बाख्राले बनायो नमुना गाउँ
बागलुङ : परम्परागत कृषि प्रणाली र पशुपालनको तौरतरिका परिवर्तन गर्नुपर्ने भाषण र कुरा गर्ने त धेरै छन् । तर, व्यवहारिक रूपमा काम गर्न अग्रसर हुने संख्या भने समुदायमा निकै कम देखिने गरेको छ । युवाहरूको विदेश पलायनले अन्य समुदायमा जस्तै साझा समस्या र चुनौती देखिए पनि जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा स्थानीय महिलाहरूले परम्परागत पशुपालनलाई समयसापेक्ष बदलेर आत्मनिर्भर बनेका छन् ।
उक्त गाउँमा स्थानीय वृद्धवृद्धाले परम्परागत तरिकाले वर्षौंदेखि भेडाबाख्रा पाल्दै आएका थिए, जसलाई सामान्य तरिकाले लिने गरिन्थ्यो । तर, अहिले महिलाहरूले यही बाख्रा व्यावसायिक रूपमा पाल्न थाल्न थालेका छन् । जसले जसकारण महिलाहरू मनग्गे आम्दानी गर्न सफल भएका हुन् । फापरखेतस्थित सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला विकास सहकारीमा आबद्ध कृषकले गत आर्थिक वर्ष ०७४÷७५ मा एक करोड मूल्य बराबरको खसीबाख्रा बिक्री गरेका हुन् । हेफर कार्यक्रमअन्तर्गत फापरखेतमा सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत कृषकहरू बाख्रापालनमा सक्रिय बनेका हुन् ।
सहकारीका सेयर सदस्यहरूलाई बाख्रापालन व्यवसायमा केन्द्रित गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा बिक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेको संख्या बढ्दै गएको स्थानीय सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीसले बताइन् । ‘प्रत्येक परिवारले २÷४ वटा बाख्रा अनिवार्य पलेका छन्, व्यावसायिक बाख्रा पाल्नेहरूको संख्या दर्जनभन्दा बढी छ, यसमा अझ संख्या बढाउने क्रम जारी छ’, उनले भनिन् । हरेक घरका महिला सहकारीका सदस्य बनेका छन् । युवाको संख्या निकै कम भए पनि वृद्धवृद्धाको राम्रो सहयोग र समन्वयका कारण वर्षमा १ हजारभन्दा बढी खसीबोका तंग्रामका दुई वटा सहकारीमार्फत बिक्री हुने गरेको अध्यक्ष श्रीसको भनाइ छ ।
सहकारी संस्थाले प्रतिकेजी ५ रुपैयाँ लिएर सदस्यले उत्पादन गरेका खसीबोका बजारमा बिक्री गर्दै आएको छ । साप्ताहिक रूपमा दुई संस्थाले खसीबोका खरिद गरी बिक्री गर्ने गरेका छन् । आव ०७४÷७५ मा सप्तरंगी सहकारीमार्फत ७ सय ८५ वटा खसी बिक्री गरी ८६ लाख रुपैयाँ आम्दानी गरिएको संस्थाका प्रबन्धक मनकुमारी पुनले बताइन् । वसन्त सहकारीमार्फत १ सय ४० वटा खसीबोका बिक्री गरी १४ लाख ९० हजार ६ सय आम्दानी गरिएको संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिइन् ।
सहकारीमार्फत सदस्यको उत्पादन बिक्री गरेर स्थानीय महिलाहरूको आयआर्जन वृद्धि भएपछि अहिले बाख्रा पालनमा तंग्राम नुमना गाउँको रूपमा स्थापित हुन थालेको छ । यसले लैंगिक हिसांमा पनि विगतको तुलनामा कमी आउन थालेको प्रबन्धक विकले बताइन् । भनिन्, ‘दुई÷चार हजार चाहियो कि साहुको घरमा अनुनय विनय गर्न जानुपर्ने बाध्यता बाख्रा पालनले अन्त्य गरेको छ’, उनले थपिन्, ‘आर्थिकका साथै सामाजिक रूपमा धेरै राम्रा सकरात्मक प्रभाव र परिवर्तन देखिएका छन्, हामी उत्साहित छाैं ।’
हेफर इन्टरनेसनलमार्फत बीवाईसी बागलुङले साविक तंग्राम गाविसमा ६ वर्षदेखि साना किसान सबलीकरण परियोजना सञ्चालन गरेको छ । उक्त परियोजनाबाट सप्तरंगी सहकारीमार्फत २ सय २९ जना र वसन्त सहकारीमार्फत ७ सय ११ जना सदस्यलाई आय आर्जनका काममा केन्द्रित गरिएको बीवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताए । ‘हामीले जुन लक्ष्य, उद्देश्य राखेर कार्यक्रम सुरु गरेका थियौं, त्यो सफल भएको छ’, उनले भने, ‘गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम फेज आउट हुँदा सबै सकिन्छ, अलपत्र अन्योलमा लक्षित समुदाय पर्छन् भन्ने तंग्रामका स्थानीयले उदाहरण प्रस्तुत गरेका छन् ।’
प्रतिक्रिया दिनुहोस !