केसीको समर्थनमा सडक कविता
प्रिय गोविन्द तिमी र उनीहरूमा फरक छ
जति घृणा र प्यारमा हुन्छ
सेवा र व्यापारमा हुन्छ
उनले चाहेका छन् आममानवको स्वास्थ्य अधिकार
उनीहरूले चाहेका छन् अस्पतालमा बगरको व्यापार...।
बुटवल : ट्राफिक चोकमा कवि गिरि श्रीस मगरले डा. गोविन्द केसीको आन्दोलनलाई कवितामार्फत ऐक्यबद्धता व्यक्त गरिरहँदा सयौं मानिस ध्यानपूर्वक सुनिरहेका थिए। डा. केसीको जीवनरक्षाको माग गर्दै र समाजवादी उन्मुख स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बुटवलमा सडक कविता सम्पन्न भएको छ। पाठक मञ्च, बुटवल साहित्यिक संगम, साहित्य संगम बुटवललगायत संस्थाको संयुक्त आयोजनामा सम्पन्न सडक कवितामा कविता तथा मन्तव्यमार्फत साहित्यकारले सरकारलाई माथेमा कार्यदलको प्रतिवेदन लागू गर्नुपर्ने र केसीका माग पूरा गर्नुपर्ने आवाज उठाएका छन्।
कार्यक्रममा ८५ वर्षीय अग्रज कवि अजम्बरध्वज खातीले सरकारको दुई तिहाइको बहुमतको दम्भ निकै डरलाग्दो भएको र हानिकारक हुँदै गएको बताए। उनले कवितामार्फत नेपाली जनता आगोले पोल्दा पनि सुँगुरजस्तै हाँस्न नहुने बताए। त्यस्तै ८२ वर्षीय साहित्यकार तथा अथक् अध्येता जंगबहादुर शाहले गोविन्द केसी आफ्नानिम्ति एसी, हवाईजहाज कुनै सुखसुविधा नमागी आमजनताको स्वास्थ्यप्रति चिन्तित भएकाले सरकार उनको स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्ने र उनको माग पूरा गर्नुपर्ने बताए। त्यस्तै साहित्यकार दिल साहनीले कवितामार्फत रामराज्य खोजेको रावण राज्य बनेको भन्दै व्यंग्य गरे।
कार्यक्रममा गोविन्द केसीको माग र माथेमा आयोगको प्रतिवेदनको विस्तृत चर्चा गर्दै पत्रकार तथा कानुन अध्येता तुफान न्यौपानेले केसीको माग आमजनताको माग भएको पुष्टि गरे। उनले केसीमाथि कसैद्वारा प्रायोजितको आरोप लगाउनु झुट भएको बताउँदै संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकले केही लगानीकर्तालाई सुरक्षित गर्ने प्रस्ट पारे।
पुष्पलाल पार्कबाट सुरु भएको मौन र्याली ट्राफिकचोकमा सडक कविता कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा दीपक विश्वकर्मा, नारद गौतम, ऋषि आजाद, ज्ञानु केसी, एपी सुमन, शब्द शंकर, गुरुप्रसाद बुलबुल, दामोदर पाण्डे, जयन्ती सरगम लगायतले कविता वाचन गरे। कार्यक्रम रामचन्द्र श्रेष्ठको सञ्चालन तथा पाठक मञ्चका गिरि श्रीसको संयोजकत्वमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस !