काठ तस्करमाथि प्रहरीको हवाई फायर
![काठ तस्करमाथि प्रहरीको हवाई फायर](https://annapurnapost.prixacdn.net/media/albums/katha-taskari_20180731064837_Yz7ROzulr6.jpg)
विराटनगर : मोरङको केरावारी गाउँपालिका-१० स्थित कालीपोखरी जाने बाटोको जंगलबाट सोमबार राति नौ बजे ९/१० जनाको एउटा समूह बहुमूल्य सखुवाको काठ बोकेर केरावारी बजारतर्फ अघि बढिरहेको थियो।
रातको समयमा टर्च लाइट बालेर अघि बढिरहेका सबैका काँधमा सखुवाको चिरान काठ थिए। इलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी नायव निरीक्षक (सइ) दिपक यादवको नेत्रृत्वमा गएको रात्रिकालिन मोटरसाइकल गस्ती टोलीले जंगलबाट काठ तस्करी गरेर ल्याउँदै गरेका उनीहरुलाई देखेपछि रोक्न खोज्यो। काँधमा बहुमूल्य सखुवाको चिरान काठ बोकेर हस्याङफस्याङ गर्दै अघि बढिरहेका उनीहरुलाई रोक्न खोज्दा अवस्था तनावपूर्ण बन्यो।
'गस्ती गर्दै जंगल पुगेको प्रहरी टोलीले मान्छे बोलेको आवाज सुन्यो। मोटरसाइकलको लाइट निभाएर त्यता नियाल्दा काँधमा काठ बोकेर एउटा समूह अघि बढिरहेको देखियो, 'मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले भने, 'काठ तस्करी भइरहेको पाइएपछि प्रहरीले रोक्न खोज्दा स्थिति निक्कै तनावपूर्ण बन्यो।
काठ तस्करीमा संलग्न समूह प्रहरीमाथि नै खनियो।' श्रेष्ठले रोक्न खोज्ने प्रहरीलाई लक्षित गरेर काठ तस्करीमा संलग्नले खुकुरी प्रहार समेत गरेको बताए। जोगिन सकेका कारण कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ।
काठ तस्करीमा संलग्न सबैजना भूइँमा काठ फ्याँकेर साथमा रहेको खुकुरी निकाल्दै प्रहरीलाई आक्रमण गर्न अघि बढेपछि स्थिति नियन्त्रणमा लिन र आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर नै गर्नु परेको जानकारी उनले दिए।
डीएसपी श्रेष्ठका अनुसार काठ र काठ तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन सक्ने स्थिती नभएपछि प्रहरीले फायर खोल्नु पर्ने अवस्था आएको हो। हवाई फायर गरिएपछि भने तस्करीमा संलग्न काठ त्यहीं छाडेर फरार भएको उनले बताए।
प्रहरीले काठ तस्करीमा संलग्न एक जनालाई पनि नियन्त्रणमा भने लिन सकेन। श्रेष्ठले काठ तस्करी गर्ने धेरै भएको र प्रहरी थोरै संख्यामा भएका कारण नियन्त्रणमा लिन नसकिएपछि प्रहरीलाई छल्दै उनीहरु त्यहाँबाट फरार भएका थिए। काठ तस्करीमा संलग्नको पहिचान गर्दै कारवाहीको दायरामा ल्याउन खोजी गर्ने काम थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट तस्करी गर्दै गरेको सखुवाको छवटा चिरान काठ, काठ काट्न प्रयोग गरिने आरालगायतका विभिन्न औजारहरु, टर्च लाइट, खुकुरी, डोरी समेत बरामद गरेको छ। बरामद काठसहितका सामान आवश्यक कारवाहीका लागि प्रहरीले मंगलबार सेक्टर वन कार्यालय सलकपुरमा बुझाएको छ। एउटा चिरान काठ ३० किलोग्राम भन्दा बढी तौलको छ।
उक्त काठ केरावारी ३ स्थित साहीडाँडा सामुदायिक वन र केरावारी १० स्थित कालीपोखरी सामुदायिक वनबाट तस्करी गरेर ल्याएको पत्ता लागेको प्रहरीले जनाएको छ। दुबै सामुदायिक वनमा रहेका सखुवाका हरिया रुख काटेर काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।
'सवारी साधनमा राखेर काठ तस्करी गर्दा प्रहरीले थाहा पाउने भएपछि काठ तस्करी गर्न नयाँ उपाय लगाउन थालेको पाइयो,' उनले भने, ' काँधमै बोकेर भए पनि तस्करी गर्दै काठ गन्तव्यसम्म पुर्याउन थालेको पुष्टि भयो।'
एसपी केसीले वन कर्मचारी तथा प्रहरी उपस्थिती काम हुने ठाउँको पहिचान गरेर त्यहींबाट काठ तस्करी हुने गरेको खुलेको बताए। 'काठ तस्करले मानविय चहलपहल कम हुने बाटो प्रयोग गर्दै बहुमूल्य सखुवाको काठ तस्करी गर्ने गरेको खुलेको छ,' उनले भने, 'काठ तस्करी नियन्त्रण गर्न वन क्षेत्रमा प्रहरी टोली परिचालन गरेर निगरानी बढाइएको छ।'
तस्करी गरिएको काठ त्यतै रहेका काठ मिलमा सस्तोमा विक्री गर्ने गरिएको हुन सक्ने प्रहरीको आशंका छ। तस्करीको काठ लिने गरेको पाइएपछि केरावारी आसपासमा रहेका काठ मिलमा पनि निगरानी बढाइएको जानकारी एसपी केसीले दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)