कालीगण्डकीमा पक्की पुल बन्दै

कालीगण्डकीमा पक्की पुल बन्दै

बेनी : कालीगण्डकी करिडोर अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमानामा पर्ने महभीरमा कालीगण्डकी नदी माथि पक्की पुल निर्माण सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडकमा सहज रुपमा सवारी आवत–जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालय अन्र्तगत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण सुरु गरेको हो ।

महभीर र पोखरेबगरमा कालीगण्डकी माथि २ वटा पक्की पुल निर्माणका लागि १९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले बर्खाको प्रतिकुल मौसमका बावजुद कामलाई तीव्र रुपमा अघि बढाएको कार्यालयका सब–इञ्जिनियर टीका रेग्मीले जानकारी दिए । २ वटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाइन र निर्माण गर्ने सम्झौता भएको छ । ११ मिटर फराकिलो पुल, २ लेनको हुनेछ । ८० मिटर लामो महभीर पुलको बीच भागमा रहने पिल्लर निर्माणको काम आधा भन्दा बढी सकिएको छ । तिप्ल्याङतर्फको पिल्लर निर्माणको काम भइरहेको छ ।

बर्खाको समयमा कालीगण्डकीमा बाढी आएको प्रतिकुल अवस्थाको बावजुद नदीलाई डाइभर्सन गराएर निर्माणको कामलाई निरन्तरता दिएको हिम सगरमाथाका सुपरभाइजर उमेश गड्तौलाले बताए । ‘खोलामा बाढी आएर खाडलबाट पानी तान्न प्रयोग गरेको पम्प सेट लगायतका निर्माण सामग्री बगाउँदा लाखौको क्षति पुगेको छ, तैपनि निर्धारित मितिमै काम सम्पन्न गर्ने गरी हामीले काम गरिरहेका छौं’ उनले भने ।

निर्माणस्थलको विवाद समाधान भएपछि पोखरेबगरस्थित कालीगण्डकी माथि पनि पुल निर्माणको काम सुरु गरिने निर्माण कम्पनीले जनाएका छन् । पुल निर्माण स्थलमा रहेको मन्दिरलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा स्थानीय र कार्यालयबीच सहमति जुट्न सकेको छैन् । पोखरेबगर गाउँपालिकाको केन्द्र समेत हो । महभीर र पोखरेबगरमा अहिले बेलिब्रिज छन् । दुबै बेलिब्रिज जीर्ण बन्दा दुर्घटनाको जोखिम बढेको छ । पोखरेबगरमा निर्माण हुने पुल भने ७० मिटर लामो हुनेछ । गत फागुनदेखि कार्य क्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले २ वर्षमा काम सक्न लक्ष्य राखेको छ ।

विस २०६४ मा ट्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामका बेलिब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन् । भारत– चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दुरीको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १ सय ६९ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतिको काम जारी छ ।

६ अर्ब रुपैयाँको लागतमा बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरला सम्मको ९० किलोमिटर सडक स्तरोन्नति गर्न ११ वटा खण्डमा काम भइरहेको छ । सडक स्तरोन्नतिसँगै मोटरेबल पुल निर्माणको काम अघि बढेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । ‘बेनी–कोरलामा विभिन्न चरणमा गरी २ वर्षभित्र १९ भन्दा बढी पक्की पुल निर्माण हुनेछन्, केही बनिसकेका छन्, केही बन्दैछन् भने केहीको टेन्डर हुने चरणमा छन्’ सुुवेदीले जानकारी भने ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.