होटलमा बन्धक बनाई बालिका बलात्कार

होटलमा बन्धक बनाई बालिका बलात्कार

जाजरकोट : १३ वर्षीया बालिकालाई जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। स्थानीय एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका–४ बोहराका ३३ वर्षीय सविन चन्दलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न सोही ठाउँका रूपक चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले दिएको जानकारीअनुसार मोबाइल, पैसा र घडी दिन्छु भन्दै सुरुमा फकाएर र पछि नमान्दा मारिदिने धम्की दिई स्थानीय होटलमा दुई दिनसम्म जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाका अभिभावकले प्रहरीमा मंगलबार लिखित जाहेरी दिएपछि प्रहरीले चन्दलाई पक्राउ गरेको हो। उनले अभियुक्त चन्दलाई जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउने प्रक्रिया सुरु गरिसकिएको बताए।

घटनामा ती बालिकासँगै उनकी सानीआमा नाता पर्ने १५ वर्षीया अर्की बालिकालाई पनि जबर्जस्ती करणी गरेको आरोप लागेका सोही ठाउँका रूपक चन्दको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए। होटलको कोठामा जबर्जस्ती करणी गरिएकी १३ वर्षीया बालिकाको अभिभावकले दिएको जाहेरीका आधारमा एक जना पक्राउ परिसकेको र अर्का एक जनाको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले बताए। घटना तीन दिनअघि भएको थियो।

यता, पीडित बालिकाका अभिभावकले भने बलात्कारीविरुद्ध मुद्दा नचलाउन स्थानीय नेता, केही जनप्रतिनिधि र केही पहुँचवाला व्यक्तिले दबाब दिइरहेको बताएका छन्। ‘आन्टी’ को पढाइका लागि बस्ने कोठा खोज्न खलंगा आएकी आफूलाई साउन ७ गते राति खलंगा बजारको शान्ति चौतारास्थित एक होटलमा बस्ने कोठा खोजिदिने भन्दै दुई दिनसम्म जबर्जस्ती करणी गरेको पीडित बालिकाले बताइन्।

सुरुमा लोभ र पछि धम्की दिएर आफूलाई जबर्जस्ती गरेको पीडित बालिकाको भनाइ छ। १३ वर्षीया बालिकाले पैसा, मोबाइल र घडीको लोभ तथा धम्की दिएर आफूलाई दुई दिनसम्म करणी गरेको र १५ वर्षीया बालिकाले भने बिहे गर्छु भन्दै रुपक चन्दले जबर्जस्ती गरेको बताइन्। ९ कक्षामा पढ्दै गरेकी ती बालिका आमाकी बहिनीसँग बजारमा आएका बेला पीडक सविन र रुपकले होटलको कोठा लिएको पीडित बालिकाले प्रहरीसमक्ष बताएकी छन्। पीडित बालिकाका अभिभावकले आफूलाई चारैतिरबाट मुद्दा नदिन र मिलापत्र गर्न दबाब आइरहेको र छोरीहरूको न्यायका लागि भने कसैले साथ नदिएको गुनासो गरेका छन्।

घरबाट निस्किएकी छोरी दुई दिनसम्म नआएपछि प्रहरीलाई खबर गरेको र प्रहरीले खोज्दै जाने क्रममा होटलको कोठामा छोरीहरू बलात्कृत अवस्थामा भेटिएको पीडित बालिकाका बुवाको भनाइ छ। नाबालिका छोरीमाथि बलात्कार गर्ने अपराधीलाइ जसरी पनि कारबाही हुनुपर्ने भन्दै प्रहरीमा उजुरी गर्न जाँदा विभिन्न खालका प्रलोभन र धम्की दिएर मुद्दा नदिई मिलापत्र गर्न विभिन्न व्यक्तिले दबाब दिएको बालिकाका बुवाले गुनासो गरे। मुद्दा लेखन र उजुरीका क्रममा धेरै व्यक्तिले मुद्दा नदिन दबाब दिएको उनले बताए।

उनले छोरीलाई न्याय दिनभन्दा पनि अपराधीलाई बचाउन धेरै व्यक्ति लागिपरेको भन्दै दुखेसो गरेका छन्। अर्की पीडित १५ वर्षीया बालिकाकी आमाले छोरीका लागि मुद्दा लड्न धेरै पैसा लाग्ने भन्दै आफूलाइ मुद्दा नदिन दबाब दिएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.