सुबेरका परिवारलाई आर्थिक सहयोग
मसुरिया (दाङ) : टिपर दुर्घटनामा परी मृत्यु भएका दाङ राप्ती गाउँपालिका–३ नयाँबस्तीका सुबेर चौधरीका परिवारको सहयोगका लागि संकलन भएको रकम हस्तान्तरण गरिएको छ । सुबेरको परिवारका लागि संकलन भएको २३ हजार ३ सय २० रुपैयाँ परिवारलाई प्रदान गरिएको हो ।
अन्नपूर्णकर्मी गोपाल शर्माको समन्वयमा घरमै पुगेर राप्ती गाउँपालिका पदाधिकारीको रोहबरमा रकम हस्तान्तरण गरिएको हो । मृतक सुबेर चौधरीको घरमै पुगेर चौधरीकी श्रीमती देउमन्तीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम राप्ती गाउँपालिकाका प्रमुख नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखरेल, वडाध्यक्ष चन्दर चौधरी र अन्नपूर्णकर्मी शर्माले संयुक्त हस्तान्तरण गरेका थिए । दुर्घटनापछिको परिवारको पीडादायी कथा समेटिएको समाचार अन्नपूर्ण पोस्ट् दैनिक र अन्नपूर्ण पोस्ट् डटकममा प्रकाशित भएपछि समाचार सो सहयोग रकम संकलन भएको थियो । समाचार सामग्री पढेर आफूले सहयोग अभियान सुरु गरी केही रकम सहयोग गरी सहयोग अभियान सञ्चालन गरेको अजितकुमार भट्टराईले जानकारी दिए । उनले साथीहरूको सहयोगमार्फत चौधरी परिवारलाई आर्थिक सहयोग गरिएको बताए ।
काठमाडौंमा रहेका भट्टराईको अगुवाइमा र अस्ट्रेलियामा रहेका कुमार बस्नेतसहितको समन्वयमा अमृत साइन्स कलेजका पूर्वसाथीहरू अस्ट्रेलिया र नेपालमा रहेकाहरूबाट रकम संकलन गरी सहयोग गरिएको भट्टराईले जानकारी दिए ।
उनले जोमसोम लोमाङ्थान बाटो निर्माणका लागि मजदुरी गर्न गएका मृतक सुबेर चौधरीका परिवारलाई सहयोग अभियान नामकरण गरेर संकलन भएको २३ हजार ३ सय २० रुपैयाँ चौधरी परिवारलाई हस्तान्तरण गर्ने गरी गएको बिहीबार अन्नपूर्ण पोस्टको कर्पाेरेट कार्यालय तीनकुनेमा अन्नपूर्ण पोस्ट्का समाचार सम्पादक नारायण अमृतलाई रकम हस्तान्तरण गरेका थिए । भट्टराईले चौधरीको परिवारको पीडामा साथ दिन सानो रकम सहयोग गरिएको बताए । उनले सहयोग रकमले केही भए पनि परिवारमा सहज हुने बताए ।
प्रतिक्रिया दिनुहोस !