मन्त्रालयमा छैनन् कानुन जान्ने कर्मचारी

मन्त्रालयमा छैनन् कानुन जान्ने कर्मचारी

बुटवल : प्रदेश ५ सरकारले लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसदमा पेस गरेको एक साताभन्दा बढी भयो । विधेयक छलफल भएर पारित भए पनि तत्काल आयोग गठन गर्न भने कठिन छ । कारण हो, संघीय सरकारले लोकसेवासम्बन्धी कानुन निर्माण नगर्नु ।

लोकसेवा आयोग गठनसम्बन्धी कानुनजस्तै संघीय सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशका धेरै कानुन निर्माण रोकिएका छन् । केही अत्यावश्यक र नबाझिने कानुन निर्माण गरेर सरकार सञ्चालन भए पनि अधिकांश कानुन निर्माण रोकिएको छ । प्रदेश सरकारले तत्कालका लागि २४ वटा कानुन निर्माण गर्न आवश्यक छ ।

संविधानमा ‘प्रदेशले आवश्यक कानुन निर्माण गर्न सक्नेछ’ भन्ने बाहेकका कानुन प्रदेश ५ मा बन्न सकेका छैनन् । प्रदेश सरकारले पहिलो वर्ष कानुन निर्माण सक्ने योजनासहित कानुन मस्यौदा तथा सुझाव आयोग नै गठन गरेको थियो । तर त्यो आयोगले कानुन निर्माणका लागि संघीय कानुन पर्खिएर बसेको छ । ‘कानुन मस्यौदा निर्माण गर्न नसकिने विषय भएन, तर संघीय सरकारले कस्तो कानुन बनाउँदै छ भन्ने अन्योल भयो’, कानुन आयोगका अध्यक्ष डा. कुमार आचार्यले भने, ‘संघीय सरकारसँग बाझिने गरी कानुन निर्माण गर्न त भएन ।’

प्रदेश सरकार तथा कानुन आयोगले समेत प्रदेशका लागि आवश्यक कानुन निर्माण गर्न संघीय सरकारलाई आग्रह गरेका छन् । तर संघमा जिम्मेवारीबोध कम देखिएको अध्यक्ष आचार्यले बताए । संघीय सरकारले भदौ एक गतेबाट लागू हुने नयाँ मुलुकी ऐनलाई आवश्यक कानुनको तयारी गरेकाले प्रदेशलाई आवश्यक कानुन निर्माणमा जटिलता थपिएको हो ।

प्रदेश सरकार गठनअगावै गर्नुपर्ने कानुन निर्माणतर्फ राजनीतिक दलहरूले ध्यान नपुर्‍याउँदा प्रदेश सरकार निकै कमजोर देखिएका छन् । संघीय कानुनअनुसार प्रदेश र प्रदेश कानुनअनुसार स्थानीय तहको कानुन निर्माण हुन्छ । प्रदेश र स्थानीय तहले संघीय कानुनसँग बाझिने कानुन बनाए स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ । त्यसकारण प्रदेश सरकारले कानुन निर्माणलाई अघि बढाउन सकेको छैन । प्रदेश सभाले विभिन्न ११ विधेयक पारित गरेको छ । ती बजेट र नीति कार्यक्रमसहितका विधेयक हुन् । ‘अनुसूचीमा थुप्रै साझा अधिकार छन्, त्यसको कानुन संघपछि प्रदेश र प्रदेशपछि स्थानीय तहले निर्माण गर्नुपर्छ, आचार्यले भने, ‘यी सबै काम रोकिएका छन् ।’

प्रदेश सरकारले आवश्यक कानुन अभावमा गएको आर्थिक वर्षको पुँजीगत बजेट एक प्रतिशत मात्रै खर्च गरेको थियो । यो वर्षसमेत कानुन निर्माणमा ढिलाइ भए योजनाहरू बजेट पुस्तिकामा मात्रै सीमित हुने खतरा बढेको छ । ‘कानुन निर्माण नभएसम्म सरकारका योजना कार्यान्वयनमा जटिलता आउँछन, बजेट कहाँ खर्चने ? प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतम भन्छन्, ‘सरकार सफल हुन कानुन निर्माण पहिलो काम हो ।’ प्रदेशको कानुन आयोगले मन्त्रालयहरूसँग आवश्यक कानुन र सकेसम्म मस्यौदा नै मागेको थियो । तर कानुन मन्त्रालयबाहेक अन्य मन्त्रालयमा कानुन बुझेका कर्मचारी नै छैनन् । कर्मचारी व्यवस्थापन संघबाट भएको छैन भने प्रदेश लोकसेवा आयोग गठन हुन सम्भव छैन । ‘संघीय सरकारले अधिकार आफैं राख्ने, दायित्व तल दिने काम गरेको छ, त्यसरी प्रदेश र स्थानीय तह चल्न सक्दैनन्’, उनले भने ।

आयोग पनि अलपत्र

प्रदेश सरकारले कानुन सुझाव आयोग बनाएको ६ महिना बित्यो । तर अहिलेसम्म कर्मचारी र कार्यालय व्यवस्थापन गर्न सकेको छैन । आयोगका तीन सदस्यबाटै अहिलेसम्म काम भइरहेको छ । आयोगका अध्यक्ष आचार्यले सबै काम आफैंहरूले गर्नुपरेको गुनासो गरे । ‘टाइपिङ गर्नेदेखिका सबै काम आफैं गर्नुपरेको छ’, उनले भने, ‘यस्तै अवस्थाले एक वर्षको समयावधिभित्र काम सक्न कठिन छ ।’

प्रदेश सरकारले दुई सयको हाराहारीमा कानुन निर्माण गर्नुपर्ने उनले बताए । अहिलेसम्म करिब १६ वटा कानुनको मस्यौदा भएको छ । खानीसम्बन्धी ऐन, गुठी ऐन, विपद् व्यवस्थापन ऐन, संघसंस्थासम्बन्धी ऐन, वन ऐन, सहकारी ऐनका मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका छन् ।

प्रदेशसभामा विधेयक पारित गर्दै सांसद । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.