वैचारिक परिवर्तनको भोक
गंगाप्रसाद उप्रेतीको मूल लेखन विधा कविता नभए पनि उनको साहित्य लेखनको प्रारम्भ भने कविताबाट नै भएको थियो। पाँच दशक अघिदेखि नेपाली कविता साहित्यमा कुनै न कुनै रूपमा कलम चलाइरहेका छन्, उनी। विभिन्न विधाका दर्जनभन्दा बढी कृतिका स्रष्टा उप्रेती २०१६ सालदेखि नै कविता लेखन कर्ममा लागेका भए पनि उनको पहिलो र एकमात्र प्रकाशित कवितासंग्रह भने चक्रव्यूह (२०७३) हो। १२ वर्षको उमेरमा आफैं पढ्ने विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा ‘वसन्त’ नामको कविता लेखी वाचन गरेका थिए, उनले।
‘चक्रव्यूह’ कविताकृतिमा २०२१ वैशाखदेखि २०७३ पुससम्म प्रकाशित २७ वटा कविता संगृहित छन्। यस संग्रहमा मानवीय जीवनको यथार्थ सम्बोधन गर्दै प्रगतिवादी–मार्क्सवादी विचारका माध्यमबाट सामाजिक चेतना जगाई अग्रगमन र परिवर्तनको बाटोमा हिँड्नुपर्छ भन्ने प्रखर विचार प्रस्तुत गरिएको छ। यस्तै कविले राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पहरेदार भएर प्रत्येक नेपालीले नेपालको अस्तित्वलाई जोगाउनुपर्ने विचार अघि सारेका छन्।
कवि उप्रेती पुरानो र थोत्रो सामन्तवादी व्यवस्थाका कटु विरोधी र जहिले पनि परिवर्तनको भोक बोकेर हिँड्ने स्रष्टा हुन्। उनले पुरानोको अन्त्य र नयाँको आरम्भ भएको हेर्ने उत्कट इच्छा राखेका हुन्छन्, कवितामा। उनका प्रायःजसो कवितामा एकनासको यही भोक प्रखर र प्रमुख भएर अघि आएका हुन्छन्।
अनि, हजारौं वर्षको छली इतिहास बोकेको यो थोत्रो घर
यस भित्रका हिंस्रक सर्प र बिच्छीहरूलाई एकै चिहान पारेर
भयंकर विस्फोटमा ध्वस्त हुनेछ
एउटा फराकिलो परिवेश छोडेर नयाँ घर निर्माणका लागि
यो आफैं दन्त्यकथा हुनेछ। (मान्छे, जुलुस र सडक, पृ. ३६)
कवि उप्रेती लैंगिक र वर्गीय समानताका पक्षपातीका रूपमा सगरमाथा जस्तै दृढ भएर उभिएका छन्। लैंगिक र वर्गीय विभेदले सामाजिक न्यायबाट नै मानिस वञ्चित हुने र यस्तो असमानताले मान्छेमा मानवीय समवेदनाको विनाश हुन्छ। नारीबिनाको समाजको कल्पना पनि गर्न सकिँदैन तर पुरुषत्व उन्मत्त हुँदै गएपछि नारी त्यसैको सिकार बन्न पुग्ने नेपाली समाजको नग्न दृश्य उनका कवितामा यसरी वर्णित छ।
पौरुषताको अहंकारले उन्मत्त
म पुरुष बनेको हिंस्रक पशुले
एकै क्षणमा सिध्याएँ
प्रकृतिको सुन्दर सिर्जनालाई
यो उन्मादी स्याउको दानालाई
र प्रदर्शन गरेँ लैंगिक हिंसा
वर्गीय हिंसा र पारिवारिक हिंसा। (स्याउ, प्रियसी र म, पृ. २८)
कवि उप्रेतीका कवितामा जीवनप्रतिको आशा सल्बलाएको छ। जीवनलाई गतिशील बनाउनुपर्ने आग्रह उनका कविताको मूल आशय छ। जीवनबाट निराश हुने मान्छेले जहिले पनि नकारात्मक सोच राख्छ र जसले सकारात्मक सोच राख्छ उसले जीवनमा नयाँ र उदाहरणीय काम गर्न सक्ने स्वच्छन्दतावादी–प्रगतिवादी धारणा कविले यसरी प्रस्तुत गरेका छन्। म त देख्छु–
कोसी गण्डकीका सुरिला भाकामा
हिमालले छोडेको शीतल सासमा
निर्माण गीतको राग ओकल्दै
जीवन आफैं गुञ्जिरहेछ।
हरेक खेत र पाखाबारीमा
नयाँ आकर्षक कलेवर बनाउँदै
काँडाहरूको पीडा बिर्सन
जीवन आफैं फुलिरहेछ। (जीवन–२, पृ. ४१)
उप्रेतीका कुनै कवितामा मात्र मार्क्सवादी विचार भेटिन्छ भने कुनैमा स्वच्छन्दतावादी दृष्टिकोण, प्रगतिवादी र राष्ट्रवादी चिन्तन मडारिएको छ। उनका कवितामा नेपालको राष्ट्रियतामाथि बेलाबेलामा मडारिइरहने कालो बादलले कतै नेपालीको अस्तित्वमा संकट त आउने होइन भन्ने शंका व्यक्त गर्दै सबैलाई सचेत रहन आग्रह गरिएको छ। त्यस्तै सहरिया जीवन प्रवृत्ति एकलकाँटे स्वभावको हुने र ग्रामीण जीवनलाई उपेक्षा गर्ने अमानवीय स्वभावप्रति व्यंग्य पनि गरिएको हुन्छ।
उकुसमुकुस ग्याँसबाट उत्पन्न डकारको दुर्गन्धले
झापट हान्छ यो सहरलाई
आज पनि आउँछ जुन हुरी दक्षिण पश्चिमबाट
उर्लंदै उक्लन नसकी माथितिर
बढार्न बस्तीका झुप्राहरू
भर्खर खुट्टा टेक्न थालेका बिरुवा हाम्रो मौलिकताका। (म बसेको यो सहर–एउटा अन्योलको गल्छिडो, पृ. ५०)
गंगाप्रसाद उप्रेती नेपाली साहित्यका एक धरोहर हुन्। उनको यो कृतिमा पञ्चायती भूमिगत कालदेखि २०७३ सालसम्म लेखिएका कविता समावेश गरिएका छन्। त्यही कारणले पनि उनको यस कृतिमा रहेका कविताको प्रवृत्ति फरक फरक छ। तर, उनको प्रगतिवादी र अग्रगमनको मूल प्रवृत्ति भने सबै कवितामा छ। उनका कवितामा सामाजिक न्याय, वर्गीय र लैंगिक समानता आदिको खोजी गरिएको छ। जीवनप्रतिको आशावादी मीठो धुन उनका कवितामा बजिरहेको हुन्छ र मानवीय संवेदनालाई पनि चर्को रूपमा मुखरित गरेको पाइन्छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिसमेत रहेका उप्रेतीको ‘चक्रव्यूह’ कविताकृति नेपाली साहित्यको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।