सडक विभागको लापरवाहीले पुल निर्माण अलपत्र

सडक विभागको लापरवाहीले पुल निर्माण अलपत्र

 जाजरकोट : छिन्चु–जाजरकोट सडकखण्डमा यातायात सञ्चालन भएको १० वर्ष र कालोपत्रे भएको पनि ५ वर्ष बितिसकेको छ । तर सडक विभागको लापरवाहीका कारण उक्त सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल निर्माण कार्य ५ वर्षदेखि अलपत्र छ ।

पासागाड खोलामा पुल नबन्दा बर्खामा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ । वर्षा हुनेबित्तिकै बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती हुने गरेको हो ।

सडक विभागको चरम लापरवाहीले खलंगादेखि ६ किमिको दूरीमा रहेको भेरी नगरपालिका–४ स्थित पासागाड खोलामा पुल निर्माण हुन नसकेको हो । उक्त खोलामा पुल निर्माणको सुरसारसमेत भएको छैन । विभागको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो ।

सडक विभाग र आईएमई आरसी कन्सल्टेन्सी ललितपुरको चरम लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको बताइएको छ । २ वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको कार्य सुरुसमेत नभएको स्थानीय वीरबहादुर बस्नेतले जानकारी दिए । पुल निर्माणमा ढिलाइ हुँदा आवतजावत तथा दैनिक उपभोग्य वस्तु आपूर्तिमा पटकपटक अवरोध आएको बस्नेतले बताए । ‘सडक कालोपत्रे भएकै ५ वर्ष बित्यो तर पुल निर्माण सुरु भएन’, उनले भने ।

पुल नबन्दा बाढी आएको बेला रातभर सवारीसाधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीम बुढाले बताए । जबर्जस्ती खोलामा हाल्दा पटकपटक गाडी फस्ने र बिग्रने गरेकोसमेत उनले सुनाए ।

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशीष थापा मगरले बताए । पुनः डिजाइन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए । पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचनाबमोजिम ३ करोड लागतमा लुम्बिनी–आशीष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो । तर निर्माणस्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको उनले बताए । ‘पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य सुरु गर्न नसकेको हो’, डिभिजन प्रमुख थापाले भने ।

परामर्श कम्पनीले ७ लाखको लागतमा पुलको डिजाइन कार्य गरेको थियो । ‘पुलको डिजाइन एक छ, निर्माणस्थलको लोकेसन अर्कै छ । कसरी निर्माण सुरु गर्ने’,  उनले भने । परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ, तर पासागाड खोलामा सर्भे गर्दा निर्माणस्थलको २५ मिटरभन्दा लम्बाइ बढ्दैन । कम लागतमा निर्माण हुने पुलको लागि पनि किन थप बजेट खेर फाल्ने’, उनले भने । ३ वर्षअघि निर्माण कम्पनीलाई साइड देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको उनले बताए ।

सडक डिभिजनले पुल निर्माणका लागि ३ करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले कार्य सुरु नगरेको उनले बताए । सडक विभागले ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने भए तत्काल कार्य सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ । सडक विभागले पुलको हचुवा डिजाइन गर्ने परामर्श कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको उनले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.