइसक्दा पनि नबुझाएको जानकारी दिए । ‘आर्थिक वर्ष २०७४÷७५ सकिएर बिहान अनिवार्य रूपमा हरहिसाब बुझाउनुपर्ने हो’, उनले भने, ‘तर, नवराजपुरले नबुझाएर गल्ती गरेको छ । हरहिसाब नबुझाएपछि अझै ब्याक डेटमा चेक काटिरहेको शंका गर्ने ठाउँ छ ।’

कतिपय उपभोक्ता समितिले विकास निर्माणमा ५० प्रतिशत पनि मूल्यांकन नभएको गुनासो गरेका छन् । नवराजपुर-१ (साबिक भगवतीपुर तामासुइया गाविस १ देखि ९ वडा)मा सडक मर्मतका लागि १५ लाख बजेट छुट्याइएको थियो । स्थानीय जयनाथ यादव उपभोक्ता समितिका अध्यक्ष बने । 

११ लाख खर्च गरिए पनि मूल्यांकन भने ८ लाख २५ हजारको मात्र भएको उनले बताए । इन्जिनियरलाई कमिसन नदिएपछि मूल्यांकन घटाएको उनको आरोप छ । थोरै मूल्यांकन गरे पनि मंगलबर साँझसम्म चेक नपाएको तर अधिकृत यादव्ले काम भइसकेको भन्ने गरेको उनले सुनाए ।

कांग्रेसले जितेको वडा नम्बर २, ४ र ५ का अधिकांश योजना अधुरै रहे पनि बजेटको ७० देखि ९५ प्रतिशतसम्म भुक्तानी दिएको जनाइएको छ । वडा नम्बर ४ मा मन्दिर मर्मतका लागि साढे ४ लाख बजेट रहेकोमा ४ हजार घटाएर भुक्तानी दिइएको एक कर्मचारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.