लिचीको लोभमा

लिचीको लोभमा

सुरुमा लिची खान गएका हामी त्यसको झोकमा आँप चोर्नतिर लाग्यौं। तर, आरोपको प्रकृति चाहिँ फरक भइदियो। हामीमाथि मोटर, रड, वायर चोरीको आरोप लाग्यो।


जेठको अन्तिम साता। चितवनमा गर्मीको नेप्से उकालो मात्रै चढिरहेको थियो। आक्कलझुक्कल बहने वायु पनि तातो सिर्का हान्दै बहन्थ्यो। पंखाले तातै हावा वमन गथ्र्यो। त्यसमाथि दैनिक १५ घन्टाभन्दा बढी लोडसेडिङ। शरीर झन् घमौरा उब्जाउ हुने खेतझैं थियो। पानी परिरहेको पनि थिएन।

म जहाँ डेरामा बस्थेँ, त्यो क्षेत्र केही मात्रामा खुल्ला त थियो। यद्यपि वरपरको मकै खेतीले वातावरणको मुख थुनिदिएजस्तो उकुसमुकुस बनाइराखेको थियो। बाहिर छहारी दिने खालका कुनै रूख थिएनन्। थिए त केही बकैनाका सुइखुट्टे रूख। रूखमा भर्खरै वसन्त ऋतुले दिएर गएको पहेँला पालुवा हरिया हुँदै थिए। बस्, यति नै।

नाम मात्रको डेरा थियो त्यो। बाँकी त सबै आफ्नै घरजस्तो। घरको पूर्वपट्टि दस धुर जग्गामा सिजनअनुसारका सागसब्जी लगाउनुहुन्थ्यो दिदी। बारीमा पसेर आफ्ना लागि सागसब्जी टिप्दा मेरा लागि पनि छुट्टै भाग लगाउनुहुन्थ्यो। आफूलाई खान मन लाग्दा बारीमै पसेर सागसब्जी टिप्ने अधिकार पनि मलाई थियो। प्रेम थियो, आत्मीयता थियो।

कल्पना दिदीको घरमा जति समयसम्म म बसेँ भाइ भएर बसेँ। परिवारको सदस्य भएर बसेँ। कोठामा एक्लै बस्ने भएकाले कैयौं बिहान–बेलुका दिदीको भान्सामा समेत म सहभागी भएको छु।

दिदीका तीन भाइ छोरा उमेरले साना तर व्यवहारले मेरा साथी थिए। उनीहरूसँगको सम्बन्ध प्रेमले मात्रै स्मरणीय बनाएन, हामीबीच हुने ‘ठाक्कठुक्क’ र केही बदमासीले पनि सम्बन्ध झन् प्रगाढ बनाउन सघाए। त्यसैमध्यको एउटा घटना यहाँ सम्झन्छु।

पूर्व–पश्चिम हाइवेमै पर्छ आस्थाचोक, भरतपुर। चोक वारि वडा नम्बर १२ पथ्र्यो भने हाइवे पारि वडा नम्बर ९। आस्थाचोकदेखि पारिपट्टि अर्थात् ९ नम्बर वडामा प्लटिङ गरिएको क्षेत्र थियो। त्यहाँ घर बन्ने क्रम भर्खर सुरु हुँदै थियो।

हाइवे पार गरेर प्लटिङ क्षेत्रतिर छिर्दा दायाँ साइडमा एउटा गुजुम्म परेको लिचीको बोट थियो। त्यसकै आडमा ठूलो आँपको रूख पनि थियो। र, आँपको रूख अगाडि एउटा घर निर्माणाधीन क्रममा थियो।

‘दाइ ! लिची खान नजाने’ एकदिन घरबेटीको जेठो छोरा सुजनले लिचीजस्तै रसिलो प्रस्ताव राखे।

‘जाम न त’ चितवनको गर्मीमा अलिकति भए पनि शीतल बनाउने उनको प्रस्तावमा मैले यति नै भन्न सकेँ।

हिँड्दैहिँड्दै हामी दुई भाइ मोहन मावि हुँदै आस्थाचोकबाट बाटो काटेर भित्र प्लटिङतिर छिर्‍र्यौं।

प्लटिङ हरियो देखिन्थ्यो। त्यहाँ मस्त बाख्रा चरिरहेका थिए। तिनका मालिक छहारी खोज्दै कोही आँपको रूखमुनि त कोही अलि परै बसेका देखिन्थे। बीचबीचबाट जग्गा काटेर घडेरी बनाइएको थियो। प्लटिङको एकमात्र मूलबाटो पिच थियो। पिच पनि कति चाँडै उप्किइसकेको !

‘अनि यसरी अर्काको बोटको लिची नसोधी खान दिन्छन् त यार ? ’ लिचीको फेदमुनि पुगेपछि म सुजनतिर फर्किएँ।

‘प्लटिङको त क्यै मतलव हुन्न दाइ’ उनी आत्मविश्वासका साथ भन्दै थिए, ‘परेको म बेहोर्छु। तपैं चिन्ता नलिनुस्।’

‘ए...ल ल !’ स्वर ननिकालीकन मैले भनेँ।

लिचीका हाँगा भुइँतिर लत्रिरहेका। भुइँबाट नउफ्रिकनै पुग्न सकिन्थ्यो। तर, भुइँबाट पुग्ने जतिमा लिची थिएन। जजसले लिची टिपे, तिनले त्यसका हाँगा लाछेर छाडेका थिए। कुरूप बनेका थिए, सुन्दर लिची फलेका हाँगा।

हामीले लिचीका हाँगा तान्यौं, मुसार्‍यौं र गर्धन दोबरेर माथि हेर्‍र्यौं, जहाँ अलिअलि लिची बाँकी थिएँ। तर, लिची खान कि झटारो हान्नुपथ्र्यो। कि त रूख नै चढ्नुपथ्र्याे।

‘दाइ भो अब जाम’ सुजनले आँखी भौं उचाले। मैले देखेँ, उनको मुहारको फ्युज उडिसकेको रहेछ।

उनी र म प्लटिङबाट विस्तारै आस्थाचोक हाइवेतिर सोझियौं। म बेलाबेला पछाडि फर्केर खान नपाएको लिचीको बोट पुर्लुक–पुर्लुक हेर्दै हिँडिरहेको थिएँ। जिब्रोले पानी काढिरहेको थियो।

‘दाइ ! सुन्नु न ! ऐले सबै मान्छे त्यैं छन्। चोर्न मिल्दैन। राति आउनुपर्छ है लिची खान’ सुजनको यो कुराले मलाई इन्जेक्सन लगाएझैं गरी चस्कायो।

गह्रुंगो गरी ‘ल ल’ भनेँ। किनकि, मसँग अर्को विकल्प पनि त थिएन। कति न लिची खाउँला भनेर गएको म, ङिच्च परेर फर्किनुपरेको थियो।

०००

सूर्य हिँड्दाहिँड्दै वि श्राम गर्ने समयमा पुग्यो। उज्यालोको आँखामा धमिलो पर्दा लाग्न थाल्यो। चराहरू आफ्नो बासको छलफलमा जुटे। आकाशमा पंक्तिबद्ध भएर उडिरहेका देखिए। र, हेर्दाहेर्दै झमक्क रात पर्‍यो। हामी फेरि उही पुरानो योजनानुसार लिची खाने आशाको झोला बोकेर प्लटिङतिर पस्यौं। हातमा, टर्चलाइट बोकेर।

लिचीको बोट नजिकै आँपको रूख त थियो। तर, घर भने थिएनन्। थिए, तर अल्ली पर्तिर। सुजनले टर्चलाइट बालेर लिचीका हाँगा हाँगामा ताके। पातमुनिबाट टर्चको प्रकाश छिराए। यता हेरे, उता हेरे। तर, लिचीको एउटै दाना मात्र पनि बोटमा देखिएन। दिउँसो हेरेर गएको लिची रातमा आउँदा पातबाहेक केही थिएन। सायद कसैले झ्याप् हानिसकेको हुनुपर्छ ! हाम्रो निष्कर्ष थियो।

यो पटक पनि लिची खाने हाम्रो रहरको मौसम खराब भइदियो। ‘धेरै नै खाइयो यार लिची’ मैले हाँस्न कञ्जुस्याइँ गर्दै सुजनलाई व्यंग्य हानेँ, ‘अब उल्टी पो होला जस्तो भो।’

‘ह्या, दाइ पनि। छोड्नुस् लिची–सिची। सानातिना कुरामा अल्झिने होइन। अब भोलि बोरा बोकेर आँप लिन आउने हो सीधै। लगेर अचार हाल्ने हो दाइ।’

लिचीको झोकले आँपलाई निशाना बनाए सुजनले।

०००

जतिबेला म कल्पना दिदीको घरमा डेरा गरी बस्थेँ, डेरामा बस्ने म मात्र एक्लो थिइनँ। माडीतिरका एकजना दाइ पनि बस्थे। सायद, उनी सप्तगण्डकीमा पढ्थे र कतै जागिर पनि गर्थे। पछि भरतपुरतिरै पढ्ने भनेर उनका भाइ पनि उनीसँगै बस्न थालेका थिए। योसँगै मेरा चारभाइ साथी भए। तर, विशेष मिल्ने भनेको सुजन, म र जीवन भाइ थियौं। ‘सान्दाइ आज आँप टिप्न जाम् न है। ल्याएर, काटेर सुकाएर अचार हाल्नुपर्छ। त्यसपछि त भात आफैं हाम फाल्च।’

भोलिपल्टको दिन। गर्मीले चिथोरिरहेको मध्य दिनमा अखबारको पंखा हम्किँदै गरेका ती जीवन भाइलाई सुजनले आग्रह गरे। उनको यो आग्रहमा लिचीको पूर्वाग्रहको अमिलो गन्ध पनि छासमिस थियो।

दुवैले मतिर एकैसाथ हेरे। म मुस्कुराएँ मात्र।

‘हो र दाइ ? ’ जीवनले किक्लिक्क थुक निले। मतिर हेरिरहेकै थिए।

‘हो हो भाइ’ मैले भनें, ‘अहिले सुजन र म गएर आँपको निरीक्षण गरेर आउँछौं। राति तीनैजना जानुपर्छ।’

सुजन र म घाम अस्ताउने बेलामा फेरि अघिल्लै दिनको तालिका दोहोर्‍यायौँ। प्लटिङ पुग्यौं। आँप हेर्‍र्यौं, निशाना लगायौं।

आँपको रूख लिचीभन्दा दोब्बर ठूलो थियो। निर्माणाधीन दुई तले घरभन्दा पनि अग्लो। त्यसमा हाँगा भाँचिन्छ कि झैं गरी उधुम फलेका आँप। धानका बालाजस्ता लहलह। काँचो आँप सम्झँदा दाँत सिरिङ गरे। सरकारी धारा फुटेर पानी छ्यालब्याल भएजस्तो मुखमा पानी छ्यालब्याल भयो। हामी आँप हेरेर फर्कियौं।

रात पर्‍यो। खानपिन सकियो। एकछिन सबै बसेर गफ गर्दा समयको दैलो घर्किंदै गयो। र, घडीले रातको एघार बजायो। हामी तीनभाइ आँपको सिकार खेल्न भनेर निस्कियौं।

सुजन, जीवन र मेरो गोजीमा आँप राख्नका लागि दुई–दुइटा प्लास्टिक झोला थिए। सबैको खुट्टामा चप्पल थियो। चप्पल पट्याकपट्याक पड्केर मान्छेले थाहा पाउलान् कि भन्ने डर पनि हामीमा थियो। कुराकानी पनि आवाज होइन, सासमा हुन्थ्यो। यसरी हामी प्लटिङ प्रवेश गर्‍यौँ।

आँपको फेदमुनि पुगेर तीन दाजुभाइ एकछिन रोकियौं। टर्च बाल्ने कुरा पनि भएन। यतिकै शिर उठाएर आँपको धुरीतिर पालैपालो हेर्‍यौँ।

‘दाइ म चढ्दै गर्छु। तपाईंहरू आउँदै गर्नु ल’ सुजन आँपको रूखमाथि खुरखुर चढे। तर, चप्पलसहित।

‘म नि जान्छु। तपाईं तलै बस्नु भएनि हुन्छ दाइ’ भन्दै एकछिनपछि जीवन पनि रूखतिर उक्लिए। उनी पनि चप्पल लगाएरै चढे।

मलाई अप्ठ्यारो लागिरहेको थियो। चप्पल लगाएरै रूख चढ्नु भनेको मेरा लागि जिब्रोमा प्लास्टिक लगाएर भात खानुजस्तै थियो।

‘दाइ...दाइ... आउनु के’ जीवनले सासको गति बढाएर भने, ‘चप्पल खोलेरै आउनु भएनि हुन्छ।’

‘हँ’ मनले भन्यो।

आँपको फेद नजिकै घरका लागि थुप्राइएका इँटाको खात थियो। रड, वायरिङ तार, मोटर पनि त्यहीँ नजिकै थियो। त्यसकै छेउमा एकजोर चप्पल राखेर म पनि छेपारोजस्तो रूखतिर उकालो लागेँ।

सुजन र जीवन दुवै भाइ वल्लापल्ला हाँगामा मनमौजी आँप टिपिरहेका थिए। टिपेर प्लास्टिकको झोलामा राखी पनि रहेका थिए। झोला आँपकै हाँगामा झुन्ड्याएका रहेछन्। मैले आफूसँग भएका दुइटा झोला पनि सुजनलाई थमाइदिएँ।

मजा त मलाई पो भयो ! दुवै मेरा भाइ हुनाले मप्रति उनीहरूको आदर थियो। ‘यसो गर्, उसो गर्’ भन्न नि सक्दैनथे। त्यहाँ चर्को बोल्ने कुरा भएन। रिसाएको देख्न–हेर्न पनि अँध्यारो थियो।

म रौसिएँ। यसरी रौसिएँ कि, जसरी एउटा बाँदर पाकेका फल भेट्दा रौसिन्छ। ठ्याक्कै त्यही बाँदरको शैलीमा मैले काँचा आँप खान थालेँ। दाँतले आधा कोट्याउँथे, थोरै खान्थेँ र धेरै फ्यालिदिन्थेँ। किनकि, आँप सकिएला भन्ने मलाई चिन्ता थिएन।

मध्यरात भइसकेको हुँदो हो। वातावरण पनि शोकाकुल परिवार जस्तै सन्न थियो। कति–कतिबेला हाइवेमा सुँ.. गर्दै पातला गाडी गुड्थे। गाडीबाहेक अन्य चहकिलो ध्वनि त्यहाँ अरु केहीको थिएन।

झोला लगभग भरिइसके। आँप खाएर म पनि निच्चिइसकेँ। अब झर्ने बेला हुँदै थियो। तर, त्यहिबेला हाइवेबाट एउटा उज्यालो प्लटिङतिर सोझियो। उज्यालोसँगै मन अँध्यारो हुँदै गयो। सबैभन्दा डरलाग्दो आखिर आफ्नै मनको अँध्यारो नै त हुन्छ।

बिस्तारै त्यो उज्यालो लिचीको बोट हुँदै आँपको फेदमुनि आएर अडियो। त्यो उज्यालो बाइकको थियो। र, बाइकमा थियो एकजना कोही अञ्जान मान्छे।

अब मुटुले के काम गथ्र्यो र ? हातखुट्टा त्यसै निर्बलिया हुँदै गए। हामी त्यो अग्लो रूखको तेर्सो हाँगाको टुप्पामा चराजस्तो भएर, सासलाई खिच्दै छेलिएर उभिइरह्यौं।

बाइकमा आएको मान्छे बाइकबाट झर्‍यो। त्यसकै उज्यालोमा यताउता गर्‍यो। घर हेर्‍यो। आँपको रूखतिर हेर्‍यो। तर, कसैलाई उसले देखेन। त्यसपछि के सोच्यो कुन्नि उसले, उही जानोस्।

मुखमा धेरैबेरदेखि जम्मा भएको थुक थियो। घुटुक्क निल्दा किक्लिक्क गरेर आवाज निस्क्यो। त्यही आवाज पनि भुइँमा उसले सुन्यो कि भनेर झन् डर बढ्थ्यो।

मैले नै आधा खाएर फ्यालेका आँप भुइँमा छरप्रष्ट थिए। एकजोर चप्पल थिए भुइँमै। मलाई लाग्यो, अब आज बाँचिदैन। यसले केही न केही त नगरी त्यसै छोड्नेवाला छैन।

मलाई बल्ल थाहा भयो, किन दुवैजना चप्पल लगाएरै रूख चढेका रहेछन्।

‘को हो त्याँ ? ’ उसले आँपको रूखतिर हेर्दै रूखो स्वरको झटारो हान्यो। उसलाई हामी त्यहाँ अर्थात् रूखमै छौं भन्ने यकिन त थिएन। तर, भुइँभरि आधा टोकेर फ्यालेका आँप र एकजोर चप्पल देखेपछि लाग्यो होला, आँप चोरहरू यहीँ छन्।

उसले थुप्रै पटक तर फरकफरक प्रश्नबाट सोधिरह्यो, ‘को हो त्याँ ? मान्छे होस् भने किन बोल्दैनस् हँ ? पुलिस बोलाम् ? तँ चोर होस् कि सज्जन ? ’ यस्तै उस्तै।

उसको केरकारले मलाई रुन मन लाग्यो। भन्न त मन थियो नि, म चोर होइन सज्जन हुँ। प्लटिङको आँप खान आएको हुँ, चोर्न होइन। अनि फलफूल खानेलाई चोर पनि भनिँदैन रे। तर, आवाज घाँटीसम्म आएर थला बस्यो। मेरो केही बक्के फुटेन। त्यसमाथि फ्याट्ट बोलिहाल्ने अवस्था पनि थिएन त्यहाँ। हामीलाई यो अन्जान मान्छे ‘एकैछिनमा फर्केर जान्छ’ भन्ने पनि लागिरहेको थियो।‘दाइ, ती त भट्टे दाइ पो हुन्’ सुजनले साह्रै मधुरो सासमा भने। तर, जीवन भाइ र मैले उनलाई चिनेका रहेनछौँ।

भट्टे दाइले कुन्नि कसलाई हो फोन घुमाए। उनी भन्दै थिए, ‘यहाँ प्लटिङमा चोर फेला परेको छ। एउटा टर्चलाइट लिएर तु आउनुपर्‍यो।’ हामी तीनभाइले आँपको रूखमाथिबाट यो सब हेरिरहेका थियौं, सुनिरहेका थियौं। हामी हेर्दाहेर्दै चोर भएका थियौं।

‘केही त बोल् साला’ भट्टेदाइको गालीको सिलसिला जारी थियो, ‘नबोल् मात्रै न, अब थाहा हुन्छ।’ उनले बोल्ने शब्दमा आक्रोशको आगो थियो। अभद्रता थियो। धम्की थियो। यसले के प्रमाणित गथ्र्यो भने, यसका मालिक सबै उनै हुन्।

एकैछिनमा हाइवेबाट उसैगरी अर्को उज्यालो सोझियो प्लटिङतिर। थपिएको अर्को उज्यालोले मनमा भयको अर्को पत्र पनि थपिदियो।

सुरुमा भट्टे दाइ र अर्को मान्छेले सुन्न नसक्ने गरी गाली बके। तर, हामी चुप रहिरह्यौं। त्यसपछि ढुंगा टिपेर अन्धाधुन्ध रूखमा हाने, मानौं हामी रूखमा फलेका आँप हौं। तैपनि हामी चुँ बोलेनौँ। त्यसपछि त टर्च बालेर हाम्रो खोजी सुरु भयो। धेरै बेरपछि, लाइटको प्रकाश मेरो सेतो टिसर्टमा परेर चिप्लेटी खेल्यो। ‘ऊ...ऊ ...चोर देखियो’ त्यो मान्छे अस्वभाविक रूपले करायो।

अघिसम्म अन्धाधुन्ध ढुंगा हानिरहेका उनीहरूले अब भने निशाना नै साँधेर हान्न सुरु गरे। हामीले आत्मसमर्पण गर्नुको विकल्प भेटेनौं।

‘अंकल...अंकल हामी झर्छौं’ सुजन बोले पहिला। किनकि, भट्टे दाइ उनकै चिनजानका छिमेकी थिए। जीवन र म जिब्रो काटेझैं लाटा भयौं।

सुजन अघि लागे। उनीपछि म र मेरो पछाडि थिए जीवन भाइ। सुरुमा सुजन नै भुइँमा झरे। फेदैमा बसेर कुरिरहेका थिए ती दुई मान्छेहरू। सुजन झर्दाबित्तिकै एक थप्पड उनको टाउकोमा बज्रियो। लगत्तै म झरेँ। भट्टे दाइले मलाई समातेर पिट्दै थिए, त्यही मौकामा सुजन टाप कसे। अन्तिममा झरेका जीवन भाइ र म कब्जामा पर्‍यौँ। सुजनले भोग्ने सजाय समेत हामी दुईले आधा आधा भोग्नुपर्‍यो।

‘भन् किन आइस् ? ’ प्लटिङमा बनेको सडक छेउमा राखेर भट्टे दाइले मलाई सोधे। अनि ड्याङ हेल्मेट मेरो टाउकोमा बजारे।

‘आँप खान आको दाइ’ ओठ थर्थराउँदै मैले बताएँ।

‘साला ! झुट बोल्छस् ? ’ भट्टे दाइले मुख छोडे, ‘आँप नै खान आएको भए किन रातिमा आउँथिस् ? किन नसोधी आउँथिस् ? तिमीहरू मोटर चोर्न, रड, वायर चोर्न आएका चोर हौ ? ’

सुरुमा लिची खान गएका हामी त्यसको झोकमा आँप चोर्नतिर लाग्यौं। तर, आरोपको प्रकृति चाहिँ फरक भइदियो। हामीमाथि मोटर, रड, वायर चोरीको आरोप लाग्यो। जबकि यो बिल्कुल असत्य आरोप थियो।

सुजन भागेको झोकमा जीवन र मैले झन् निर्मम तरिकाले कुटाइ खायौं। मेरो टाउकोमा बीसभन्दा धेरै पटक हेल्मेट बजारियो। जीवनले भने कम कुटाइ खाए। कहिले लात्ता त कहिले हेल्मेटको कुटाइ खाँदा सास नै अड्किन्छ र मर्छु कि जस्तो मलाई लागिरहेको थियो। तर, कुरा यतिमै सकिएन। कुट्नुसम्म कुटेपछि उनले पुलिसलाई फोन गर्न थाले।

सायद भट्टे दाइका नजिका मान्छे हुँदा हुन् प्रहरी हबल्दार। उनले मोबाइलमै फोन गरे। एकजनाको त मोबाइल अफ रहेछ। अर्कालाई फोन गर्दा आफू अहिले धादिङतिर रहेको बताए। त्यसपछि मलाई कम्तीमा चौकी पुग्नु परेन भनेर खुसी लाग्यो। शारीरिक दुखाइ त छँदै थियो।

केही सीप नलागेपछि अन्त्यमा भट्टे दाइले आफ्नै छिमेकी टंक दाइलाई फोन लगाए। टंके दाइ चाहिँ त्यतिखेर १२ नम्बर वडाका वाईसीएल अध्यक्ष थिए।

कुट्नुसम्म कुटेपछि जीवन र मलाई छुट्टाछुट्टै बाइकमा बसाइयो। तर, चप्पल लगाउन दिइएन। बरु हातमा झुन्ड्याउन भनियो। यसरी प्लटिङबाट उठाएर टंक दाइको आँगनमा हामीलाई उतारियो।

कुनै हात्तीभन्दा कम थिएन, टंक दाइको शरीर। उनको आँगनमा हामी पुग्दा पातलो बनियान लगाएर सुर्ती माड्दै थिए। समय मध्यरात भइसकेको थियो।

छोराले क्रिकेट खेल्न भनेर राखेको ब्याट रहेछ। टंक दाइले पछाडिका फिलालाई बल सम्झेर झ्याम् कि झ्याम् ब्याटिङ गरिरहे। जब ब्याट फिलामा बजारिन्थ्यो प्ल्याट् प्ल्याट् गरेर आवाज निस्कन्थ्यो। उनी सोध्थे, ‘तिमेरु नै हैनौ मोटर चोर्न आएका ? ’ जवाफमा हामी दुवैले ‘होइन...आँप खान आएका हौं’ भन्थ्यौं। त्यसपछि उनी झन् आक्रोशित हुन्थे र पछिल्लोपटक भन्दा झन् बेसरी हिर्काउँथे। उनले हिर्काएकै ठाउँमा म छाम्थें र आँखा पिलपिल बनाउँथे। उस्तै गर्थे जीवन पनि।

बिस्तारै मान्छेको भीड जम्मा भयो। धेरैजसो महिलाहरू थिए त्यहाँ। आँगन वरिपरि गोलो घेरा बनिसकेको थियो मान्छेको। टंक दाइले हामीमाथि धारावाहिक जादु देखाइरहेका थिए। त्यही भीडबाट एक महिला बोलिन्, ‘मार्न चैं हुन्न, थला पर्नेगरी कुटे हुन्छ यस्ता चोरलाई।’ एउटा नारी हृदयभित्रको चट्टान मैले त्यहाँ देखेँ। उनको वचनको कुटाइले झन् मन दुखेर आयो।

कुटाइ खाँदा खाँदा जीवन भुइँमा बसेर रुन लागे। उनले छ ब्याट खाँदा मैले दस प्लस खाइसकेको थिएँ। त्यहीबेला मेरो साथी सुशील, जो भट्टेको छिमेकी पनि हुन्, त्यहाँ आइपुगे। उनैले हामीलाई त्यस रात बचाए। बिनाआरोप निर्मम कुटाइ गर्ने भट्ट र टंक दाइलाई थर्काए पनि। यसरी हामी त्यसरात बच्यौँ।

०००

भोलिपल्ट बिहान सुजनको घरमा सबै साथीहरू जम्मा भए। अघिल्लो दिनको कुटाइले जीवनलाई ज्वरो आइसकेको थियो। सबैभन्दा बढी कुटाइ खाएर पनि मलाई भने केही भएको थिएन। सानैदेखि आमाले कुट्दाकुट्दा छाला मरिसकेको जो थियो।

सबैको निर्णय भयो, दिउँसै प्लटिङमा जाने। रूखमा भएका सबै आँप टिप्ने र बञ्चरोले रूख ढाल्ने। अनि रूखका मालिकलाई पनि त्यसै नछोड्ने।

काँधमा बञ्चरो र हातमा ठूल्ठूला बोरा बोकेर हामी फेरि प्लटिङतिर सोझियौँ। कोही भुइँमा बसे, कोही रूख चढेर आँप टिप्न लागे। अघिल्लो दिनको पीडा सम्झँदै त्यसको बदला लिने हाम्रो ध्येय थियो।

कसले हो कुन्नि, प्रहरीलाई खबर गरिदिएछ। प्रहरीको भ्यान हाइवेबाट हामी भएतिर मोडिन खोज्यो। अब पनि बसिरह्यो भने परिणाम गतिलो आउँदैन भन्ने लागेपछि हामीहरू दुई थोत्रा बाइकमा चारचार जनाको दरले बस्यौं र भाग्यौं। अघिअघि हामी, पछिपछि प्रहरीको भ्यानले लखेटिरह्यो।

भाग्दाभाग्दै एउटा यस्तो गल्लीबाट हामी छिर्‍यौं, जुन प्रहरीले भेउ नै पाउन सकेन। र, हामी फेरि अर्कोपटक बच्न पुग्यौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.