मुस्ताङका मनमोहक २० फोटो
प्रकृतिको फरक बनावट अनि उजाड मरुभूमिले ढाकिएको मुस्ताङ पुग्ने जोकोहीले पनि फरक अनुभूति गर्छन्। त्यहाँ पुग्न जति कठिन छ, त्यति नै मनमोहक छ प्राकृतिक दृश्य। हिमालपारिको मुस्ताङ अन्य सबै जिल्लाभन्दा फरक छ। तल्लो मुस्ताङमा थकाली, दलित र क्षेत्री बाहुनको मिश्रित बसोबास छ भने उपल्लो मुस्ताङमा लोवा जातिको बाहुल्य छ।
दैनिक जीवनमा गरिने कामदेखि खानपिनसमेत फरक छ यहाँको। उजाड मरुभूमिलाई मेहनतले हरियो बनाएको देख्दा उनीहरूको पौरख सहजै झल्कन्छ। सिँचाइको अभावमा सिरु र सोतरसमेत नउम्रने मरुभूमिमा यहाँका लोवा जातिका उपथर मानिने विष्ट, गुरुङ र लोवाको मेहनतले पर्यटकलाई ताजा तरकारी खुवाउने गरिएको छ।
भत्किएका जस्ता देखिने पुराना घरमा बितिरहेको छ उनीहरूको जिन्दगी। यहाँको मानवबस्ती सात सय वर्षअघि विकास भएको हो। पहिला यहाँ न कुनै वस्तु खरिद हुन्थ्यो न त बिक्री नै ? तर, सडक सञ्जालले छोएपछि भने अहिले यहाँको जीवनशैली फेरिएको छ।
उत्तरी कोराला नाका विस्तारमा सरकारले प्राथमिकता दिएसँगै सडक विस्तार तीव्र रूपमा हुन थालेको छ। नाका विस्तारले उपल्लो मुस्ताङको छुसाङभन्दा माथिका घिलिङ, चराङ, यारा, धारा, लोमान्थाङ, सुखिङ, नेचुङ, चइले, समर भेना, स्याङबोचे, घामी, घिलिङ, छोसेर, छोनुप गाउँको मौलिक संस्कृति संकटमा पर्ने भन्दै यसको संरक्षणका लागि कडा व्यवस्था ल्याउन लागिएको बताउँछन् लोमान्थाङ गाउँपालिका–५ का अध्यक्ष रिन्जिङ दोर्जे विष्ट। प्रवेशमा कडाइ गर्नेदेखि भाषा संस्कृतिमा समेत तिब्बती लिपि अनिवार्य बनाउने योजना रहेको उनले बताए।
खाना पकाउन दाउरा पाउन मुस्किल छ। बाह्रै महिना गुइँठाकै भरमा दैनिकी चलाउनुपर्ने बाध्यता छ। खाद्यान्नभन्दा पनि बढी दाउराको जोहो गर्नतिर ध्यान दिन्छन् यहाँका बासिन्दा। जिल्लामा कुल क्षेत्रको पाँच प्रतिशत मात्र वन क्षेत्र छ। त्यो पनि तल्लो मुस्ताङमै केन्द्रित हुँदा उपल्लो मुस्ताङ उजाड छ। चौंरी, याक, जोक्पा, गाई, गोरु, भेडा, च्यांग्रा यहाँका बासिन्दाको आम्दानीको स्रोत हो। लोमान्थाङ गाउँपालिका–५ का ओङग्याल गुरुङले दुई सय ५० वटा च्यांग्रा पालेका छन्। उनी भन्छन्, ‘गोठालाको अभावले हिजोआज भेडाच्यांग्रा पाल्ने पेसा लोप हँदै गएको छ।’
समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा कालीगण्डकीको किनारमा कागबेनी पर्छ। कागबेनीलाई उपल्लो मुस्ताङ प्रवेशको मुख्य द्वार मानिन्छ। अधिकांश पर्यटक कागबेनीभन्दा माथि जाँदैनन्। यात्राका लागि चुनौतीपूर्ण छ उपल्लो मुस्ताङ। प्राकृतिक छटाले बनेका पहरा, लामो हिँडाइपछि भेटिने बस्ती अनि लोमान्थाङ पुग्दा नौलो अनुभूति हुन्छ।
सन् १४४० मा स्वतन्त्र राज्य स्थापना भएदेखिको मुस्ताङका प्रथम राजा अमपाल, दोस्रो राजा आङग्रेन साङवोदेखि २४औं मुस्ताङी राजा जिग्मे पर्वल विष्टले सात सय वर्षदेखि उपल्लो मुस्ताङको सुरक्षा गर्दै आएका थिए। अहिले सीमा सुरक्षादेखि जनताले पाउने राज्यको सुविधासमेत यहाँका बासिन्दाले प्रत्याभूत गर्न पाएका छैनन्।
राज्यको सुरक्षा कमजोर हँदा यस क्षेत्रका ऐतिहासिक पर्खाल, दरबार, गुम्बा र प्राचीन कलासंस्कृति लोप हुने खतरासमेत बढ्दै गएको छ। सदरमुकाम जोमसोमदेखि ९० किलोमिटर टाढा रहेको लोमान्थाङमा हिजोआज पर्यटकको संख्या ह्वात्तै बढेको छ। संघीय राज्य निर्माणसँगै स्थानीय तह गठन भए पनि भौतिक संरचना, कर्मचारी, बैंकजस्ता सामान्य कुरासमेत त्यस क्षेत्रमा नपुग्दा स्थानीयवासीले सेवा पाउन नसकेको तीतो यथार्थ भने जीवितै छ।