पानी किनेर घर निर्माण
खोटाङ : भूकम्पपीडित घर बनाउन पानी किन्न बाध्य छन् । पूर्वी पहाडी जिल्लामा पानी अभावका कारण भूकम्पपीडित पानी किनेर घर बनाइरहेका छन् । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका अधिकांश स्थानमा पानी अभाव छ । खानेपानीसमेत हाहाकार हुने यहाँका भूकम्पपीडितले ट्यांकरबाट ल्याएको पानी किनेर घर बनाइरहेका छन् ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ तिङ्ला अनिता विक पनि पानी किनेर घर बनाएको बताउँछिन् । ‘यहाँ त पानी साह्रै दुःख छ, खाने त पानी छैन, घर बनाउन अझ नै गह्रो छ’, अनिता भन्छिन, ‘सरकारले अनुदानमा दिने पैसा पानी किन्दैमा सकिने भयो ।’
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका कार्तिके, अर्घौले, राजापानीका अधिकांश गाउँमा पानीको अभाव छ । कतिपय पीडितले त पानी अभावकै कारण घर बनाउन सकेका छैनन् । कतिपयले अकासे पानी संकलन गरी घर बनाइरहेका छन् । कतिपय भने ट्यांकरबाट ल्याएको पानी किनेर घर बनाइरहेका छन् । हलेसी तुवाचुङ–७ कार्तिकेका विनोद राईले पानी किनेर घर बनाइरहेको बताए । दुधकोशी, सुनकोसीलगायतका नदीबाट ट्यांकरमा ल्याएको पानी किन्नु पर्ने अवस्था रहेको उनले बताए ।
हलेसी तुवाचुङ ७ का खामबहादुर राईले पानीको अभावमा घर बनाउन ढिलो भइरहेको बताए । ‘पानी नै किनेर खानुपर्छ, घर कसरी बनाउँने’ उनले भने, ‘यहाँ त पानी हाहाकार छ, तीन वर्ष अघिसम्म मुलबाट पानी आउँथ्यो, भूकम्प आएपछि पानी आउँन छाड्यो ।’
हलेसी तुवाचुङ नगरपालिका प्रमुख इभन राईले १० वटा वडामा पानी समस्या रहेको बताए । ‘हाम्रो नगरपालिकाको ११ वडा मध्ये १० वटा वडामा सुनकोशी र दुधकोशी घुमेको छ, तर यहि पानी अभाव छ । खानेपानीको नै ठूलो अभाव छ । घर बनाउने पानी त नकिनी हुने अवस्था नै छैन्’, नगरप्रमुख राईले भने । हलेसी तुवाचुङ नगरपालिकाका ७ वटा वडा त सुख्खा क्षेत्र नै घोषणा भएका छन् । नगरप्रमुख राईले पानीको अभावकै हलेसीमा पुनर्निर्माणको काम सुस्त भएको बताए ।
प्र्राविधिकहरू पनि पानीको पुनर्निर्माणमा ढिलाइ हुनुको कारण पानी अभाव पनि भएको बताउँछन् । खानेपानी त हुँदैन, कहाँबाट घर बनाउने ? भन्दै कतिपय त गाउँ नै छाडेरसमेत हिँडेको भूकम्पपुनर्निर्माण प्राधिकरणबाट हलेसी तुवाचुङ नगरपालिकामा खटिएका इन्जिनियर सुनिलकुमार यादव बताउँछन् ।
सरकारले निजी आवास २०७५ असार मसान्तभित्र निर्माण सक्ने बताएको छ । सरकारले तीन किस्तामा गरेर पीडितलाई ३ लाख रुपैयाँ उपलब्ध गराइरहेको छ । पानी, ढुङ्गा लगायतका निर्माण सामाग्रीको अभावमा उनीहरु तोकिएको समय घर बनाउन मुस्किल छ ।
ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा ४१ हजार ५५३ घर पूर्णरुप क्षति भएका छन् । ओखलढुंगामा सबैभन्दा बढी २१ हजार १२२ घर पूर्णरुपमा क्षति भएका छन् भने खोटाङमा ८ हजार ४४३ र सोलुखुम्बुमा ११ हजार ९८८ घर क्षति भएका छन् ।