जीर्ण बन्दै तिलाैराकोट जाने बाटो
तौलिहवा : बुद्धको क्रीडास्थल तिलौराकोट जाने सडक जीर्ण हुँदा समस्या भएको छ। लामो समययता सडक मर्मत नगरिँदा पर्यटकीयस्थल तिलौराकोट पुग्ने सडक जीर्ण बनेको हो।
तौलिहवाबाट झण्डै तीन किलोमिटरको दूरीमा अवस्थित तिलौराकोट वरिपरिको बाटो जीर्ण बनेको हो। बाटो जीर्ण बन्दै गए पनि निर्माणतर्फ कसैको ध्यान पुग्न सकेको छैन। तिलौराकोट दरबार प्रदेशद्वारदेखि कपिलवस्तु संग्रहालयसम्मको बाटो फुटेर कच्चीजस्तै बनेको छ। यस्तै त्यही गेटबाट दक्षिण हुँदै धमनिया र कन्थक स्तुपसम्म पुग्ने पक्कीबाटो कच्चीमा परिणत भएको छ। तिलौराकोटदेखि संग्रहालयसम्मको लम्बाइ अढाइ सय मिटर छ। त्यसमध्ये आधा पक्की र आधा पीसीसी बनाइएको छ। पीसीसी फुटेर कच्ची बनेको हो। पीसीसी सडक पर्यटन बोर्डको सहयोगमा निर्माण गरिएको थियो। सडक न्यून गुणस्तरको बनाइएको र त्यसमा पनि हिउँदभरि नदीजन्य पदार्थ ढुवानीका लागि ट्र्याक्टर, टिपर हिँडेका कारण बाटो बिग्रिएको तिलौराकोटसँगै सटेको शिवगढबासी बताउँछन्।
तौलिहवा गोरुसिंगे सडकखण्डअन्तर्गत तिलौराकोट प्रवेश गर्ने दुर्ई मार्ग छन्। एउटा रिसोइन शान्ति विहार र अर्को कपिलवस्तु संग्रहालय। दुवै बाटो जीर्ण छन। आन्तरिक र बाह्य पर्यटक गरी दिनहँु सयौं तिलौराकोटको अवलोकन गर्न आउँछन् तर बाटोको अवस्था देखेर निरास बनेर फर्कने गरेका छन्। ट्र्याक्टरहरू ओहोरदोहोर गर्ने गरकोले त्यस क्षेत्रको अवलोकन भ्रमण गर्न गाह्रो परेको पर्यटकहरूको गुनासो छ।
जीर्ण बाटो र धुलोले गर्दा कैयौं पर्यटक धमनिया स्तुप नहेरी फर्कने गरेका तिलौराकोटमा रहेको लुम्बिनी विकास कोषका कर्मचारीहरू बताउँछन्। हरेक वर्ष लुम्बिनी विकोस कोषले बुद्धजयन्ती मनाउन लाखौं रुपैयाँ खर्च गरे पनि जीर्ण बाटो निर्माणमा भने चासो नदिएको स्थानीय बाबुराम खनालले बताए। ‘जीर्ण बनेको तिलौराकोट वरिपरि रहेको बाटो निर्माणमा कोष र स्थानीय निकाय दुवैले चासो दिएका छैनन्’, खनालले भने, ‘यसले विदेशी पर्यटकमाझ नराम्रो सन्देश गएको छ।’
सवारीसाधनको आवागमन बढ्दा प्रदूषण फैलँदै गएको छ। धुलो र सवारीसाधनको चापले जोडी स्तुपमा जाने पर्यटकलाई समेत सास्ती हुने गरेको छ। हिलो र धुलोसँगै सवारीसाधनको चापले आफूहरूलाई निकै सास्ती भएको नेपालगन्जबाट तिलौराकोट आएका प्रवीण बमले गुनासो गरे। तिलौराकोट र जोडीस्तुप पुग्ने बाटोको अवस्था निकै कठिन बनेको उनको गुनासो थियो। ५ वर्षदेखि पुरातŒव विभाग र बेलायतको दुर्हम विश्व विद्यालयको टोलीले तिलौराकोटमा उत्खनन गरेको छ। यसले तिलौराकोटमा पर्यटकको संख्या निरन्तर वृद्धि भएको छ।
सन २०१७ मा बाह्य र आन्तरिक गरी करिब ४५ हजार पर्यटकले तिलौराकोटको अवलोकन गरेका थिए। तर पर्यटकहरू तिलौराकोट र धमनिया स्तुपको बाटो देखेर दुःखी हुँदै फर्कने गरेका छन्। लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले जीर्ण बाटोको मर्मत र पुनर्निर्माणमा सम्बन्धित निकायमा जानकारी पुराएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस !