कारागारमा मृत्यु प्रकरण : पोस्टमार्टम नगरिँदा हत्या आशंका

कारागारमा मृत्यु प्रकरण : पोस्टमार्टम नगरिँदा हत्या आशंका

 इटहरी : इटहरीको जनता क्याम्पस र अर्को एउटा निजी विद्यालयको बस चलाउँथे इटहरी ५ का सञ्जु शेर्पा । उनकी श्रीमती लिलामाया राई ११ वर्ष इजरायल बसेर पाँच महिनाअघि मात्र नेपाल फर्किएकी थिइन् ।

लीलाकी दिदी टिकादेवी बस्नेत (राई) इटहरी वडा नं. ५ की निर्वाचित वडासदस्य हुन् । गत भदौमा उनको वडा कार्यालयमा जिल्ला अदालत सुनसरीको एउटा पत्र आयो । जसमा उनको ज्वाईँ सञ्जुको नाममा ४५ दिन जेल र दुई हजार रुपैया जरिवानाको सजाय थियो ।

उनले ज्वाईँसँग सोधखोज गरिन् । १६ वर्षको उमेरमा यातायात क्षेत्रमै काम गर्दा सञ्जुले प्रलोभनमा परेर लागुपदार्थ ओसारपसारको काम गरेका रहेछन् । सो क्रममा उनी पक्राउ परेर पछि तारेखमा रिहा भएका रहेछन् । ‘तारेख धाउन जिल्ला प्रशासन कार्यालय जाँदा तिमीले के आउनु पर्छ र, अब सकियो भनेर त्यहीँका कुनै प्रहरीले भनिदिएछन्,’ टिकाले भनिन्, ‘त्यसपछि ज्वाईँले तारेख धाउनै छाड्नुभएको रहेछ ।’

पत्र आएपछि वकिलसँग बुझ्दा जेल बस्नैपर्ने कुरा भयो । विद्यार्थी बस चलाउने सञ्जुलाई छटपटी सुरु भयो । ‘बस चलाउँदै गरेको बेलामा पुलिसले समात्यो भने त विद्यार्थीको अघि मुख देखाउनै गाह्रो हुन्छ,’ सञ्जुले आफूसँग गरेको कुरा सुनाउँदै टिकादेवीले भनिन्, ‘त्यसपछि सबैसँग सल्लाह गरेर वहाँ कैद भुक्तान गर्न जानुभयो ।’

विद्यालयको गर्मी विदाको समयमा कैद भुक्तान गरेर ढुक्क सँगले बाँकी जिन्दगी बिताउने उनको सपना थियो । त्यसैले गत असार २४ गते आइतबार उनी क्षेत्रीय कारागार झुम्का चलान भए । त्यसको चार दिनपछि उनलाई हेर्न टिकादेवी गइन् ।

‘तपाइको ज्वाईँ त राती राती गिलास खोज्नुहुन्छ भनेर चौकीदार, नाइकेहरुले सुनाएपछि बिरामी भएको शंकामा वहाँको उपचार गराउन मेरै करले झुम्काको मेडिकल लगेँ,’ टिकादेवीले भनिन् । त्यहाँ सञ्जुको अवस्था सामान्य देखाएको उनले सुनाइन् । ‘चेकअपपछि फर्किँदा नाना टाटा भन्दै हुनुहुन्थ्यो, मैले पनि लिला (सञ्जुकी श्रीमती) आउँछिन् है भनेर भनेको थेँ,’ उनले भनिन् ।

तर श्रीमतीसँग भेट हुनै नपाई सञ्जुको मृत्यु भयो । भोलिपल्ट बिहानै टिकादेवीलाई सञ्जुको मृत्युको फोन आयो । वीपी प्रतिष्ठानकै गार्डले आफन्तमार्फत् जानकारी दिए । ‘हिजोसम्म हात हल्लाएर बिदा भनेको मान्छेको लास मात्र थियो,’ टिकादेवीले भनिन् ।

कारागारबाट वीपी प्रतिष्ठान लगिएका सञ्जुको मृत्यु कसरी भयो, यसको चित्त बुझ्दो जवाफ कसैले दिन सकेन । यहाँसम्म कि कारागारले पनि सञ्जुको मृत्युको कारण पत्ता लगाउने कोसिस गरेन । पोष्टमार्टमजस्तो सामान्य प्रक्रिया पनि पुरा नगरेको बरु रक्सी खाएर मरेको होला भन्ने गैह्र जिम्मेवार जवाफ दिएको परिवारको गुनासो छ । त्यसमाथि सञ्जुको घाँटीमा निलडाम देखेपछि आफन्तहरुले पोष्टमार्टम नभइ लाश नबुझ्ने अडान लिए । श्रीमती लिलाले भनिन्, ‘तर परिवार भित्रका मानिस हामी हुँदा हुँदै अरु नै कसैलाई हस्ताक्षर गराएर लास शवगृह पठाइएछ ।’

पोष्टमार्टम गर्छुभन्दा प्रतिष्ठानले कारागारको चिठी मागेको तर कारागारले चिठी दिन आनाकानी गरेको परिवारको आरोप छ ।

भोलिपल्ट परिवारले उनको लास जलाउन इटहरीको पानीपिया ल्यायो । लुगा खोल्ने क्रममा झन् धेरै निलडामहरु देखेपछि परिवारले फोटो खिँचे । लास जलाइयो, तर आफन्तहरुको चित्त बुझेन । निलडामहरु देखिएपछि रातको समयमा उनीमाथि कुटपिट भएको अनुमान परिवारले गरे ।

कारागारबाट चित्तबुझ्दो जवाफ नपाएपछि परिवारले जिल्ला प्रशासन कार्यालयसँग छानविनको माग गरेको छ । उच्चस्तरीय छानविन आयोग बनाउन परिवारले माग गरेको छ । अघिल्लो दिन सद्धे मानिस भोलिपल्ट बिहानै मृत्यु हुनु, शरीरभरी निलडाम देखिनु, प्रतिष्ठान लाने बेलामा वा लगिएपछि पनि कारागारले परिवारलाई थाहा नदिनु, अरुतिरैबाट थाहा पाउनु र परिवारले पोष्टमार्टम गर्छु भन्दा कारागारले वेवास्ता गर्नुले शेर्पाको सहज मृत्यु भएको कुरामा आशंका गर्ने ठाउँ छ ।

तर यता कारागार प्रशासनले भने रक्सी र लागुपदार्थ सेवन गर्ने मानिसको आकस्मिक मृत्यु हुने गरेको जवाफ दिएको छ । ‘कारागारभित्र केही भएको छैन, कुटपिट वा यातनाका कुराहरु गलत हुन्,’ कारागार प्रमुख गणेश अधिकारीले भने, ‘यसअघि पनि यस्ता घटना भएका छन्, चौतर्फी सुरक्षा छ, सिसिटिभी सबैतिर छ, चेक गर्दा हुन्छ ।’

उनले कारागार ऐन २०१९ मा कारागारभित्र मर्ने सबैको पोष्टमार्टम अनिवार्य नभनिएको बताए । सम्बन्धित परिवारले पोष्टमार्टम गर्न चाहेमा गर्ने व्यवस्था उल्लेख भएको बताउँदै परिवारले नै पोष्टमार्टम गर्न नखोजेको उनले आरोप लगाए ।

कारागारभित्रको यो मृत्यु शंकास्पद छ । कारागारभित्र चौकीदार र नाइकेले आफूले भनेको नटेर्नेहरुलाई कुटपिट गर्ने र यातना दिने गर्छन् । तर बोल्दा मारिने डरले धेरै घटना बाहिर नआउने र कोही बुझ्न जाँदा पनि चौकिदारले पैसा दिएर राखेका एक सय जना नाइकेभन्दा बाहेकसँग कुरा गर्न नपाउने स्रोत बताउँछ । त्यसैले परिवारले पनि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गरेको छ ।

फोटो ः सञ्जुको मृत शरीरमा देखिएका निलडामहरु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.