सिक्टा सिँचाइको नहरमा सयाैं प्वाल

सिक्टा सिँचाइको नहरमा सयाैं प्वाल

ढकेरी, बाँके ः राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर प्रयोगमा नआउँदै झन्डै एकतिहाइ क्षेत्रफलमा वर्षाको पानीका कारण जीर्ण बनेको छ । पश्चिमतर्फको ४४ दशमलव २५ किमि लामो मूल नहरको परुवा खोलादेखि डुडुवा खोलासम्मको १४ किलोमिटर क्षेत्रमा दर्जनौं स्थानमा प्वाल परेको छ । असार र साउनमा परेको सामान्य वर्षाले प्वाल पारेकाले ठूलो वर्षा हुनेबित्तिकै दर्जनौं स्थानमा बाँध भत्किने खतरा छ ।

राप्ती सोनारी गाउँपालिकाको अगैयामा ब्यारेज रहेको सिक्टाको मूल नहरले बढीजसो मानव बस्ती र जंगल क्षेत्रलाई छोएको छ । परीक्षणकै क्रममा नहर भत्किएको, नहर दर्जनौं स्थानमा चर्किएको र नहरको डिलमा सयौं ठाउँमा प्वाल परेकाले ठूलो वर्षा आउँदा जुनसुकै बेला नहर भत्किने खतरा रहेको भन्दै स्थानीय चिन्तित छन् । राप्ती सोनारी–९ ढकेरीका हरि रेग्मी नहर निर्माण क्रममा कमसल सामग्री प्रयोग भएका कारण दर्जनौं स्थानमा बाँध भत्किने खतरा रहेको बताउँछन् ।

ढकेरीको नयाँगाउँ पुलमा नहर भत्किएको दृश्य हेर्दै गरेको अवस्थामा भेटिएका रेग्मीले भने, ‘जमिन धेरै तल छ । नहर माथि छ । नहरको बाँधका लागि थुपारिएको माटोको गुणस्तर कमसल भएर धेरै ठाउँमा बाँध भत्किने खतरा छ ।’

सो क्षेत्रमा घुलनशील माटो छ । जुन सानो वर्षामा पनि पग्लेर बाँधका सयौं स्थानमा प्वाल परेका छन् । रेग्मीले वर्षा नै नहुँदा बाँध भत्किसकेकाले ठूलो वर्षाले स्थानीयलाई चिन्तित बनाएको बताए । नहरको उत्तरमा ढकेरीका मात्र तीन सयजति घर र कौवाडाँडामा केही घर जोखिममा पर्ने देखिन्छ ।

यसअघि परीक्षण क्रममा नहरमा निकै कम मात्रामा पानी छाड्दा यही मूल नहर दुई पटक भत्किसकेको छ । ७ साउनमा राप्ती सोनारी ८ र ९ ढकेरीमा पर्ने चंगाई खोलास्थित सिक्टाको पश्चिम (दायाँ) मूल नहर र ०७३ असार १४ मा झिभरी खोलाको दोभानमा नहरको बाँध परीक्षणका लागि पानी छोड्दा नै भत्केको थियो । अहिले सोही क्षेत्रमा नहर दर्जनौं ठाउँमा चर्केको छ । सयौं ठाउँमा भ्वाङ परेकाले पानी लिकेज हुने उत्तिकै खतरा छ । यो क्षेत्रमा नहर निर्माण कालिका कन्स्ट्रक्सनले गरेको हो ।

सिक्टा सिँचाइ आयोजनाले यो नहरबाट ५० क्युमेक्स पानी बग्ने जनाएको छ । जबकि ७ असारमा नहरको बाँध भत्किँदा ९ क्युमेक्स पानी छाडिएको थियो । भत्किएको ठाउँमा भने ४ क्युमेक्स मात्र पानी थियो । पूरै क्षमताको पानी छाड्दा र आकाशे पानी झरनको जम्मा भएको पानी नहरमा पुग्दा बाँधले नथेग्नेमा स्थानीय मात्र होइन, सिक्टा सिँचाइ आयोजनाका इन्जिनियरसमेत चिन्तित छन् ।

आयोजनाका इन्जिनियर विजयकुमार झा नहरको बाँध कमसल खालको माटो पुरेर बनाइएकाले जोखिमपूर्ण रहेको स्विकार्छन् । उनले भने, ‘त्यो क्षेत्रको माटोमा नुनको मात्रा बढी छ । जुन घाम लाग्दा चट्टानजस्तो देखिने र पानी पर्दा चाँडै घुल्नसक्ने खालको छ । जुनसुकै बेला पनि पग्लेर जाने खतरा छ ।’

अर्का इन्जिनियर किशोरकुमार आचार्य पनि सो क्षेत्रमा नहर धेरै ठाउँमा चर्केको स्विकार्छन् । ‘भारी वर्षामा जंगलको पानी पनि बाढी भएर आउँदा बाँधले थेग्न नसकेको हो’, उनले भने, ‘खुसार खोलामा आएको पानीलाई खैरीखोलामा मिसाउन पूर्वाधार निर्माणका काम भएका छन् ।’

यस क्षेत्रमा जंगलबाट आउने पानी बाहिर निकाल्न केही स्थानमा बनाइएका आउटलेटको प्वाल नै निकै सानो छ । जंगलका झारपात र रूखका हाँगाबिँगा अड्केर पनि आउटलेटबाट पानी बग्न बाधा पुग्ने गरेको स्थानीयले जनाए । घुलनशील माटो प्रयोग भएका कारण मूल नहर ठाउँ–ठाउँमा चर्किएको छ । चर्किएको नहरको डिलमा ठुल्ठूला भ्वाङ छन् । जुन ठूलो वर्षा हुनेबित्तिकै भत्किने खतरा छ ।

नहरको बुधबार स्थलगत अवलोकन गरेर फर्केका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल सामग्री प्रयोगले जोखिममा पार्ने खतरा रहेको औंल्याउँछन् । ‘नहरको डिलको माटो थुपारिएको जस्तो छ । स्लोपमा मसिनो डन्डी प्रयोग भएको देखिन्छ । वर्षायाममा नहरको किनारमा जंगलबाट आएको पानीको उचित व्यवस्थापन गर्ने विधि अपनाइएको छैन ।’ श्रेष्ठले प्रयोगमा आउनुअघि नै मर्मत–सम्भार गर्नुपर्ने नहरको यो समस्यालाई दिगो रूपमा समाधान गर्न सरकारसँग आग्रह गरे ।

बुधबार नै प्राविधिक टोलीसहित नहरको सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्केका आयोजनाका निर्देशक रमेश बस्नेतले पनि नहरमा प्वालैप्वाल परेको स्विकारे । उनले अन्नपूर्ण पोस्ट्सँग टेलिफोन सम्पर्कमा शम्शेरगन्जदेखि बालापुरसम्मको ४ किलोमिटर क्षेत्रफलमा मात्र घुलनशील माटोको कारण समस्या देखापरेको दाबी गरे ।

आयोजनाले नहरको अवस्था अध्ययन गर्न इन्जिनियरसमेत सहभागी ७ सदस्यीय प्राविधिक समिति गठन गरी विस्तृत छानबिन सुरु गरेको बताए । उनले भने, ‘नहर भत्केको अर्को दिन (दोस्रो पटक भत्किएलगत्तै) नै समिति गठन गरिएको हो । १० दिनभित्र यसले प्रतिवेदन दिन्छ । कसका कारण, किन भत्कियो र समाधान के हो र यसको जिम्मेवारी कसले लिने हो भन्ने विस्तृत जानकारी प्रतिवेदनमा आउँछ ।’

आयोजनाको ०६३ सालबाट निर्माण सुरु भएको हो । पश्चिमको मूल नहरबाट ४४ दशमलव २५ किमिमार्फत ३३ हजार ७ सय ६६ हेक्टर तथा पूर्वी (बायाँ) मूल नहर साढे ५३ किमिमार्फत राप्तीपारिको कुल ९ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ । आयोजनाबाट बाँकेका करिब साढे चार लाख जनसंख्याका ४६ हजार घरधुरी लाभान्वित हुने लक्ष्य छ । ६० प्रतिशत काम सम्पन्न हुँदा साढे १४ अर्बभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । काम सम्पन्न हुँदा २५ अर्ब नाघ्ने अनुमान छ ।

०००

सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको राप्ती सोनारी गाउँपालिकाको वडा नं. ८ र ९ को विभिन्न स्थानमा परेको भ्वाँङ । तस्बिर ः शंकरप्रसाद खनाल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.